१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

विकासमा वैदेशिक स्रोत आवश्यक : अर्थमन्त्री

काठमाडौं - अर्थमन्त्री युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिक लगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताएका छन्। बुधबार अर्थ मन्त्रालयमा स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटसका अध्यक्ष तथा नेपालका लागि स्विजरल्यान्डका पूर्वराजदूत जोर्ग फ्राइडेन नेतृत्वको टोलीसँग भएको भेटवार्तामा अर्थमन्त्री खतिवडाले द्रुत विकासको लागि आन्तरिक स्रोत पर्याप्त नभएकोले वैदेशिक स्रोतको आवश्यकता भएको बताए।

भेटमा अर्थमन्त्री खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराए। अर्थमन्त्री खतिवडाले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, विभिन्न देशहरुसँग दोहोरो करमुक्ति सम्झौताको प्रक्रिया अगाडि बढाइएको, च्यालेन्ज फन्ड सुरु गर्न लागिएको तथा लगानी आकर्षित गर्ने गरी कानुनहरु निर्माण गरिएको र विद्यमान कानुनको परिमार्जन गर्न लागिएको जानकारी गराए।

अर्थमन्त्री खतिवडाले पूर्वाधारको विकास गरी पर्यटन र उर्जा निर्यातबाट विदेशी मुद्रा आर्जन गरे मात्र उच्च आर्थिक वृद्धिसँगै बाह्य क्षेत्र सन्तुलन कायम गर्न सकिने बताए। उनले पूर्वाधार विकाससँगै सेवाको गुणस्तरयुक्त विकासको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढेको बताए। मुलुकको समग्र विकासका लागि नवप्रवर्तन अन्वेषण तथा युवा लक्षित सीप र प्रविधिक ज्ञानको सहयोगमार्फत साना मझौला व्यवसायको प्रवद्र्धन र रोजगारी सिर्जना अहिलेको मुख्य आवश्यकता भएको स्पस्ट पारे। उनले विकसित मुलुकले प्रयोग गरेको प्रविधि हासिल गर्न पनि बाह्य पुँजी परिचालन मार्फत नेपालले सहकार्य गर्न चाहेको समेत स्पष्ट पारे।

फ्राइडेन नेतृत्वको टोलीले अर्थमन्त्रीसमक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालमा लगानीको अवसर भएकोमा खुसी व्यक्त गरेका छन्। सो भेटमा नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन कापेल्लसर र स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटसका प्रतिनिधिको समेत उपस्थिति थियो। टोलीले विभिन्न सरकारी, निजी तथा गैरसरकारी क्षेत्रसँग भेट गरी विकास प्राथमिकताका विषयमा छलफल गरेको थियो।

प्रकाशित: १६ माघ २०७६ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App