बुटवल- खाने बानीमा सुधार ल्याउन रुपन्देहीको तिलोत्तमामा खाद्य मेला लाग्ने भएको छ। परम्परागत पोषिलो खानेकुराको प्रयोग बढाउदै लगेर आन्तरिक उन्पादनबाटै आत्मनिर्भर हुने वातावरण सृजना गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा र तिलोत्तमा नगरपालिकाको आयोजनामा खाद्य मेला गर्न लागिएको हो। मेला यही फागुन २३ देखि २५ गतेसम्म तिलोत्तमा १५ स्थित पशुपती माध्यामिक विद्यालयको प्राङ्गणमा लाग्ने छ।
मेलामा ६० वटा खाद्यका स्टल रहने छन्। स्टल र मेला अवलोकनकर्तालाई समेत प्रवेस निःशुल्क गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख बिमलकुमार दाहालले बताए। परम्परागत पोषिलो एवम् स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौं, असल खानाका लागि खाने बानीमा सुधार गरौं भन्ने मुल नाराकासाथ गर्न लागीएको मेलामा २० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेका छन्।
स्थानीय उत्पादनको प्रबद्र्धन तथा पहिचान गर्ने, खाद्य प्रविधि तथा पोषणको अनुशन्धान गर्ने, स्थानीय खाद्य उद्यमी तथा व्यवसायीका उत्पादन तथा तीनले विकास गरेका प्रशोधन एवम् तयारी प्रविधिका सम्बन्धमा प्रचारप्रसार गर्नु मेलाको मुख्य उद्देश्य रहेको दाहालले बताए। स्थानीय उत्पादनका कृषि उपजबाट नयाँनयाँ परिकारको विकास गर्ने। ती परिकारको व्यवसायीकरण तथा उपभोग अभिवृद्धि गर्दै कृषिजन्य आयात प्रतिस्थापन गर्न सकिने भएकाले मेलामा खाद्य उत्पादक, प्रशोधनकर्ता, सञ्चयकर्ता र उपभोक्ताहरुलाई एकै थलोमा राखेर पोषण र स्वच्छताबारे ज्ञान विस्तार गर्नु मेलाको अर्को उद्देश्य हो।
मेलामा स्थानीय कृषि उपज, अल्प प्रचलनमा रहेका स्थानीय खाद्य उत्पादनहरुको प्रदर्शन, माौलिक संस्कृति तथा झाँकी, होमस्टे तथा खाद्य व्यवसाय, बिभिन्न जातजातीको परम्परागत खानेकुरा तथा उत्पादनहरु मेलामा राखिने छ। मेलामा बिभिन्न शिक्षण संस्थाका पाक शिक्षा सम्बन्धि कला तथा तयार गरेका खानाका परिकारहरु पनि राखिने छ। पोषणयुक्त खानाका परिकार, खाद्य तथा पोषण सम्बन्धि जानकारीसगै झाँकी तथा साँस्कृतिक कार्यक्रम पनि गरिने छ।
मेलाको सहआयोजक तिलोेत्तमा नगरपालिकाका मेयर बाशुदेव घिमिरेले नगरभित्र गर्न लागिएको मेलाले स्थानीय स्तरमा उत्पादन भइरहेका तर अल्प प्रयोगमा पर्दै गएका पोषण युक्त खाद्य पदार्थको प्रबद्र्धन मेलाले गर्ने बताए। अल्पप्रयोगमा रहेका पोष्टिक आहारका सम्बन्धमा उपभोक्तालाई जानकारी दिँदै ती परिकारको प्रयोग वृद्धि गर्न मेलाले सघाउ पुर्याउने नगरप्रमुख घिमिरेले बताए।
नगरभित्र सञ्चालनमा रहेका मौलिक होमस्टे र तीनले तयार गर्ने परम्परागत खानाका परिकारलाई समेत मेलामा सहभागी गराइने उनले बताए। तीन दिनसम्म लाग्ने खाद्य मेलामा च्याख्ला, चिउरा, ढिँडो, खट्टे, सेलरोटी, योमरी, भक्का, चटामरी, गोलफुकी, लावा, अनरसा जस्ता अन्नका परिकारका स्टल राखिने छ। त्यस्तै दलहन बाली तर्फको क्वाटी, मस्यौरा, सातु, टोफु, किनेमा जस्ता परिकार राखिने छ।
त्यस्तै फलफूल जन्य खाद्यमा खल्प, चुक, माडा, निम्की, तितौरा, खल्प, बिभिन्न खालका अचारको स्वाद लिन पाइने छ। मेलामा ताजा दहि, महि, दूध, घिउँ, गुँदपाक, पुष्टकारी, फिलिङ्गे, माछामासुको परिकारमा सुकुटी, छोयला, कचिला, मोमो, सिद्रा, सुकाएको माछा जस्ता परिकारको स्वाद लिन पाइने छ। यी परिकारमा प्रसस्त भिटामिन, प्रोटिन, खनिज शक्तिवद्र्धक तत्वहरु पाइने भएकाले यस सम्बन्धि जानकारी पनि उपभोक्तालाई दिइने छ। त्यससँगै मौलिक साँस्कृतिक कार्यक्रम समेत हुने छ।
प्रकाशित: १७ फाल्गुन २०७६ ११:०४ शनिबार