१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

निगमका सबै वाई–१२ जहाज ग्राउन्डेड

काठमाडौं - नेपाल वायुसेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण चीनबाट ल्याएका वाई–१२ सिरिजका चारवटै जहाज ग्राउन्डेड भएका छन्। व्यवस्थापन पक्षले जनशक्ति अभावमा विमान ग्राउन्डेड भएको बताउँदै आए पनि यो सत्य भने होइन। पाइलट अभाव भएको भनिएका निगमका जहाजमा क्रमशः विभिन्न समस्या देखिँदै आएपछि ग्राउन्डेड गरिएका हुन्। ‘सुरुमा चिनियाँ जहाज चलाउन पाइलट अभाव भएको सत्य हो। पछिल्लो समय विमानमा धेरै समस्या देखिएका कारण उडान बन्द गर्नुपरेको हो,’ निगमका एक उच्च अधिकारीले भने, ‘सुरुमै चिनियाँ विमान ल्याउन नहुने भनिएको थियो। तर व्यवस्थापनमा बस्ने व्यक्तिहरू र सरकारको दबाबमा ल्याउनुपरेको हो।’

ती अधिकारीका अनुसार छिमेकी मुलुक चीनले पनि केही विमान अनुदानमा दिएको देखाएर नेपाललाई थप जहाज किन्न दबाब दिएको थियो। चारवटा चिनियाँ विमानमध्ये पछिल्लो समय एउटा मात्र वाई–१२ ले उडान भरिरहेको थियो। त्यो पनि गत पुस ६ गतेबाट बन्द भएको छ। पुस ६ मा दाङबाट काठमाडौं आएको यो विमानमा पनि समस्या देखिएपछि ग्राउन्डेड भएको हो। ‘उडिरहेको वाई–१२ जहाजमा पनि समस्या देखिएको छ,’ निगमका पाइलट केबी लिम्बुले भने, ‘अहिले जहाज ग्राउन्डेड गरिएको छ।’

निगमसँग चारवटा वाई–१२ जहाज भए पनि पछिल्लो समय एउटामात्रै उडिरहेको थियो। उक्त विमानमा पनि समस्या देखिएपछि एक हप्तादेखि ह्यांगरमा ग्राउन्डेड अवस्थामा रहेको इन्जिनियरिङ विभागसम्बद्ध स्रोतले जानकारी गराएको छ। ‘निगमसँग रहेका चारवटा वाई–१२ र दुईवटा एमए ६० जहाजमध्ये एक एमए ६० समेत गरी दुईवटाले आन्तरिकतर्फको उडान भरिरहेका थिए,’ नागरिकसँग निगमका एक इन्जिनियरले भने, ‘२२ डिसेम्बरबाट त सबै वाई–१२ जहाजको उडान बन्द भएको छ।’

सेफ्टीका कारण सबै जहाज ग्राउन्डेड भएको उनले जानकारी दिए। चीनबाट जहाज निर्माण कम्पनीको डिजाइन टोली जाँचबुझका लागि आउन लागेको उनको भनाइ छ। पहिलेदेखि नै ग्राउन्डेड अवस्थामा रहेका विमानका पार्टपुर्जा भने उपलब्ध रहेको ती अधिकारीले बताए। ‘पार्टस उपलब्ध छन् तर मर्मत भएका पार्टपुर्जालाई स्वीकार गरिसकेको अवस्था छैन।’

मर्मत भएका जहाजका पार्टपुर्जा प्रयोगबारे नागरिक उडड्यन प्राधिकरणसँग छलफल भइरहेको उनले जानकारी दिए।निगमको एयरबस क्याप्टेन दिपु ज्वारचनले पनि सञ्चालनमा रहेको वाई–१२ जहाजमा समस्या देखिएको जानकारी दिए। ‘विमान उडाउने आधारमा नै समस्या देखिएको छ,’ उनले भने, ‘जहाजमा समस्या देखिएपछि हाललाई ग्राउन्डेड गरिएको र बीचमा अंग्रेजी नयाँ वर्ष भएकाले चीनबाट कम्पनीको आधिकारिक टोली आउन केही समय लागेको हो। अबको दुई–चार दिनमा आउलान् कि !’

१९ सिट क्षमताको चारवटा वाई–१२ विमान र ५८ सिट क्षमताको एमए–६० एक विमान हाल ग्राउन्डेड छन्। वाई–१२ को क्षमता १९ सिटको भए पनि तापक्रमका कारण पूर्ण क्षमतामा उडाउन भने नमिल्ने निगमका सहप्रवक्ता सुलेख मिश्रको भनाइ छ। उनका अनुसार नेपालको परिवेशमा १२ जनाभन्दा बढी यात्रु उक्त विमानमा उडाउन समस्या हुन्छ।
हाल निगमसँग एकेएस, एकेटी, एकेयु र एकेभी नेपाली कलसाइन भएका चारवटा वाई–१२ जहाज छन्।

प्रकाशित: २० पुस २०७६ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App