काठमाडाैं – परापूर्वकालमा बहिनी यमुनाको घरमा मृत्युका राजा मानिने दाजु यमराज पाँच दिनसम्म अतिथि बनेर बसे। पाँच दिनको अन्तिम बसाइको दिन बहिनी यमुनाले दाजु यमराजको पूजा गरिन् मृत्युदेव यमराजले प्रसन्न भई आरोग्य र दीर्घजीवनको आशिर्वाद दिए। धार्मिक रूपमा तिनै पाँच दिनलाई यमपञ्चक र यमपञ्चकको अन्तिम दिन दिदीबहिनीले दाजुभाइसँग प्रेम साटासाट गर्ने दिनको रूपमा भाइटीकाको चलन चलेको मान्न सकिन्छ।
भाइटीकाको सन्दर्भमा संस्कृतविद् राजेन्द्रकुमार आचार्यले एउटा कथन सुनाए। परापूर्वकालमा दिदीको घरमा भाइ भेट्न गइरहेको बेला बाटोमा जमाजिते (शत्रु) भेटियो, उसले भाइलाई त्यहीँ खान्छु भनिसकेपछि भाइले आफू एकपटक दिदीलाई भेटेर आउने र आएपछि खानू भनेर बिदा भए। दिदीको घरमा पुगेपछि दिदीले भाइको पूजा गरिन्। तेलको घेरो लगाएर शत्रु नाश होस् भनी ओखर फुटाइन् र भाइलाई सगुन खुवाइन्। भाइ फर्कंदा उसलाई खान्छु भनेको जमाजिते नाश भएको थियो।
संस्कृतविद् आचार्य दिदीबहिनीले दाजुभाइको सुरक्षा कवजको रूपमा फुटाउने ओखर र त्यही सगुन अहिलेसम्म पनि भाइमसलाको भनेर प्रयोग भइरहेको बताउँछन्। ‘पहिलेपहिले फर्सीका बियाँ, ओखर, अन्य मसला घिउमा भुटेर चिनी, महमा साँधेर बनाएको भाइमसला दिदीबहिनीले दाजुभाइलाई खुवाउने चलन थियो,’ आचार्यले भने, ‘अहिले धेरै थरी भाइमसला बजारमा आउन थाले। तर जे भए पनि त्यसको धार्मिक र परम्परागत महत्व एउटै हो।’
परम्परा र संस्कृति बोकेको भाइमसला र मिठाइको बजार तिहारको समयमा अत्यधिक बढ्ने गरेको छ। असनमा तिहारका सामान किन्न पुगेकी रामेछापकी यमुना योञ्जन बाटोमा बिक्रीका लागि राखेका भाइमसलामा आँखा डुलाउँदै थिइन्। ‘यो पालि गएको सालमा भन्दा बढी महँगो लाग्यो,’ फरकफरक आकारमा प्याकिङ गरिएका भाइमसलाको मूल्य बुझ्दै गरेकी उनले भनिन्, ‘त्यही पनि खुला लैजानुभन्दा प्याकिङको लैजाँदा सजिलो र सस्तो।’
२० वर्षदेखि तिहारको समयमा माला र मसला बेच्दै आएको बताउने धादिङका शुभराज पाण्डेले गत वर्षको तुलनामा प्याकिङ अनुसार सानोदेखि ठूलोसम्म २० देखि ५० रूपैयाँसम्म मूल्य बढी भएको बताए। काजु, किसमिस, बदाम, पेस्ता, नरिवल, ओखर, चकलेट लगायतका मसला राखिने भाइमसलाको प्याक बजारमा १० देखि चार हजारसम्मका छन्। तीमध्ये सडक र खुला बजारमा केही सस्तो ८० देखि चार सयसम्म र ठूला पसल र सपिङ कम्प्लेक्समा त्यसभन्दा महँगासमेत राखिएका छन्। देशभर १६ स्थानमा आफ्नो व्यापारिक सञ्जाल भएको भाटभटेनी सुपर मार्केट नक्साल मुख्य कार्यालयकी म्यानेजर रमिता महर्जन भाटभटेनीका हरेक शाखामा तिहारको समयमा पाँच सयभन्दा बढी प्याकेटका दरले भाइमसला बिक्री हुने बताउँछिन्।
