७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

उदयपुरमा नमुना बसपार्क, अढाइ वर्षको योजना डेढ वर्षमै सक्ने लक्ष्य

त्रियुगा बसपार्कमा निर्माणाधीन टर्मिनल भवन। तस्बिरः महेश्वर/नागरिक

उदयपुर - देशका विभिन्न ठाउँका ठूला विकास निर्माणका योजना म्याद नाघेर अलपत्र परेको अवस्थामा उदयपुर सदरमुकाममा निर्माणाधीन प्रदेशस्तरीय नमुना बसपार्कको कामले गति लिएको छ। उक्त बसपार्क सम्झौतामा उल्लिखित समयसीमाअगावै सक्ने गरी काम भइरहेको निर्माण व्यवसायीले बताएका छन्।

अत्याधुनिक सुविधासम्पन्न बसपार्क अढाइ वर्षभित्र बनाइसक्ने गरी गत असार ३१ गते सम्झौता भएबमोजिम टर्मिनल भवन गत कात्तिक अन्तिमदेखि सुरु भएको हो। ३० कोठे अढाई तल्लाको भवन चालू आर्थिक वर्षभित्रै सक्ने गरी काम भइरहेको निर्माण रेखदेखको जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीले जनाएको छ। सघन कार्यालय प्रमुख (डिई) रमेश थिङले बसपार्कको मध्यभागमा चाहिने अढाई तल्ले आधुनिक टर्मिनल भवन सुरु भएको तीन महिनामा फाउन्डेसन (डिपिसी) सकेर पहिलो तल्लाको ढलान गर्ने तयारी भइरहेको बताए।

उनका अनुसार निर्माण कम्पनी रमण÷आइएसएमडी जेभीले बसपार्क बनाउने जिम्मा पाएर असार अन्तिम साता सम्झौता गरेकोमा दसैं–तिहारले गर्दा कात्तिक अन्तिमदेखि मात्र काम थालेको थियो। तर, अहिलेको कामको रफ्तार हेर्दा म्यादभन्दा आधा समयअगावै भवन सक्ने लक्षण देखिएको छ। जेभीका परियोजना प्रबन्धक (पिएम) प्रमोद यादवले थालेको वर्ष दिनभित्रै भवन सक्ने लक्ष्यका साथ काम गरिरहेको बताए। दु्रतगतिमा काम भइरहेको भन्दै यादवले अढाई वर्षभित्र बनाइसक्ने सम्झौता गरिए पनि दुई वर्षभित्रै सक्ने लक्ष्य लिएर काम भइरहेको बताए।

‘आउँदो ०७८ पुुसभित्र बसपार्कको सबै काम सकेर हस्तान्तरण गनुपर्ने सम्झौता छ,’ प्रबन्धक यादवले भने, ‘तर हामी म्यादभन्दा कम्तीमा ६ महिनाअघि नै सकेर बुझाउने उद्देश्यका साथ तीव्र गतिमा काम गरिरहेका छौं।’ तीन महिनाको अवधिमा भवनको झन्डै २० प्रतिशत काम भइसकेको उनको भनाइ छ। मुख्य काम भनेको फाउन्डेसन र पिल्लर उठाउने काम छिटो सकिएकाले पहिलो तल्लाको ढलान फागुनभित्रै गरिसक्ने गरी तयारी भइरहेको उनले बताए। टर्र्मिनल भवनको काम वर्षदिनभित्रै सक्ने र अन्य संरचना पनि सँगसँगै बनाउने योजना निर्माण कम्पनीको छ।

जेभीले लागत इस्टिमेटभन्दा ३४ प्रतिशत कम मूल्यमा ठेक्का लिएकाले पनि काम छिटो गर्नुपर्ने चटारो परेको जनाएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १९ करोड २५ लाख लागतको बसपार्क जेभीले ३४ प्रतिशत कम मूल्यमा भ्याट बाहेक १२ करोड ४९ लाखमा बनाउने गरी सम्झौता गरेको छ। त्यसले गर्दा पनि ढिलो काम गरे कम्पनी सोझै घाटामा जाने जोखिम भएर छिटोछिटो गर्नुपरेको प्रबन्धक यादवले बताएका छन्। छिटो काम गरेमा नाफा बस्नुका साथै कम्पनीको साख (गुडविल) पनि बढ्ने हुनाले काममा तीव्रता दिनुपरेको हो। 

