काठमाडौं – चौधरी गु्रपको विदेशी कम्पनी सिजी कर्प ग्लोबलले संयुक्त अरब इमिरेट्स (युएई) मा बनाएकोे पाँचतारे होटल ‘ताज जुमिरा लेक टावर्स’मा नेपाली झन्डा फहराएको छ। अर्बपति विनोद चौधरीका गैरआवासीय छोराले खोलेको सिजी कर्प ग्लोबलले युएईमा नेपालको राष्ट्रिय झन्डा फहराएको हो। होटल उद्घाटनमा सुरुमा युएई र भारतीय त्यसपछि नेपाली झन्डा फहराइएको हो।
सिजी कर्प ग्लोबलका अनुसार अब सिजी हस्पिटालिटीले विश्वका जुनसुकै मुलुकमा स्थापना गर्ने होटलमा चन्द्र र सूर्य अंकित झन्डा फहराउनेछ। दुबईबाहेक कजाकस्तानमा स्थापित वाइवाईको प्लान्टमा पनि नेपालको झन्डा फहराइएको छ।
‘नेपाललाई विश्व बजारमा स्थापित गर्ने हाम्रो प्रयासलाई यसले ठूलो आडभरोसा दिनेछ। समृद्ध मुलुकको आलिशान होटलमा नेपालको झन्डा फहराएको देख्दा नेपालीको मन गर्वले फुल्नेछ,’ चौधरीले भने, ‘विश्वभर खुल्ने हाम्रा होटलमा यस्ता दृश्य देखिनेछन्।’
ताज जुमिरा लेक टावर्स’मा लगानी गरेसँगै सिजी हस्पिटालिटीले मध्यपूर्व, युरोप र अफ्रिकी बजारलाई केन्द्रमा राखेर लगानी अगाडि बढाएको बताइएको छ। काठमाडौंमा मुख्य कार्यालय रहेको ‘सिजी कर्प ग्लोबल’ले विश्वका २० मुलुकमा व्यावसायिक उपस्थिति जनाइसकेको छ। सन् २००१ मा सिजी कर्प ग्लोबलले श्रीलंकाको ताज समुद्र र माल्दिभ्सका अन्य दुई ताज होटलमा लगानी गरेपछि सिजी हस्पिटालिटीको यात्रा सुरु भएको थियो।
विनोदका छोरा राहुल चौधरीले सन् २००६ देखि सिजी कर्प ग्लोबल र सिजी हस्पिटालिटीको जिम्मेवारी सम्हाल्दै आएका छन्। यो कम्पनीले विश्वका ११ मुलुक र ८७ गन्तव्यमा एक सय ३० होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ। दुई सय होटल सञ्चालनको लक्ष्य भेटाउने योजनामा कम्पनी अगाडि बढिरहेको विज्ञप्तिमा छ।
प्रकाशित: २१ पुस २०७६ ०२:२८ सोमबार