काठमाडाैँ - मुलुकका जीवन बिमा कम्पनीको जीवन बिमा, जगेडा र महाविपत्ति कोषमा रकम बढ्दै गएको छ। मुलुकका १९ जीवन बिमा कम्पनीले गत आवको असार मसान्तसम्म करिब एक खर्ब ५३ अर्ब रुपैयाँ जम्मा गरेकामा चालु आवको पुस मसान्तसम्म करिब एक खर्ब १४ अर्ब रुपैयाँ थप गरेका छन्।
सो अवधिसम्म जीवन बिमा कम्पनीको कोषमा करिब दुई अर्ब ६७ अर्ब ७६ करोड रुपैयाँ जम्मा भएको छ। बिमा समितिका अनुसार जीवन बिमा कम्पनीले जीवन बिमा कोष, जगेडा कोष र महाविपत्ति कोषमा मुलुकको बैंकिङ प्रणालीको कूल निक्षेपको करिब २० प्रतिशत रकम हो। जीवन बिमा कम्पनीलाई आर्थिक रुपमा सवल बनाउन जीवन बिमा कोष, जगेडा कोष र महाविपत्ति कोषमा रकम संकलन गरिने समितिले जनाएको छ। कोषमा जम्मा भएको रकम लगानी गर्न केही निश्चित क्षेत्र तोकिए पनि कूल रकमको करिब ८० प्रतिशत बैँक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा रहेको सम्बन्धित व्यवसायीले बताएका छन्। जीवन बिमा कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार सो अवधिमा जीवन बिमा कम्पनीमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले कोषमा रकम जम्मा गरेका छन्।
सो अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीले करिब ८० अर्ब ६८ करोड ४१ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ। उक्त रकममध्ये करिब ७७ अर्ब ५९ करोड रुपैयाँ जीवन बिमा कोष, दुई अर्ब ६१ करोड रुपैयाँ जगेडा कोष र महाविपत्ति कोषमा ४७ करोड ५७ लाख रुपैयाँ जम्मा गरेको कम्पनीले जनाएको छ। त्यस्तै एलआइसी नेपालले सो अवधिमा करिब ६१ अर्ब ८० करोड रुपैयाँ कोषमा रकम जम्मा गरेको छ। कम्पनीको जीवन बिमा कोषमा करिब ६१ अर्ब नौ करोड रुपैयाँ, जगेडा कोषमा ४५ करोड ५३ लाख रुपैयाँ र महाविपत्ति कोषमा करिब २३ करोड ६२ लाख रुपैयाँ छ। सो अवधिमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले कोषमा करिब ३१ अर्ब ८ करोड रुपैयाँ जम्मा गरेको छ। जसमध्ये जीवन बिमा कोषमा करिब ३० अर्ब १५ करोड रुपैयाँ, जगेडा कोषमा करिब ६९ करोड ६ लाख रुपैयाँ र महाविपत्ति कोषमा करिब २४ करोड पाँच लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।
गत आवको असार मसान्तसम्म करिब एक खर्ब ५३ अर्ब रुपैयाँ जम्मा गरेकामा चालु आवको पुस मसान्तसम्म करिब एक खर्ब १४ अर्ब रुपैयाँ थप
