१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

मूल्य र भुक्तानी जोखिमले घट्दै उखु खेति


काठमाडौं - ६ वर्षअघिसम्म सर्लाही धनकौली र बगदह आसपासका किसानले उखु बेच्ने नजिकको ठाउँ भनेको हरिवनस्थित इन्दुशंकर चिनीमिल थियो। ढुवानीको समस्या, बिचौलियका भरमा उखु पठाउनुपर्ने, मिलले समयमै भुक्तानी दिने भए पनि विभिन्न कारणले अपायक थियो त्यो ठाउँ। यसैबीच ०७० सालमा अन्नपूर्ण चिनीमिल धनकौलीमा आयो।

गाउँमै चिनीमिल आएपछि किसानमा उत्साह थपियो,उत्पादन बढाए। तर अपशोच !सुरुकै वर्षदेखि मिलले भुक्तानीमा कन्जुस्याइँ ग-यो। अन्नपूर्ण आएकोे दुई वर्षपछि पाँच किलोमिटरको दुरीमा कपिलवस्तुको महालक्ष्मी सुगरमिलसरेर आयो। अन्नपूर्णबाट तर्सिएका किसान बगदहमा खुलेको महालक्ष्मीतिर तानिए। महालक्ष्मीले पनि सुरुदेखि नै अन्नपूर्णको पारा देखायो।

धनकौलीका किसान अजयकुमार सिंहले पोहोरदेखि उखु खेती नै गर्न छाडे। चार बिघामा उखु खेती गर्दै आएका उनलाई चिनीमिलले तीन वर्षमा डेढ लाख रुपैयाँ रोकी दियो। ‘एक लाख ऋण खोजेर उखु रोप्यो, वर्ष दिनभन्दा बढी बाली कु-यो,अनि मिलले तीन वर्ष झुलाएपछि के खेती गर्नु ?’ उनले भने, ‘मूलधनभन्दा बढी ब्याजै पुग्छ, त्योभन्दा खेती नै नगर्नु उचित ठानेर छाडें।’ उनले अहिले तीन बिघामा बेसार, बाँकीमा दाल र तोरी खेती गरेका छन्। उनले भने, ‘विकल्पमा अरु नगदेबाली पनि छन्,जानी–जानी किन उखुमा फस्नु ?’

उनले उखु किसानलाई बिचौलियाले वर्षौंदेखि दुःख दिँदै आएको गुनासो गरे। मिलले तत्काल नदिएपछि किसानले सस्तैमा बिचौलियालाई उखु दिन्छन्। ‘जसले चार कट्ठामा उखुखेती गर्दैन उसको हजारौं क्विन्टल उखुको पुर्जी हुन्छ,’ सिंहले भने ‘घरखर्च, बिहेवारी अड्किएका वास्तविक किसानले तीन सय ५० देखि चार सय रुपैयाँसम्म मात्र पाउँछन्।’ यता मिल मालिकले पैसा नदिने अर्कोतिर साहुले नकुर्ने ! ब्याज थपिँदै जाने अवस्था आयो।

उखु किसानले काठमाडौंमा गरेको आन्दोलनमा भेटिएका उनी प्रश्न गर्छन्– एउटा सामान्य किसानको पैसा ६ वर्षसम्म रोकिँदा स्थिति के होला ? जति यहाँ देख्नुभयो त्योभन्दा दर्दनाक अवस्था गाउँमा छ। पाँच बिघामा उखुखेती गर्ने धनकौलीकै महाराज रायको पनि यस वर्ष १० कट्ठामा मात्र छ। उनले पोहोर–परारपाँच बिघामा उखुखेती गर्थे। अन्नपूर्णबाट एक लाख उठाउन बाँकी रहेका उनले भने, ‘पैसै नउठ्ने उखुमा भन्दा दाल र तोरीमा राम्रो आम्दानी रहेछ।’

उखु उत्पादनको पकेट क्षेत्र मानिएका तराईका १४ जिल्लामै यसको उत्पादन घटिरहेको छ। कपिलवस्तुमा रहेको एकमात्र चिनीमिल सर्लाही सरेपछि त्यहाँ सक्खरलाई लक्ष्य गरेर थोरैमात्र उखुखेती हुने गरेको किसानबताउँछन्। रुपन्देही र नवलपरासी लक्षित नवलपरासीका तीन चिनीमिलमध्ये लुम्बिनी चिनीमिल बन्द हुनु र भुक्तानी लगायत कारण पनि त्यस क्षेत्रको उखु उत्पादन यस वर्ष विगतको तुलनामा २५ प्रतिशतले घट्ने अनुमान उखु उत्पादक महासंघको छ।

