१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

फौजी कीराको प्रकोपले धानबाली सखाप

नेपालगन्ज - फौजी कीराको प्रकोपले बाँकेका किसानले स्याहार्नै लागेको धानबाली सखाप भएको छ। कीराको प्रकोप नियन्त्रणमा आउन नसक्दा किसान चिन्तित छन्।

नेपालगन्ज उपमहानगरपालिकाको पुरैना र पुरैनी, डुडुवा गाउँपालिकाको हिरमिनिया र बेतहनी तथा राप्तीसोनारी गाउँपालिकाको बैजापुर र फत्तेपुरमा केही दिनयता फौजी कीराको प्रकोप ह्वात्तै बढेको हो। फौजी शैलीमा आक्रमण गर्ने कीराले धानको बाला काटेर नोक्सान पु¥याइरहेको किसान बताउँछन्।

कीराको प्रकोप नियन्त्रणमा नआएपछि किसानलाई धानबाली जोगाउन यतिबेला हम्मेहम्मे परिरहेको छ। कृषिको पकेट क्षेत्र मानिने जिल्लाको डुडुवा–६ हिरमिनियास्थित कालाबन्जर गाउँका किसान रतिराम कुम्हारले आफ्नो दुई बिघा १२ कठ्ठा जग्गामा रोपेको धानबाली फौजी कीराले सखाप पारेको दुखेसो पोखे। उनका अनुसार यही असोज १९ गतेबाट फौजी कीराको प्रकोप देखापरेको हो।

फौजी कीरा नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकारका निकायले खासै चासो नदिएको किसानको गुनासो छ

‘फौजी कीराले धानको बाला काट्न थालेको देख्नेबित्तिकै कृषि ज्ञान केन्द्रलाई जानकारी दियौं, दसैं बिदा परेको भन्दै कर्मचारी आउन मानेनन्,’ उनले भने, ‘असोज २२ गते मात्र कर्मचारी आएर औषधि बाँडे, औषधि छर्किंदा पनि कीरा मरेन।’ कृषि प्राविधिकको सल्लाहअनुसार रातको समयमा विषादी छर्किंदा पनि कीरा नमरेको उनको भनाइ छ। फौजी कीराको प्रकोपका कारण यस वर्ष धान उत्पादन ह्वात्तै घट्ने कुम्हारले बताए।

‘यसअघि प्रतिकठ्ठा अढाइ क्विन्टल धान उत्पादन हुन्थ्यो, यस वर्ष त ५० किलो पनि पाउन मुस्किल छ,’ उनले भने। कीराको प्रकोप बढेपछि काँचो धान काट्नु परिरहेको कुम्हारले बताए। हिरमिनियाका अधिकांश किसानलाई फौजी कीराको प्रकोपले पिरोलेको छ। हिरमिनिया, चौधरीपुर्वाका अर्का किसान पवनकुमार मौर्यले फौजी कीराको प्रकोपले धानबाली सखाप हुँदा भोकमरी निम्तिने खतरा औंल्याए। ‘फौजी कीराले धानबाली सबै सखाप पारिदियो, कसरी आफ्ना बालबच्चा पाल्ने भन्ने चिन्ता लागिरहेको छ,’ उनले भने। आफूले करिब एक बिघा जग्गामा रोपेकोमा ९० प्रतिशत धान कीराले सखाप पारिदिएको मौर्यले सुनाए।

फौजी कीरा नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकारका निकायले खासै चासो नदिएको किसानको गुनासो छ। कृषि ज्ञान केन्द्रले फौजी कीरा नियन्त्रणका लागि ‘इमिडाक्लोरपिड’ नामक विषादी वितरण गरे पनि त्यो पर्याप्त नभएको पीडित किसानको दुखेसो छ। डुडुवा गाउँपालिका–६ का अध्यक्ष मोहनराम मिश्र फौजी कीराको प्रकोपले किसान मर्कामा रहेको बताउँछन्।

