१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एउटै योजनामा दुईवटा उपभोक्ता समिति

कैलालीको टिकापुरस्थित चिल्ड्रेन पार्क क्षेत्र ।

टीकापुर - टीकापुर नगरपालिका वडा नं. १ को कार्यालयले एउटै योजनामा दुईवटा उपभोक्ता समिति गठन गरेर विवाद खडा गरेको छ। कार्यालयले ब्लक नं. ९ स्थित तीनकुने चिल्ड्रेन पार्क निर्माणमा दुईवटा छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरेको पाइएको छ।

कार्यालयले २०७६ मंसिर १९ गते गोपालबहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय निर्माण उपभोक्ता समिति गठन गरेको थियो। थापाको नेतृत्वमा गठन भएको समितिले पार्क निर्माणका लागि छुट्याईएको बजेट सोही ब्लकमा रहेको मन्दिरको जग्गामा खर्च गर्न खोजेको भन्दै स्थानीयले विरोध गरे। उनीहरुले चिल्ड्रेन पार्क आसपासका जनतालाई जानकारी नै नदिई बजेट अन्यत्र खर्च गर्न खोजेको भन्दै आपत्ती जनाए।

स्थानीयको विरोधपछि वडा कार्यालयले पुर्ण लामाको अध्यक्षतामा २०७६ पुस २३ गते अर्को निर्माण उपभोक्ता समिति गठन ग-यो। एउटै योजनामा दुईवटा समिति गठन गरेपछि स्थानीय आपसमा विभाजित भएका छन्। दुवै समितिबीचको विवाद वडा कार्यालयमा पुगेको छ। वडा कार्यालयले सो बजेट तीनकुने चिल्ड्रेन पार्क निर्माणमा मात्रै खर्च गर्ने शर्तमा पूरानो समितिलाई मान्यता दिएको छ।

दुईवटै समिति गठन गर्दा अनुपस्थित रहेका वडाध्यक्ष गंगाराम आचार्यले थापा अध्यक्ष रहेको समितिको माइन्यूटमा कार्यालयमै बसेर हस्ताक्षर गरेका छन्। उनले लामा अध्यक्ष रहेको समितिमा हस्ताक्षर गरेका छैनन्। तर वडा सचिव चक्रबहादुर रावलले दुवै समितिमा हस्ताक्षर गरेको पाइएको छ। उनकै पहलमा दुईवटा समिति गठन भएको बताईएको छ। वडाध्यक्ष आचार्यले आफूलाई झुक्याएर हस्ताक्षर गरिएको बताए। ‘म दुईवटै समिति गठन गर्दा उपस्थित थिएन’ उनले भने, ‘मलाई कार्यालयबाटै झुक्याएर हस्ताक्षर गराईयो।’

वडा सचिव रावलले स्थानीयको दवाव थेग्न नसकेर दुईवटा समिति गठन गर्नुपरेको बताए। उनले एउटै योजनामा दुईवटा समिति गैरकानूनी हुने बताए। ‘मलाई निकै दवाव आयो’ उनले भने–‘वाध्य भएर दुईवटा समिति गठन गर्नुप-यो।’ सो पार्क संरक्षणमा लामो समयदेखी लागिरहेका स्थानीय शेरबहादुर रावलले बजेट अन्यत्र खर्च गर्न आफूहरुलाई जानकारी नै नदिई छुट्टै समिति गठन गरिएको आरोप लगाएका छन्। उनले वडा कार्यालयको मिलेमतोमा चिल्ड्रेन पार्कको नाममा छुट्याईएको रकम मन्दिरको जग्गामा खर्च गर्ने प्रयास स्वरुप छुट्टै समिति निर्माण गरिएको बताए।

‘हामीलाई थाहै नदिएर अन्यत्र खर्च गरेर खान खोजेका हुन’ उनले भने–‘यसमा सबैको मिलेमतो छ।’ टीकापुर नगरपालिकाले आव ०७६/७७ मा सो योजनामा दुई लाख चार हजार नौ सय २६ रुपैयाँ विनियोजन गरेको छ। स्थानीयले सो रकम सदुपयोग हुनेमा आशंका व्यक्त गरेका छन्। वडा कार्यालयले मान्यता दिएको समितिका अध्यक्ष थापाले यसअघि समेत विकास निर्माणको काममा अगुवाई गरी रकम हिनामिना गरेको स्थानीयको आरोप छ। स्थानीयले विगत लामो समयदेखि पार्कको संरक्षण गर्दैै आएका आसपासका बासिन्दाको सहभागीतामा निर्माण उपभोक्ता समिति गठनको माग गरेका छन्। उनीहरु चिल्ड्रेन पार्क मास्न खोज्नेहरु नै समितिमा रहेकाले संरक्षण हुनेमा शंका रहेको बताउँछन्।

 

प्रकाशित: १ माघ २०७६ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App