१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

हिउँदे झरीले दुई जिल्लाका आलु किसानलाई एक अर्ब घाटा

बाँकेको खजुरा क्षेत्रका किसानले गरेको तरकारी खेतीमा जमेको पानी।

बाँके - आवश्यकभन्दा बढी हिउँदे वर्षा भएपछि बाँके र बर्दियाका किसानलाई यो वर्ष एक अर्ब रुपैयाँ घाटा लाग्ने अनुमान गरिएको छ। यी दुई जिल्लामा आलु उत्पादन ५० प्रतिशतले घट्ने देखिएपछि किसानलाई एक अर्ब रुपैयाँ घाटा लाग्ने भएको हो।

पश्चिम तराईका बाँके र बर्दिया तरकारी खेतीका लागि उर्वर क्षेत्र मानिन्छन्। तर यसवर्ष अधिक वर्षा र शीतलहरका कारण तरकारी किसान मारमा छन्। माघको पहिलो सातासम्म पनि हिउँदे वर्षा जारी छ। यसले तरकारी र हिउँदे खेतीमा थप असर गर्ने देखिएको छ। बाँके हिरमिनियाका किसान कृपाराम मौर्य आफूले लगाएको करिब तीन मेट्रिक टन आलु बारीमै बिग्रिएको बताउँछन्। कृपाराम जस्तै हिरमिनियाका अन्य किसानले पाँच सय हेक्टरमा लगाएको ५० प्रतिशत आलु बिग्रियो। जसका कारण करिब २० करोड क्षति भएको छ।

कृपारामले भने, ‘हरेक वर्ष हामी आलुबाट राम्रो आम्दानी गर्छौं। तर यसवर्र्ष सबै बिग्रियो। अहिले पनि बारीमा पानी जमेको छ। आलु खोज्न गाह्रो भइसक्यो। भएका आलुका बिरुवा पनि सुक्न थालेका छन्। पानीले जमिन कडा भएको छ। यसले आलु राम्ररी फल्न दिन्नँ। फलेको आलु पनि कुहिने गर्छ।’ गत वर्ष बाँके र बर्दियामा ८८ हजार तीन सय १० मेट्रिक टन आलु उत्पादन भएको थियो। यस वर्ष आलु उत्पादन ५० प्रतिशतले घट्ने पक्का भइसकेको बताउँछन्, कृषि ज्ञान केन्द्र नेपालगन्ज प्रमुख सागर ढकाल। वर्षा हुने क्रम जारी रहेकोले उत्पादन घट्ने सम्भावना रहेकोउनले जानकारी दिए। ५० प्रतिशत उत्पादन घट्ने भएपछि बाँके र बर्दियाका किसानलाई आलु उत्पादनबाट करिब एक अर्ब २३ करोड घाटा लाग्ने भएको छ। ढकाल भन्छन्, ‘तरकारी बजारमा असर गरिसकेको छ। पहिलो लटको आलु बजारमा आएपछि मूल्य घट्दै जान्छ। तर किसानले फलाएको आलु भित्र्याउनै पाएका छैनन्। पानी परिरहेको छ। यसले खेतमै आलु कुहिने सम्भावना बढ्दै गएको छ।’

बर्दियामा चार हजार दुई सय ५० हेक्टर जमिनमा आलुखेती गरिन्छ। बाँकेको कुल खेतीयोग्य ५२ हजार तीन हेक्टर जमिन मध्ये बाँकेमा दुई हजार आठ सय ७५ हेक्टर जमिनमा आलु खेती गरिन्छ। मसुरो ११ हजार ६ सय हेक्टर, चना एक हजार पाँच सय ५० हेक्टर, हिउँदे तरकारी चार हजार दुई सय ५० हेक्टरमा लगाउने गरिएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ। पछिल्लो समयको वर्षाले सबैभन्दा धेरै आलु खेतीमा असर गरेको छ। सुरुआतमा मंसिर महिनाको हिउँदे वर्षाले तरकारी जन्य खेतीमा १० देखि १५ प्रतिशत नष्ट भएको थियो। माघ महिनासम्म पनि वर्षा हुने क्रम नरोकिएपछि करिब ५० प्रतिशतले तरकारी र हिउँदे खेतीउत्पादनमा असर गर्ने ज्ञान केन्द्रले बतायो।

बाँकेको खजुरा क्षेत्रका किसान भने आलु खेतीमा ७० देखि ८० प्रतिशतले उत्पादन घटेको बताउँछन्। खजुरा गाउँपालिका ‘सी’ गाउँका लालबहादुर खत्रीले भने, ‘जमिनमा चिस्यानको मात्र घट्नै पाएको छैन। आलु निकाल्न नपाउँदै कुहिसकेको छ। अधिक वर्षाले आलु खेतीमा ८० प्रतिशत ह्रास आइसकेको छ। अन्य तरकारी खेती र हिउँदेबालीमा पनि असर गरिसकेको छ।’ बाँके र बर्दियामा मंसिर २७ गते हिउँदको अधिक वर्षा भएको थियो। कृषि ज्ञान केन्द्रका अनुसार त्यतिबेला २४ घन्टामा एक सय १५ मिलिमिटर पानी परेको थियो, जुन बाँकेमा हिउँदको समयमा भएको अहिलेसम्मकै अधिक वर्षा हो। माघको पहिलो सातामा पनि बाँके र बर्दियामा हिउँदको चौथो वर्षा भयो। जसले थप क्षति बढाएको हो।

कृषि ज्ञान केन्द्रका प्रमुख ढकाल प्राकृतिक रुपमा हुने यस्ता क्षतिलाई कम गर्न उच्च जमिनमा तरकारी खेती गर्ने सुझाव दिन्छन्। उनले थपे, ‘पानी नजम्ने ठाउँ वा पानीको निकास हुने जमिनमा हिउँदे तरकारी गर्दा राम्रो हुन्छ। प्लास्टिकको घर बनाएर पनि तरकारी लगाउन सकिन्छ। आलु खेती असोजको अन्त्यतिर गर्न सकिन्छ। आलु खेती अलि छिटो गर्दा हिउँदे वर्षाबाट हुने क्षतिलाई केही कम गर्न सकिन्छ।’

प्रकाशित: ५ माघ २०७६ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App