‘फौजी शैलीमा आक्रमण गर्ने कीराको प्रकोपबाट धानबाली पुरै नष्ट भएको छ, किसानले आफ्नो लगानी नै उठाउन नसक्ने अवस्था छ,’ उनले भने। कृषि ज्ञान केन्द्रले वितरण गरेको विषादीले पनि कीरा नियन्त्रणमा नआएको वडाध्यक्ष मिश्रले सुनाए। कीराको प्रकोपले यस वर्ष धान उत्पादनमा ह्वात्तै गिरावट आउने संकेत देखिएको छ।

‘विषादी छर्किंदा पनि कीरा नमरेपछि धेरै किसान चिन्तित छन्, कतिपय किसानले त आत्तिएर काँचो अवस्थाको धान काट्न थालिसके,’ उनले भने। फौजी कीराको प्रकोपबारे नेपाल सरकारले केन्द्रीयस्तरबाटै अध्ययन अनुसन्धान गरी दीर्घकालीन समस्या समाधानको पहल गर्नुपर्ने वडाध्यक्ष मिश्रको सुझाव छ। सरकारले पीडित किसानका लागि राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनको माग छ।

कृषि ज्ञान केन्द्र बाँकेले भने फौजी कीराको प्रकोप नियन्त्रणका लागि कार्यालयसँग पर्याप्त बजेट नभएको जनाएको छ। केन्द्रका कृषि प्रसारअधिकृत ओमप्रकाश शर्माले कार्यालयसँग रहेको ३० हजार रुपैयाँबराबरको विषादी किसानलाई वितरण गरिएको बताए। राप्तीसोनारीको बैजापुर र फत्तेपुर तथा डुडुवाको हिरमिनियामा पुगेर विषादी वितरण गरिएको उनले जानकारी दिए। ‘हामीसँग रहेको विषादी ३० हजार रुपैयाँबराबरको विषादी बाँड्यौं, केन्द्रसँग पर्याप्त बजेट छैन,’ शर्माले भने, ‘बाली संरक्षण प्रयोगशालाबाट केही विषादी प्राप्त भएको छ, प्रतिकिसान ५० एमएल विषादी बाँडेका छौं, ५० एमएलले दुई कठ्ठालाई मात्र पुग्छ।’

उनका अनुसार फौजी कीरा दिनभर धानको बोटमुनि बस्छ भने रात परेपछि धानको बाला काट्न थाल्छ। कीराले एकै रातमा सयौं बिघा धानबाली काट्न सक्छ। रात परेपछि विषादी छर्किनुपर्ने र विषादीको मात्रालाई ध्यान दिनुपर्ने शर्माको सुझाव छ। ‘किसानले रात परेपछि विषादी छर्किनुपर्छ,’ उनले भने, ‘विषादीको मात्रा कम भए कीरा मर्ने सम्भावना कम हुन्छ, कडा खालको विषादी भएको हुनाले किसानले एप्रोन प्रयोग गर्नुपर्छ।’

बाँकेको डुडुवा, राप्तीसोनारी र नेपालगन्ज उपमहानगरको केही वडामा फौजी कीराको प्रकोप बढी मात्रामा देखा परेको उनले जानकारी दिए। कीरा नियन्त्रणका लागि स्थानीय तहले खासै चासो नदिएको कृषि प्रसार अधिकृत शर्माको भनाइ छ।

फौजी कीराको प्रकोप बाँकेका किसानका लागि नौलो विषय भने होइन। करिब ६ वर्षअघि पनि जिल्लाको फत्तेपुरमा कीराको प्रकोप फैलिएको थियो। दीर्घकालीनरूपले फौजी कीराको प्रकोप नियन्त्रण गर्न सरकारले पहल नगर्दा समस्या बल्झिरहेको छ। ‘फौजी कीराको प्रकोप बाँकेमा ६ वर्षअघि नै देखा परेको हो, तर सरकारले यस विषयमा गहन अध्ययन अनुसन्धान नगर्दा पटक–पटक बल्झिरहेको छ,’ एक कृषि प्राविधिकले भने ‘अनुसन्धान नै कमजोरीको पाटो देखिन्छ।’ 

प्रकाशित: २६ आश्विन २०७६ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App