१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

भोटेकोसीले थाल्यो व्यवसायीक उत्पादन

पुनर्निर्माण गरिएको भोटेकोसी जलविद्युत आयोजनाको बाँध। तस्बिर : ध्रुव दंगाल

सिन्धुपाल्चोक- पुनर्निर्माणसँगै सञ्चालनमा आएको निजी क्षेत्रको सबैभन्दा ठूलो ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन थालेको छ। भोटेकोसी पावर कम्पनीको स्वामित्वमा रहेको यो आयोजनाले दुई साताको परीक्षण प्रशारण समायावधि पूरा गरेपछि व्यवसायिक उत्पादन थालेको हो।

                कम्पनीका महाप्रवन्धक बिक्रमरत्न स्थापितले आयोजनाबाट दैनिक २२–२५ मेगावाट विद्युत उत्पादन भइरहेको बताए। ‘१५ दिनको परीक्षण प्रशारणपछि आयोजना औपचारिक रुपमा व्यवसायिक उत्पादनमा गयो,’ उनले नागरिकसँग  भने। भोटेकोसीको बहाब घट्ने हिउँदको समय भएकाले आयोजनाले पूर्णक्षमताको आधा मात्रै विद्युत उत्पादन गरिरहेको उनले बताए। सोही कारण दैनिक उत्पादन घटबड भइरहेको महाप्रवन्धक स्थापितको भनाई छ।

                २०७३ असार २१ गतेको भोटेकोसी बाढीले क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण गत महिना सम्पन्न भएको थियो। झण्डै २० महिना लगाएर सञ्चालनमा आएको आयोजनाले मंसिर २१ गतेदेखि परीक्षण प्रशारण थालेको थियो। आयोजना निर्माणपछि १५ दिन परीक्षण उत्पादन गर्नु पर्ने प्रवाधान छ। उत्पादित विद्युत आयोजनाको आफ्नै ट्रान्समिसन लाइनमार्फत लामोसाँघुस्थित सरकारी स्वामित्वको सुनकोसी जलबिद्युत आयोजनाबाट राष्ट्रिय प्रशारणमा जोडिएको छ।

                चिनियाँ कम्पनी सिनो हाइड्रो ११ ब्यूरोले द्रुतमार्गबाट आयोजना पुनर्निर्माण सम्पन्न गरेको थियो। पुनिर्निर्माण सकिएपछि आयोजनाले दुई साता लगाएर संरचना र मेशिनरी उपकरणको आन्तरिक परीक्षण गरेको थियो भने विद्युत प्राधिकरणले समेत उपकरण परीक्षण सकाएपछि आयोजनाले उत्पादन अनुमति पाएको थियो।

                आयोजनाका साढे २२ मेगावट क्षमता दरका दुईवटै युनिट र अरु मेशिनरी उपकरणले राम्रो काम गरिररहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार चैतदेखि नदी सतह बढ्न थालसँगै विद्युत थपिँदै जाने र असारदेखि पूर्ण क्षमतामा उत्पादन हुने छ। तिब्बती हिमताल फुटेर आएको भोटेकोसी बाढीले प्रारम्भदेखि नै पुनर्निर्माण गर्नुपर्ने गरी आयोजना क्षतिग्रस्त बनाएको थियो।  

                ठेक्का र आयोजनाको समग्र पुनर्निर्माणमा सात अर्व रुपैयाँ खर्च भएको कम्पनीका प्रवन्धक बबिन प्रधानले जानकारी दिए। पुनर्निर्माणमा खर्च भएको रकम नयाँ आयोजना बनाएसरहकै लागत भएको उनले बताए। पुनर्निर्माणका क्रममा कम्पनीले आयोजनाको सबै इलेक्ट्रोनिक्स सामान नयाँ फेरेको छ। २०७२ वैशाख १२ को भूकम्पले आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो।

                भूकम्पबाट आयोजनाले तीन अर्व रुपैयाँको भौतिक नोक्सानी बेहोरेको थियो। २५ मिलियन अमेरिकी डलरमा आयोजना मर्मत ८० प्रतिशत सकिँदा बाढी निम्तिएको थियो। कम्पनीका अनुसार पटक–पटकको प्राकृतिक प्रकोपले सुरु लगानी मूल्यको ६० प्रतिशतभन्दा बढी लागत आयोजनाले नोक्सानी बेहोर्नु परेको छ। बाढीअघि आयोजनाको कुल मूल्य ९८ मिलियन अमेरिकी डलर (झण्डै १० अर्व रुपैयाँ) थियो। पुनर्निर्माणपछि आयोजनाको कुल मूल्य १७ अर्व रुपैयाँ पुगेको छ।

                यसअघि २०७१ साउन १७ को जुरे पहिरोले ट्रान्समिसन लाइन बगाउँदा आयोजनाको उत्पादन ६ महिना रोकिएको थियो। लगातार पाँच वर्षदेखि आयोजना बन्द हुँदा कम्पनीले वार्षिक २२–२४ मिलियन अमेरिकी डलर बिद्युत महसुल नोक्सानी बेहोर्‍यो। भोटेकोसी गाउँपालिकाको तातोपानी र फूल्पिङकट्टीमा रहेको आयोजनाले सुरुका १० वर्ष ३६ मेगावाट विद्युत उत्पादन गर्दै आएको थियो। आयोजना सन् २०११ मा विद्युत खरिद सम्झौता (पिपिएं) पछि ४५ मेगावाट क्षमतामा गएको थियो।

 

 

 

प्रकाशित: ८ पुस २०७६ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App