११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रसुवागढी सुक्खा बन्दरगाह निर्माणमा कामदार अभाव

रसुवा - रसुवागढी नाकास्थित सुक्खा बन्दरगाह निर्माणमा कामदारको अभाव देखिएको छ। गएको मंसिरदेखि निर्माण कार्य सुरु भए पनि कामदारको अभावमा निर्माण कार्य प्रभावित भएको हो।

अहिले त्यहाँ कार्यरत २४ जना चिनियाँमध्ये नौजना कामदार छन्। बाँकी चिनियाँ कामदार नयाँ वर्ष मनाउन चीन गएको र चीनमा फैलिएको कोरोना भाइरसका कारण उनीहरू निर्माणस्थलमा आउन नपाएका हुन्। निर्माण कार्यमा नेपाली कामदार संलग्न भए पनि पर्याप्त छैनन्। बन्दरगाह निर्माणका लागि पर्याप्त कामदार नहुँदा कामले गति लिन नसकेको इन्टरमोडल यातायात विकास समितिका सभिल इन्जिनियर प्रमोद आचार्यले बताए। काम रोकिएको चाहिँ छैन, उनले भने, तर कामले गति सकेको पनि छैन। उनका अनुुसार बन्दरगाह निर्माणको सात प्रतिशत काम सकिएको छ।

चीन सरकारको सहयोगमा ३० महिनामा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ। निर्माणको जिम्मा पाएको तिब्बेत फुली कन्स्ट्रक्सनले सामग्री आयात गर्नुका साथै जग्गा सम्याउने काम गरिसकेको छ। निर्माण कार्य सुरु भइसकेको र मुआब्जा पाउन बाँकी रहेका प्र्रभावितको अध्ययनको काम भइरहेको समितिले जनाएको छ। ‘चीन सरकारको लगानीमा चिनियाँ टोलीले नै निर्माण गर्ने भएकाले हामीले समन्वय मात्रै गर्छौं,’ उनले नागरिकसँग भने, ‘नेपाली पक्षले के काम गर्ने र चिनियाँ पक्षले कसरी काम गर्ने विषयमा छलफल भइरहेको छ।

गएको मंसिरदेखि निर्माण कार्य सुरु भएपनि कामदार अभावमा निर्माण प्रभावित भएको हो ।

चीन सरकारले दुई चरणमा बन्दरगाह निर्माण गर्ने जनाएको छ। डिजाइन अनुसारको काम पहिलो चरणमा पूरा गर्ने र बाँकी काम दोस्रो चरणमा गरिने छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा बन्ने बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिसकिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको एक सय नौ रोपनी गरी साढे आठ हेक्टर जग्गा अधिग्रहण गरिसकिएको छ। चिनियाँ लगानीमा चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौता भएको छ।

समितिले २०७५ माघ १ गते चीनको छेन्दुमा पुगेर सुक्खा बन्दरगाहको डिजाइन स्वीकृतिको सम्झौता गरेको थियो। नेपाली पक्षले स्थानीय समस्याको समाधान गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने, सामग्री आयातमा भन्सार छुटको व्यवस्था गर्ने लगायतका कार्य गर्नेछ। निर्माण कार्य अवधिभर नेपाली पक्षले अनुगमन, निगरानी र समन्वयको भूमिका निर्वाह गर्नेछ। आर्किटेक्चरल रिकन्नाइन्सेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले डिजाइन तयार पारेको थियो। बन्दरगाहमा पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारेनटाइन, बैंक, ल्याब रहने छ।

बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँचतले प्रशासनिक भवन, सात सय ५० वर्गमिटरको एउटा गोदाम, दुई हजार ८० वर्गमिटरका दुईवटा जाँचपास स्थल रहने उनले बताए। निर्माण सुरु भएको ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको चिनियाँ पक्षले जनाएको छ। बन्दरगाहमा तीन सय ५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ। साढे आठ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने समितिले जनाएको छ।

प्रकाशित: २४ माघ २०७६ ०१:४१ शुक्रबार

रसुवा बन्दरगाह कामदार