८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

दिप्रुङमा ‘एक वडा एक दलित सहकारी’को काम सुरु

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ‘एक वडा एक दलित सहकारी’ स्थापनाको काम थालेको छ। पिछडिएका दलित समुदायमा बचत गर्ने र सो बचतलाई आम्दानीमुलक क्षेत्रमा लगानी गर्ने बानीको विकासका लागि गाउँपालिकाले ‘एक वडा एक दलित सहकारी’ स्थापनाको पहल थालेको हो।  आर्थिक र सामाजिकरुपमा पछि परेका दलित वर्गको उत्थानका लागि दलितसँग सहकारी कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। ७ वडा रहेको गाउँपालिकाका दलित समुदायलाई सहभागी गराएर दलित सहकारी स्थापनाका लागि बीउ पुँजी स्वरुप आर्थिक वर्ष २०७६÷०७७ मा ५ लाख रकम विनियोजन गरेको गाउँपालिकाले जनाएको छ।

सहकारी स्थापनाका लागि दलित समुदायलाई विधान निर्माण, सहकारी दर्ता, आवश्यक तालिम, व्यवस्थापन लगायतका काममा गाउँपालिकाले सहयोग गर्ने जनाएको छ। दलित सहकारी स्थापनाका लागि विधान तयार पार्ने काम सम्पन्न भइसकेको गाउँपालिका अध्यक्ष राईले बताए। ‘छरिएर रहेको पुँजीलाई एक ठाउँमा बचत गर्ने र ऋण लिएर व्यवसायीक क्षेत्रमा लगानी गरेर दलित समुदायको जीवनस्तर उकास्ने उद्धेश्यले एक वडा एक दलित सहकारीको अवधारणा कार्यान्वयनमा ल्याइएको हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘सहकारीको बिधान बनाउनेदेखि स्थापनासम्मको काममा गाउँपालिकाले नै सहयोग गर्ने छ।’

दलित सहकारी स्थापनाका लागि शुक्रबार ४÷४ जनाका दरले ७ वटै वडाका २८ दलित प्रतिनिधिलाई सहभागी गराएर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। समावेसी शिर्षकमा दलित समुदायका लागि विनियोजन गरिने अधिकांश बजेट तालिम, गोष्ठी र खाजा नास्तामै खर्च हुँदा दलित समुदायको जीवनस्तर उक्सन नसकेको तथ्यलाई ध्यानमा राखेर गाउँपालिकाले दलित सहकारी स्थापनामा लगानी गर्ने निर्णय गरेको जनाएको छ। ‘हरेक वर्ष दलितका लागि बजेट छुट्याइन्छ तर, खर्च अनुशार दलितको जीवनस्तरमा कुनै परिवर्तन आएको देखिन्न, कुनै उपलव्धी देखिन्न,’ अध्यक्ष राईले भने, ‘दलितको बजेटलाई अनुत्पादक क्षेत्रमा खर्च गरेर सक्नुभन्दा उत्पादनमुलक क्षेत्रमा लगानी गरौं भनेर काम थालिएको हो।’

गाउँपालिकाका अनुशार दलित सहकारीको सञ्चालकदेखि कर्मचारी पनि दलित नै हुने छन्। आगामी दशैं र तिहारकोबीचमा सहकारी दर्ताको काम पूरा गरिने जनाइएको छ। बीउ पुँजीकारुपमा बिनियोजन गरिएको ५ लाख अपुग भए लगानी थप गरिने अध्यक्ष राईले बताए। अभिमुखीकरण कार्यक्रममा सहभागी दलित प्रतिनिधिले गाउँ फर्किएर सहकारी स्थापनाका लागि छलफल थाल्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागीलाई प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले सहकारी स्थापनाका बारेमा सहजीकरण गरेका थिए।

प्रकाशित: २६ आश्विन २०७६ ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App