५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

राष्ट्रिय भवन संहिता परिमार्जन

काठमाडौं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सक्रियतामा राष्ट्रिय भवन संहिता  परिमार्जन भएको छ। सहरी विकास मन्त्रालयका सचिव नेतृत्वको भवन निर्माण व्यवस्था सुदृढीकरण समितिको बुधबार बसेको बैठकले परिमार्जित संहिता पारित गरेको हो।

२०७२ बैशाखमा गएका भूकम्प र परकम्पहरुका कारण निजी तथा सार्वजनिक भवनहरुमा ठूलो क्षति पुगेपछि भूकम्पीय जोखिमको विश्लेषण गरी राष्ट्रिय भवन संहिता १०५ परिमार्जन गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो। प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन)ले यस सम्बन्धमा काम गरेको हो।

संहिता परिमार्जन भएसँगै अब नेपालको आफ्नै मौलक भवन संहिता निर्माण भएको छ। यसअघि राष्ट्रिय भवन संहिता भारतीयलगायतका भवन संहितामा आधारित थियो। अब परिमार्जित सहिंताअनुसार डिजाइन निर्दे्शिकाहरु बन्नेछन् जसमा आधारित भएर मात्र भवनका डिजाइन तथा निर्माण गर्नुपर्नेछ।

केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलले नेपालको भूकम्पीय जोखिम, यहाँको भौगालिक तथा माटोको अवस्था आदिलाई पर्याप्त ध्यान दिएर संहिता परिमार्जन गरिएको जानकारी दिए। ‘यो पूर्णतः नेपालमा रहेको भूकम्पीय जोखिमको विश्लेषण गरेर तयार गरिएको भवन सहिंता हो। हामीले भूकम्पपछिको पुनर्निर्माणका क्रममा बलियो संरचना पुनर्निर्माण मात्र गरेका छैनौं, त्यसको संहिता पनि परिमार्जन गरेका छौं।’

केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन) ले २०७४ मंसिरबाट परिमार्जन कार्य सुरु गरेको हो। त्यसक्रममा भवन निर्माणसम्बन्धी सबै सरोकारवाला संघसंस्था एवं निकाय, विश्वविद्यालय तथा कलेजहरु, खानी तथा भूगर्भ विभागलगायतसँग बृहत अन्तरक्रिया तथा कार्यशालाहरु गरिएको आयोजना निर्देशक प्याकुरेलले जानकारी दिए।

संहिता परिमार्जनका क्रममा ‘भूकम्पीय जोखिम नक्सा पनि तयार गरिएको छ। संहिताले साना भवनदेखि ठूलासम्म र सार्वजनिकदेखि निजी भवनसम्मलाई समेट्नेछ। संहिता परिमार्जनका लागि सहरी विकास मन्त्रालयको भवन आवास महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति गठन भएको थियो। त्यसैगरी, सहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशकको नेतृत्वमा सात सदस्यीय कार्यकारिणी समिति गठन गरिएको थियो।

प्रकाशित: १८ पुस २०७६ ०२:१५ शुक्रबार

राष्ट्रिय_भवन संहिता