१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

बैंकलाई व्यवसायीमैत्री बन्न अर्थमन्त्रीको सुझाव

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले बैंकलाई नाफामुखी मात्र नभई व्यवसायमैत्री बन्न सुझाव दिएका छन्।

मुलुकको आर्थिक अवस्था जेजस्तो भए पनि बैंकहरुको नाफा बर्सेनि बढिरहे पछि उनीहरु नाफामुखी भएको आरोप लाग्दै आएको छ। यसैलाई हेरेर अर्थमन्त्रीले नाफामुखी भन्दा व्यवसायमैत्री बन्न सुझाव दिएका हुन् । अर्थ मन्त्रालय, नेपाल राष्ट्र वैक र बैंकर्स एसोसियसनका पदाधिकारीबीचको छलफलमा मन्त्री खतिवडाले बैंकरहरुलाई पूर्वाधारमा लगानी विस्तार गर्न, ब्याजदर निर्धारणको सम्बोधन गर्न बैंकले लिने सेवा शुल्कको समीक्षा गर्न निर्देशन दिए।

खतिवडाले बैंक तथा वित्तीय संस्थाको सञ्चालन नियमन तथा राष्ट्र बैंकले समय समयमा ती संस्थालाई दिएका निर्देशन कार्यान्वयनबारे चासो राखेका थिए। बैठक बैंकको ब्याजदर, सेवा शुल्कलगायत अन्य महत्वपूर्ण विषयमा केन्द्रित भएको थियो। खतिवडाले राष्ट्र बैंक र बैंकर्स एसोसियसनका पदाधिकारीलाई सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा नतिजा आउने गरी काम गर्न समेत निर्देशन दिए।

उनले वाणिज्य बैंकबाट हेजिङ सुविधा उपलब्ध गराउने वातावरण निर्माण गर्न, विदेशी विनिमयको व्यवस्थापनलाई थप प्रभावशाली बनाउन एवं राष्ट्र बैकको नियमनकारी भूमिकालाई प्रभावकारी र समयसापेक्ष बनाउनु पर्नेमा जोड दिए। सरकारले अघि सारेका नीति नियम तथा योजना कार्यान्वयनको चरणमा देखा परेका समस्या र तीनको समाधानका लागि सदैव तयार रहेको भन्दै उनले सम्बन्धित निकायलाई कामको प्रगति र समस्याबारे जानकारी गराउन समेत निर्देशन दिए।

अर्थ मन्त्रालयका अनुसार बैंकबाट ऋण लिने ऋणीले आन्तरिक राजस्व कार्यालयमा पेस गरेको विवरण र बैंकमा प्रस्तुत गरेको वित्तीय विवरणबीच अन्तर आवद्धताको प्रभाव तथा त्यसमा देखिएका समस्या समाधान गरी वित्तीय अनुशासन र कारोबारलाई थप मर्यादित बनाउने विषयमा समेत छलफल केन्द्रित भएको थियो। कर्जा प्रवाह गर्दा खोजिने कर चुक्ता प्रमाणपत्रको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने विषयमा समेत छलफल भएको थियोे।

प्रकाशित: ८ माघ २०७६ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App