उनका अनुसार भाटभटेनीका सपिङ सेन्टरहरूमा चार सयदेखि १९ सयसम्म पर्ने भाइमसलाका प्याकेट छन्। सुन्धारामा रहेको गुलाव स्विट्सले तिहारलाई लक्षित गरेर सात सयदेखि चार हजारसम्मका प्याकिंग बिक्री गरिरहेको छ। गुलावले सामान्य प्लास्टिक फ्रेमिङदेखि आर्कषक मेटल फ्रेमसम्म प्रयोग गरेको छ। ‘यति नै परिमाणमा बिक्री हुने भन्ने यकिन नभए पनि हामीले अधिकांश सपिङ सेन्टर र पसलमा पठाउने हुनाले बिक्री राम्रो हुन्छ,’ गत वर्षको अनुभव साट्दै स्विट्सका कर्मचारी प्रताप बोहोराले भने, ‘भाइमसला मात्र हैन तिहारको समयमा अन्य मिठाइ तथा चकलेट पनि सातदेखि आठ करोडको बिक्री हुन्छ।’
नेपाल खुद्रा व्यवसायी महासंघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्य तिहारको समयमा भाइमसाला खुद्रा व्यवसायीले राम्रो व्यापार गर्ने बताउँछन्। उनले विगतमा जस्तै यस वर्ष पनि यसको बिक्री उच्च रहेको बताए। ‘यो सिजनल व्यवसाय हो, कतिपयले यसकै व्यापार मात्र पनि गरिरहेका हुन्छन्,’ बज्राचार्यले भने, ‘अहिले पहिले जस्तो खुला जोखेर बिक्रीभन्दा पनि प्याकिङ गरेर बिक्री गरिने हुनाले सबैतिर बेचबिखन सम्भव भएको छ।’ बज्राचार्यले भाइमसलाको गत वर्षको तुलनामा केही महँगो भए पनि मूल्य तिहारमा नभएर अगाडिदेखि नै महँगो भएको बताए। ‘यो बढी आउने भारतबाट हो, केही अरेबियन मुलुकबाट पनि आउँछ, आयातकर्ताले उतैबाट महँगोमा आयो भनेर मूल्य बढाएका हुन्छन्,’ बज्राचार्यले भने, ‘मूल्य नियन्त्रणलाई सरकारले निगरानी गर्न सक्नुप-यो।’
बज्राचार्यका अनुसार भारतबाट आयातकर्ताले थोक बिक्रेतालाई दिन्छन्। अन्य व्यवसायीले थोक बिक्रेताबाट लिएर बिक्री वितरण गर्छन्। यसकै बीचमा त्यसलाई आकर्षक बनाउन प्याकेजिङको काम समेत हुन्छ। तिहार अगाडिका तीनदेखि चार दिन अधिक बिक्री हुने भाइमसला बाँकी रहे अर्कोे वर्षमा गुणस्तर कम हुने सम्भावना हुन्छ। बज्राचार्य गत वर्षकै प्याकिङ बिक्री हुने सम्भावना स्वीकार्छन्। उनी भन्छन्, ‘हामी निरन्तर पसल गरेर बस्नेबाट त्यो काम हुन सक्दैन किनकि त्यस्तो अवस्थामा हाम्रो साख गिर्ने र तत्काल कम्प्लेन सुन्नुपर्ने हुन्छ, तर बाटोमा बिक्री गर्ने (सिजनल बिक्रेता) ले त्यसो गर्न सक्छन्।’
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षका तीन महिनामा दुई अर्ब बराबरको भाइमसलामा प्रयोग हुने वस्तु आयात भएको छ। तथ्यांक अनुसार गत वर्ष यो समयमा ८८ करोड बराबरको आयात भएको थियो। भाइमसलामा प्रयोग हुनु वस्तु नरिवल, काजु, किसमिस, ओखर, कटुस, पेस्ता जस्ता वस्तु अन्य समयमा पनि माग बढी हुने व्यवसायी बताउँछन्।
प्रकाशित: ११ कार्तिक २०७६ ०५:३२ सोमबार