५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय हवाई यात्रु तीन लाखले घटे

काठमाडौं -  सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक ल्याउने लक्ष्य राखेका बेला मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशीयात्रु भने घटेका छन्।

अघिल्लो वर्ष सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४३ लाख ४२ हजार यात्रु नेपाल आएकामा गतवर्ष २०१९ को ११ महिनामा ३७ लाख ६७ हजार यात्रु भित्रिएका छन्। सरकारले अर्को एक महिनालाई जोड्दा यो संख्या ४१ लाख हाराहारी पुग्ने अनुमान गरेको छ। यही अनुमान गरिएको तथ्यांकलाई हेर्ने हो भने पनि अघिल्लो वर्षको तुलनामा गतवर्ष झन्डै तीनलाख यात्रु घटेका हुन्। सन् २०१७ को तुलनामा २०१८ माभने विमानस्थलबाट नेपाल आउने यात्रु ११.७ प्रतिशतले बढेका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक तर्फका यात्रुको संख्या भने बढेको छ। सरकारले अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता वृद्धि र उडान विस्तारसहित नेपाल भ्रमणमा आउने २० लाख पर्यटकलाई आवश्यक पूर्वाधार तयार रहेको बताएको छ। विमानस्थललाई बुटिकमा परिणत गरेर हाल २१ घन्टा सेवा दिइरहेको र २४ घन्टे सेवाको अवस्था बनिसकेकाले उक्त संख्या चाँडै बढ्ने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीको भनाइछ। २०१९ मा ४० वर्षदेखि त्यस्तै रहेको धावनमार्गको निमार्णका कारण अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या घटेको हुन सक्ने उनको भनाइ छ।

‘आशा गरिएका जेट एयरवेज,एयर एसिया लगायत ठूला विदेशी वायुसेवा कम्पनीले नेपाल उडान बन्द गर्नुले पनियात्रु संख्या घटेको हो,’ उनले भने, ‘जेट एयरवेजले दैनिक पाँचवटा उडानमार्फत वार्षिक तीनलाख हाराहारी यात्रु बोक्ने गरेको थियो।’ २०१८ को अन्त्यतिर एयर एसियाले पनि नेपाल उडान बन्द गरेका कारण त्यसको असर अन्तर्राष्ट्रिय यात्रुमा देखिएको उनले बताए। तर अहिले विमानस्थलको भौतिक प्रगतिलगायत केही विमान कम्पनीले नयाँ गन्तव्यमा उडान भर्न थालेका कारण २०२० भित्र उक्त संख्या स्वतः बढ्ने उनले विश्वास व्यक्त गरे।

दैनिक १८ घन्टा विमानस्थल प्रयोगमा आउँदा अन्तर्राष्ट्रिय यात्रुको संख्यामा असर देखिएको उनको भनाइछ। धावनमार्ग निमार्णको काम लिएको चिनियाँ निर्माण कम्पनीले लक्षित समय अघिनै काम सम्पन्न गरेको बताउँदै उनले हाल विमानस्थलमा टर्मिनल क्षेत्रको विस्तार,चारवटा मात्र रहेको ब्यागेज बेल्ट थप्नेकार्य भइरहेको बताए। तोकिएकै गुणस्तर र समयमै धावनमार्ग निर्माणको काम सकिएकाले विमान कम्पनीहरु पुनःपहिलाकै समयतालिका बमोजिम उडान सञ्चालन गर्न तयार रहेको उनको भनाइ छ।

धावनमार्ग र ट्याक्सी वेको जीर्णोद्धारका कारण विमानस्थल वर्षभर नै पूर्ण क्षमतामा चल्न नपाएपनि त्यसको असर आन्तरिक उडानमा भने नपरेको उनले स्पष्ट पारे। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सरकारले सन् २०१८ र १९ मा १६ महिनासम्म वैदेशिक रोजगारीमा मलेसिया जान बन्द गरेकाले मलेसियाबाट आउने ठूलो यात्रु संख्या कटौतीको असर बाह्ययात्रुमा परेको हो। यो वर्ष विदेशी वायु सेवामा कुवेतको जजिरा एयरले कुवेत–काठमाडौं उडान थालेको र भारतको भिस्ताराले पनि यसै महिनादेखि उडान भर्ने भएका कारण यात्रु संख्या बढ्ने प्राधिकरणको विश्वास छ।। भारतको इन्डिगो एयरले दिल्ली–काठमाडौं दैनिक एक उडान गर्दै आएकोमा अहिले बढाएर चार पु-याएकोले बाह्ययात्रुको संख्या बढ्दै जाने प्राधिकरणको अपेक्षा छ।

उक्त अवधिमा अन्तर्राष्ट्रिय हवाई यात्रु घटे पनि आन्तरिक तर्फका भने बढेका देखिन्छन्। २०१९मा ३३ लाख आन्तरिक हवाई यात्रुले त्रिभुवन विमानस्थलबाट यात्रा गरेका छन्। २०१८ मा २८ लाख ४७ हजार सात सय ५२ आन्तरिक यात्रु थिए। आन्तरिक र बाह्य उडान तर्फका दुवै तथ्यांक हेर्दा भने वर्षभरिमा दुई लाख यात्रु अर्थात १३ प्रतिशतले बढेको देखिन्छ। सन् २०१७ मा ३८ लाख ८७ हजार आठ सय ४५ अन्तर्राष्ट्रिय यात्रुले विमानस्थल प्रयोग गरेकोमा २०१८को नोभेम्बर सम्ममा उक्त संख्या ११ प्रतिशतले बढेर ४३ लाख ४२ हजार चार सय ८६ पुगेको थियो। त्यस्तै, आन्तरिकतर्फ सन् २०१७ मा २४ लाख ५१ हजार तीन सय ९० यात्रुले हवाई सेवा लिएका थिए।
 

प्रकाशित: २५ पुस २०७६ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App