१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

कर्णाली नदी नियन्त्रण आयोजनामा बजेट अभाव

नदीको धारले भत्काएकोे तटबन्ध। तस्बिर ः निर्मल/नागरिक

बर्दिया - सरकारको महत्वाकांक्षी आयोजनाअन्तर्गतको कर्णाली नदी नियन्त्रणको काम कछुवा गतिमा अघि बढिरहेको छ। भत्किएका नयाँ तथा पुराना तटबन्धका संरचना बन्न नसक्दा कर्णाली नदी नियन्त्रणको कामले गति लिन नसकेको हो।

पुराना संरचना मर्मत–सम्भारका लागि ७५ करोड बजेट प्रस्ताव गरिएको कर्णाली नदी नियन्त्रण आयोजनामा अर्थ मन्त्रालयले बजेट नदिँदा काम अघि बढन नसकेको आयोजना प्रमुख केदार श्रेष्ठले बताए। तटबन्ध पुनर्निर्माणका लागि विनियोजित तीन करोड बजेट अपुग भएको उनले जानकारी दिए। ‘संवेदनशील क्षेत्रमा तटबन्ध भत्किँदा नदी बस्तीतर्फ पस्ने खतरा बढेको छ,’ उनले भने, ‘बजेट अभाव हुँदा नयाँ र पुराना संरचना बन्न सकेको छैन।’ नियमित बजेटले पुनर्निर्माण गर्न नमिल्दा समस्या भइरहेको उनले बताए।

‘कर्णाली नदीका दुईवटा भंगाला छन्, राजापुर क्षेत्रको भंगालोमा ८० र पूर्वतर्फ २० प्रतिशत पानी बगेको छ,’ उनले भने। नदीले धार फेर्दा तटबन्ध भत्किने क्रम चलिरहेको छ। उनका अनुसार २२ ठेक्कामध्ये १५ वटा सम्पन्न भइसकेका छन् भने सातवटाको काम अलपत्र अवस्थामा छ। अन्य ठेक्का बजेट अभावले रोकिएको छ।

आयोजनाले आर्थिक वर्ष ०७१/७२ र ०७२/७३ मा एक अर्बको तटबन्ध निर्माण गरिएको थियो। यस्तै, आव ०७३/७४ मा २६ करोड ५३ लाख, ०७४/७५ मा ३४ करोड २१ लाख, ०७५/७६ मा २५ करोड ९५ लाख र ०७६/७७ मा १४ करोड तटबन्धमा खर्च भइसकेको रेर्कडमा देखिन्छ। पाँच वर्ष अवधिमा एक अर्ब ४५ लाख खर्च भइसकेको छ तर पुराना संरचना भत्किँदै गएका छन् भने नयाँ संरचनाको काम कुछुवा गतिमा अघि बढेको छ। पाँच वर्षभित्रमा ७१ किलोमिटर तटबन्ध गर्न स्थापना भएको आयोजनाले १८ किलोमिटर तटबन्ध निर्माण गरेको छ। त्यसमध्ये अधिकांश तटबन्ध क्षतिग्रस्त अवस्थामा छन्।

प्राविधिकका अनुसार लन्चिङमा बालुवा थुप्रिएपछि नदीको बहाव अर्को तर्फ मोड्ने गरी तटबन्ध निर्माण गरिएको हुन्छ। तर, धार फेरेको कर्णाली नदीले लन्चिङ नै बगाएपछि स्पट, स्पर र ड्याम बगाउन सहज भइरहेको छ। निर्माण सम्पन्न भएका तटबन्ध भत्किन थालेपछि राजापुर क्षेत्र बाढीको जोखिममा परेको छ।

पाँच वर्षमा ७१ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्यका साथ ०७१ मा फागुनमा कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना स्थापना भएको हो। देशकै अन्न भण्डारका रूपमा परिचित राजापुरलाई सुरक्षित गर्ने उद्देश्यले आयोजनाले काम थालेको हो। १५ मिटर लचिङ ६ फिट अग्लो स्पट र १४ मिटर स्पर र ड्यामसहित कर्णाली नदी नियन्त्रण आयोजनाले तटबन्ध गरेको छ।

बहुउद्देश्यीय आयोजनाले कर्णाली नदीमा देखिने डल्फिनको आकर्षण र ¥याफटिङ सम्भाावनाले पर्यटकीय मार्ग विकास गर्ने लक्ष्य राखेको थियो। कर्णाली नदी नियन्त्रणको गुरुयोजनामा ११ अर्ब लागनीमा ७१ किलोमिटर तटबन्ध पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य हो। आयोजनाले धमाधम तटबन्ध निर्माण सुरु गरेपछि खुसी भएका स्थानीय यतिखेर निराश छन्।

आयोजनाले निर्माण गरेको तटबन्ध भत्किन थालेको छ। ‘राजापुर क्षेत्रको सुरक्षाका लागि स्थापित आयोजना हो,’ एक स्थानीयले भने, ‘तर, निर्माण सम्पन्न भइसकेका तटबन्ध भत्किँदा यस क्षेत्रको भविष्य चिन्ताजनक बनेको छ।’

बाढीले क्षति पु¥याउने क्षेत्र वनघुस्रामा एक हजार पाँच सय ५० मिटर, सनकट्टीमा दुई सय मिटर, मुर्गहवामा एक हजार तीन सय मिटर, पत्भरबोझीमा पाँच सय मिटर र गुप्तीपुरमा पाँच सय मिटर पक्की तटबन्धन भत्किएको छ।

प्रकाशित: २१ पुस २०७६ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App