धादिङ - उत्तरी धादिङको रुविभ्यालीका अधिंकाश किसानको मुख्य पेसा चौरीपालन हो। पुर्खौंदेखि एउटै किसानले १० देखि ४०–५० वटासम्म चौरी पाल्दै आएका छन्। चौरीपालन तिप्लिङबासीको परम्परागत पेसा जस्तै बनेको छ। उब्जनी नहुने र रोजगारीको अन्य माध्यम नभएपछि पुस्तौंदेखि यसै पेसालाई निरन्तरता दिइरहेका छन्। यसले एकातिर धेरैलाई रोजगारी दिएको छ भने अर्कोतिर आर्थिक रुपमा सबल पनि बनाएको छ।
रुविभ्यालीको पाङसाङमा दुग्ध डेरी उद्योग सञ्चालनमा रहेको छ। उद्योगमा हरेक दिन चौरीको दूध संकलन गरिने गर्छ। जसबाट नौनी, छुर्पी, चिज बनाएर बजार पठाउने गर्छ। उद्योगमा अहिले आधुनिक प्रविधिको मेसिन ल्याइएको छ, जसले गर्दा दूधबाट बनाएका वस्तुहरु खेर नजाने र समयको पनि बचत हुने गरेको डेरीका सञ्चालक दिनेश घलेले बताए। ‘पहिले मेसिन नहुँदा दूधबाट बनाएका सामान चाँडैनै बिग्रने गथ्र्यो,’ उनले भने, ‘अहिले आधुनिक मेसिन पाएका छौं। समयको पनि बचत हुनाका साथै आम्दानी पनि लिन सकेका छौं, दैनिक दुई सय लिटर दूध संकलन हुन्छ।’
दिनेशले आफैंको पनि गोठमा ३५ वटा चौरीहरु छन्। छरछिमेकी सबैले चौरी पाल्ने भएका कारण आफू पनि यहि पेशामा आबद्ध भएको घलेले बताए। ‘अरु आम्दानीको स्रोत छैन, सजिलो हुने भएका कारण चौरी पालिरहेका छौँ’, उनले भने, ‘चौरीले बिहान र बेलुका दूध दिने गर्छ, आफ्नै उद्योग पनि छ, सजिलो भएको छ।’ चौरीलाई खर्कमा पु¥याउने, स्याहार सुसार, दानापानीका लागि घलेको परिवारका अन्य सदस्यहरुले पनि सघाउने गर्दछ।
वर्षमा नौ महिनासम्म चौरीले दूध दिने गर्छ। पहिले दूध र मोही मलखादमा पोख्ने चौरीपालकहरु उत्पादित बस्तुले बजारभाउ नपाउँदा उत्पादन गरेको वस्तुहरु त्यतिकै खेर जाने गथ्यो। अहिले त्यहाँका किसानहरुले पालेका चौरीबाट उत्पादन भएका दूध खर्कबाट राम्रो मूल्यमा बिक्रि हुन थालेपछि किसानमा आकर्षण बढेको छ। उद्योग संचालक किसानले मासिक ३ देखि ६ लाखसम्म आम्दानी गर्ने गरेका छन्।
उद्योगमा आधुनिक उपकरणको प्रयोग गरि आफ्नो उत्पादनलाई प्रतिस्पर्धी बजारमा ल्याउन थालेका छन्। यससँगै आफूले उत्पादन गरेको दुग्धजन्य बस्तु राम्रो र गुणस्तरीय भएपछि माग समेत बढेको अर्का डेरीका संचालक मानबहादुर थापाले बताए। ‘माग अनुसारको बजार भने धान्न सकेका छैनौ’, उनले भने, ‘चौरी खर्कमा नै सञ्चालन हुँदै आएका उद्योगहरुलाई सरकारले सहयोग गर्न थालेसँगै आधुनिक उपकरणको प्रयोग गर्न थालेका छौँ।’
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धादिङले यसै वर्षदेखि प्रदेश सरकारको सहयोगमा चौरीपालक किसानलाई चिज र छुर्पी लगायत दुग्धजन्य बस्तुहरुको उत्पादन गर्ने उच्च पहाडी भागमा सञ्चालित डेरी उद्योगलाई आधुनिक उपकरण प्रदान गरेको हो। उद्योर्गीहरुलाई दूधबाट मखन निकाल्ने मेसिन र छुर्पी बनाएपछि सुकाउनका लाथि आधुनिक सोलार ड्रायर वितरण गरेको हो। केही वर्षयता चौरीको दूध उत्पादनमा कमी आएसँगै छुर्पी र चिजको उत्पादन पनि घटेको थियो। वार्षिक १०÷१५ टन छुर्पी उत्पादन गर्दै आएकोमा अहिले घटेर ३÷४ टन मात्र उत्पादन हुन थालेपछि किसानहरुको जनगुनासोमा आधुनिक मेसिन प्रदान गरिएको हो। आधुनिक मेसिनले अहिले सहज भएको थापाको भनाई छ।
चौकी खर्कको संरक्षण र विकासका लागि घलेको संयोजकत्वमा खर्क उपभोक्ता समूह समेत गठन गरिएको छ। यहाँका किसानहरुले आफै मिलेर खर्कमै डेरी उद्योगहरु समेत संचालन गर्न थालेका छन्। उद्योगमा किसानहरुले प्रति लिटर दूधको ६० रुपैयामा बिक्रि गर्ने गरेका छन्। तिप्लिङमा चौरीको दूधबाट बनाइएका छुर्पी, घिउ, चिज नेपाली ठेकेदारहरुले जम्मा गरी रसुवागढी हुँदै चीनको व्यापारिक केन्द्र केरुङ, काठमाडौँ लगायतका ठाउँमा निर्यात गर्ने गर्दछ। डेरी उद्योग संचालन गर्न थालेपछि झनै चौरीपालक किसानहरुलाई राम्रो फाइदा हुन थालेको छ।
जिल्लाका उत्तरी भेकमा रहेको प्रमुख चौरीपालन पेशा प्रति आकर्षण वढाउन र चौंरी वाट आर्थिक आम्दानी गर्न चरन खर्कहरुको विकास कार्यक्रम लागु गरिएको छ। तत्कालिन जिल्ला पशु सेवा कार्यालय अन्तर्गत पशु आहार विकास कार्यक्रमले उत्तरी धादिङ तिप्लिङका परम्परागत चौंरी गोठालाहरुलाई गोठको सुधार, चरन र खर्क विकास संगै चौंरीबाट लिन सकिने आम्दानीका श्रोत बारे तालिम समेत प्रदान गरिएको थियो।
प्रकाशित: २६ आश्विन २०७६ ०३:३० आइतबार