राष्ट्रिय बिमा संस्थानले चालु आवको ६ महिनाको अवधिमा करिब २६ अर्ब २२ करोड रुपैयाँ कोषमा सञ्चित गरेको छ। कम्पनीले जीवन बिमा कोषमा करिब १९ अर्ब २० करोड र जगेडा कोषमा २६ करोड २१ लाख रुपैयाँ जम्मा गरेको छ। संस्थानले सो अवधिमा महाविपत्ति कोषमा कति रकम छ भन्ने उल्लेख गरेको छैन। सो अवधिमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले करिब १९ अर्ब ८४ करोड रुपैयाँ कोषमा रकम संकलन गरेको छ। कम्पनीले जीवन बिमा कोषमा १९ अर्ब ३१ करोड, जगेडा कोषमा ४७ करोड र महाविपत्ति कोषमा करिब पाँच करोड रुपैयाँ संकलन गरेको छ। त्यस्तै प्राइम लाइफले कबि ११ अर्ब ३० करोड ९२ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ। सो अवधिमा जीवन बिमा कोषमा करिब १० अर्ब १३ करोड, जगेडा कोषमा एक अर्ब र महाविपत्ति कोषमा १२ करोड रुपैयाँ जम्मा गरेको जनाएको छ।
सो अवधिमा गुराँस लाइफले सात अर्ब ६ करोड रुपैयाँ कोषमा जम्मा गरेको छ। उक्त रकम अघिल्लो आवको सोही अवधिको तुलनामा करिब ४३ प्रतिशतले बढी हो। कम्पनीले ६ अर्ब ६७ करोड रुपैयाँ जीवन बिमा कोष, ३४ करोड रुपैयाँ जगेडा कोष र करिब चार करोड रुपैयाँ महाविपत्ति कोषमा जम्मा गरेको छ। सो अवधिमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कोषमा ६ अर्ब ८८ करोड रुपैयाँ रहेको छ। उक्त रकममध्ये जीवन बिमा कोषमा ६ अर्ब २१ करोड, महाविपत्ति कोषमा नौ करोड र जगेडा कोषमा करिब ५६ करोड रुपैयाँ संचित गरेकोे जनाएको छ। त्यस्तै युनियन लाइफले तीनवटै कोषमा करिब चार अर्ब रुपैयाँ जम्मा गरेको वित्तीय विवरण प्रकासित गरेको छ। कम्पनीले जीवन बिमा कोषमा तीन अर्ब ३७ करोड, जगेडा कोषमा ५६ करोड र महाविपत्ति कोषमा करिब ६ करोड रुपैयाँ जम्मा गरेको वित्तीय विवरण प्रकासित गरेको छ।
सो अवधिमा ज्योति लाइफले एक अर्ब ५८ करोड रुपैयाँ कोषमा जम्मा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त रकममध्ये जीवन बिमा कोषमा एक अर्ब २० करोेड, जगेडा कोषमा ३३ करोड र महाविपत्ति कोषमा करिब तीन करोड रुपैयाँ छ। त्यस्तै आइएमई लाइफले एक अर्ब ३० करोड रुपैयाँ कोषमा संचित गरेको छ। कम्पनीले जीवन बिमा कोषमा करिब एक अर्ब, जगेडा कोषमा २४ करोड र महाविपत्ति कोषमा तीन करोड रुपैयाँ जम्मा गरेको जनाएको छ। सिटिजन्स लाइफको जीवन बिमा कोषमा एक अर्ब चार करोड, जगेडा कोषमा करिब ४२ करोड र महाविपत्ति कोषमा करिब चार करोड रुपैयाँ गरी कूल एक अर्ब ५० करोड रुपैयाँ कोषमा छ। त्यस्तै रिलायबल लाइफ इन्स्योेरेन्सको तीनवटै कोषमा करिब ९२ करोड रुपैयाँ छ। कम्पनीले जीवन बिमा कोषमा ७७ करोड, जगेडा कोषमा १३ करोड र महाविपत्ति कोषमा करिब डेढ करोड रुपैयाँ छ।
सन नेपाल लाइफले सो अवधिमा जीवन बिमा कोषमा ६७ करोड, जगेडा कोषमा करिब ६ करोड र महाविपत्ति कोषमा एक करोड गरी करिब ७८ करोड रुपैयाँ कोषमा जम्मा गरेको छ। महालक्ष्मी लाइफ इन्स्योरेन्सले जीवन बिमा कोषमा ४२ करोड, जगेडा कोषमा करिब साढे पाँच करोड र महाविपत्ति कोषमा करिब ६४ लाख रुपैयाँ जम्मा गरेको छ।
प्रकाशित: २५ फाल्गुन २०७६ ०३:४२ आइतबार