महासंघका अध्यक्ष कपिलमुनि मैनाली पोहोरभन्दा यो वर्ष २० प्रतिशतले उखु उत्पादन कम भएको अनुमान लगाउँछन्। पोहोर दुई करोड ३० लाख क्विन्टल उखु उत्पादन भएको थियो,यो वर्षको क्रसिङ भर्खर सुरु भएको छ,’ उनले भने, ‘हाम्रो अध्ययनले यस वर्ष एक करोड ८० लाख क्विन्टल हाराहारी उत्पादन भएको देखिन्छ।’ सर्लाही, रौतहट आसपासका जिल्लामा समयमै भुक्तानी नहुने र उचित मूल्य नपाएकै कारण उत्पादन घटेको अध्यक्ष मैनालीको तर्क छ।

‘किसानले तीन वर्षदेखिको भुक्तानीका लागि काठमाडौं गएर आन्दोलन गर्नुपरेको छ। अर्कोतिर सरकारले मूल्य दिन कन्जुस्याइँ गर्छ,’ उनले भने, ‘मंसिरबाट सुरु हुनुपर्ने क्रसिङ सरकारले मूल्य निर्धारण नगर्दा बल्ल सुरु हुँदैछ। तीन वर्षअगाडिकै मूल्य कायम गर्ने भएपछि किसानलाई किन झुलाएर राख्नु ?’ सरकारले तोकेको समर्थन मूल्यले समयअनुसार किसानको लागतसमेट्न नसकेको मैनाली बताउँछन्। एकातिर सरकारले मूल्य कम तोक्ने अर्कोतिर बिचौलियको फन्दामा पर्नुपर्ने दोहोरो चेपुवामा किसान परेको उनी बताउँछन्।

सरकारले समयमै भुक्तानी पाउने भनेर किसानसँग सम्झौता गर्दा मिल मालिकले उद्योग चलाउन सक्दैनौं भनेर बन्द गर्ने धम्की दिइरहेको उनको भनाइ छ। ‘चिनी उत्पादन गर्छौं भनेर प्रक्रियाबाट आएका मिल मालिकलाई बन्द गर्छौं भन्ने हिम्मत कहाँबाट आयो ?’ उनले भने, ‘उद्योगीलाई यति छाडा बनाएर सरकार आफैं बस्छ भने किसानले के गर्न सक्छ ?’ अध्यक्ष मैनाली किसान र सरकारबीचको सम्झौताले त्यत्ति अर्थ नराख्ने तर्क गर्छन्। उनी भन्छन्, ‘सरकार,उद्योगी र किसान सँगै हुनुपर्नेमा झारा टार्ने काम भयो।’

सरकारले चिनी आयात नरोकेको कारण गाह्रो भयो भन्दै मिलले टार्ने, साल्ट ट्रेडिङ जस्ता संयन्त्र भएको सरकार भारतबाट चिनी ओसार्न लाग्दा त्यसको मार किसानमाथि परेको उनको तर्क छ। ‘भएका चिनीमिल पूर्ण क्षमतामा चलेका छैनन्। बजार राम्रो छ। मूल्य राम्रो पाए किसानले उखु उत्पादन नगर्ने भन्ने कुरा आउन्न,’ मैनाली भन्छन्, ‘उखुमाथि राजनीति भयो। किसानले विकल्प खोज्नु अनौठो भएन।’

उखु उत्पादन कम भएको परिणाम यस वर्ष चिनी उत्पादनमा देखिनेछ। चिनी उत्पादक संघको तथ्यांक अनुसार पोहोर एक लाख ८४ हजार क्विन्टल चिनी उत्पादन भएको थियो। अहिले २० प्रतिशतले कमी आउने संघको अनुमान छ। हरेक तीन वर्षको अन्तिम वर्षमा उखु उत्पादन कम हुनेसंघको भनाइ छ।

प्रकाशित: २३ पुस २०७६ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App