डिई थिङले सघन कार्यालयले सञ्चालन गरेका काममा अहिलेसम्म यो तीव्र गतिमा काम भइरहेको योजनामा गनिने बताएका छन्। शिलान्यासको तीन महिनामै झन्डै २० प्रतिशत काम हुनुले यो योजना अपेक्षाभन्दा छिटो सकिने निश्चित रहेको उनी बताउँछन्। यसरी छिटो काम भएमा ठेकेदार र सरकार दुवैलाई फाइदा हुने डिई थिङको बुझाइ छ। अलगअलग दुईटा ब्लकमा ३० कोठा रहने टर्मिनल भवनमा बसपार्कको प्रशासनिक कक्ष, टिकट काउन्टर, नियन्त्रण कक्ष र सुरक्षा पोस्ट राखिनेछ। भवनसँगै १४ मिटर अग्लो घन्टाघर निर्माण गरिनेछ, जसबाट यात्रु तथा यातायात व्यवसायीलाई समय हेर्न सुविधा हुनेछ।

सघनले प्रदेशकै नमुना र अत्याधुनिक, सुविधासम्पन्न, यातायात, व्यवसायीतथा यात्रुमैत्री बसपार्क बनाउने इस्टिमेट अनुसार निर्माणाधीन बसपार्क झण्डै पाँच बिघाक्षेत्रफल जमिनमा बन्दैछ। गाईघाट–कदमाहा सडकको बसपार्कमा सवारीसाधन पूर्वी नाकाको उत्तर–दक्षिण भएर प्रवेश गर्ने र बहिर्गमन हुनेछन्। बसपार्कमा कालोपत्रेसहितको ‘फलामे सेड’का ‘पार्किङ लट’ र त्यस दायाँ–बायाँ हरियाली फूलबारी बनाइने इस्टिमेटमा छ।

सघन कार्यालयका इन्जिनियर ब्रम्हदेव चौधरीले बसपार्कमा गाडी पर्खन व्यवस्थित र फूलबारीयुक्त यात्रु प्रतीक्षालय (वेटिङ सेड) बन्ने बताए। उनका अनुसार बिग्रेका गाडी मर्मत गर्न आधुनिक उपकरणयुक्त ग्यारेज (सर्भिस सेन्टर) बसपार्कभित्रै निर्माण गरिनेछ। यात्रुको सुविधालाई लक्षित गरी खाजा घर (क्यान्टिन) र उपभोग्य सामान बेच्न ‘सपिङ कबल’हरु पनि बसपार्कमा निर्माण गर्ने इस्टिमेट रहेको इन्जिनियर चौधरीले बताए।

सघनकै साइट इन्जिनियर राजेश चौधरीका अनुसार बसपार्कमा महिला–पुरुष तथा अपांगता भएकाहरुका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय पनि बनाइनेछ। आपराधिक घटना हुन नदिन, पाकेटमार र गुण्डागर्दी हुनबाट यात्रुलाई बचाउन बसपार्कमा क्लोज सर्किट (सिसी) क्यामेरा जडान गरिने इन्जिनियर चौधरीले बताए। त्रियुगा नदी उकासको जमिनमा निर्माणाधीन बसपार्कको दक्षिणतर्फ बगिरहेको त्रियुगा नदीबाट बचाउन पाँच सय मिटरभन्दा लामो पक्की तटबन्ध बनाइनेछ भने बाँध उकासमा आकर्षक फूलबारी बनाउने योनजा छ।

प्रकाशित: १६ फाल्गुन २०७६ ०३:३६ शुक्रबार

नमुना_बसपार्क उदयपुर