१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

झुम्सा खानेपानी आयोजना २४ वर्षदेखि अलपत्र

बुटवल - एउटा खानेपानी आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला ? सामान्यतयाः ५, १० या १५ ? तर, बुटवलमा २४ वर्षअघि सुरु गरिएको एउटा खानेपानी आयोजना अझै पूरा भएको छैन।

लामो समय आयोजना सम्पन्न नहुँदा बुटवलबासी खानेपानीको अभाव झेल्न बाध्य छन्। २०५२÷०५३  सालमा पाल्पाको सिस्ने खोलाबाट पानी बुटवल ल्याउन झुम्सा खानेपानी आयोजना सुरु भएको हो। २३ वर्षमा धेरैवटा सरकार फेरिए। बुटवलबाट धेरैजना नेता सांसद, मन्त्री भए। यो आयोजनाको नियति फेरिएन। सफा र शुद्ध पानी खाने बुटवलबासीको सपना कहिल्यै पूरा भएन। नगरबासीले दुई दशकदेखि हिउँदभर धारामा पानी नआउने र बर्खामा धमिलो पानी खानुपर्ने समस्या झेल्दै आएका छन्।

खानेपानी संस्थान, बुटवलका अनुसार यहाँ दैनिक तीन करोड ४० लाख लिटर पानीको माग छ। आपूर्ति पुगनपुग दुई करोड लिटर छ। दीपनगर, सुक्खानगर र बेलवास क्षेत्रमा खानेपानीको चरम समस्या छ। हाल संस्थानले ६० प्रतिशत पानी तिनाउ खोलाबाट पम्पले तानेर वितरण गर्छ। यसअन्तर्गत १६ हजार धारा छन्। हरेक वर्ष ७–८ सयको हाराहारीमा नयाँ धारा जडानको निवेदन पर्छ। बर्खामा खोलाको पानी धमिलो हुन्छ। 

त्यसबाहेक १९ वटा बोरिङमार्फत पनि पानी वितरण गरिएको छ। तर तिनाउ र चुरेको अनियन्त्रित दोहनले जमिनमुनिको पानीको सतह घट्दै जाँदा पहिले जस्तो बोरिङबाट पानी आउँदैन। यसका कारण हिँउदमा पानीको चरम अभाव हुन्छ।

बुटवलको बढ्दो जनघनत्व र सुक्दै गएको भूमिगत जलस्रोतका कारण खानेपानीको समस्या भविष्यमा झन् बिकराल बन्नेतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने बताउँछन्, बुटवलका पूर्वमेयर पुनाराम पोखरेल। ‘अस्थिर राजनीतिक अवस्थाको फाइदा उठाउँदै आर्थिक चलखेलहरु भए। कागजी निर्णय गर्ने, कार्यान्वयन नगर्ने प्रवृत्ति हाबी भए। अब पनि त्यस्तो अवस्था आए नगरबासी चुप लागेर बस्ने छैनन्,’ पोखरेलले भने। नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन झुम्सा खानेपानी आयोजनाको कामलाई गति दिनुपर्नेमा उनले जोड दिए।

पाल्पाको झुम्सास्थित सिस्ने खोलाबाट दैनिक सात लाख लिटर पानी बुटवल ल्याउने योजनासहित २०५२÷०५३ मा आयोजना सुरु भएको थियो। आयोजना सुरु भएको एक दशकपछि सिस्ने खोलाले बुटवलको माग धान्न नसक्ने ठहर गर्दै मुहान फेरियो।

सिस्नेको सट्टा हालको तिनाउ गाँउपालिका–३ मा रहेको गोरबन्दिझारबाट दैनिक तीन करोड २० लाख लिटर पानी बुटवल ल्याउने योजनासहित २०६४÷०६५ मा झुम्सा खानेपानी आयोजनालाई परिमार्जन गरियो।

यो आयोजनामा करोडौं रकम खर्च भइसकेको छ। तर उपलब्धि शून्य ! अयाोजनाअन्तर्गत गोरबन्दिझारस्थित खोलामा बाँध बाँधी दैनिक तीन करोड २० लाख लिटर पानी बुटवल ल्याउने लक्ष्य छ। त्यसका लागि एक दशकअघिनै मुहानमा बाँध बनाउने कार्य सुरु भएको हो। बाँध निर्माणसँगै ठाउँठाउँमा पाइप पनि बिछ्याइएको छ। बाँध निर्माणको डिजाइन र प्राविधिक पक्ष कमजोर हुँदा तीन वर्षअघिको बर्खे बाढीले भत्कियो। खानेपानी संस्थानका कर्मचारीका अनुसार इन्जिनियरिङ सर्भेबिनै बाढी र पहिरोको जोखिम भएको ठाउँमै निर्माण गरिएको बाँध बाढीले भत्काइदिएको हो।

त्यसयता आयोजनाको काम ठप्प छ। लामो समय काम नहुँदा बिछ्याइएका पाइप फुटेका छन्। पहिलो र दोस्रो चरणमा गरी यो आयोजनामा १५ करोड खर्च भइसकेको छ। बाँध निर्माणमा लापरवाहीसँगै पाइप खरिदमा भ्रष्टाचार भएको छ। आयोजनाका लागि खरिद गरिएको पाइपमा २५ करोड  भ्रष्टाचार भएको भन्दै २०७५ वैशाखमा अख्तियारमा उजुरी परेको छ। मुद्दा परेसँगै आयोजनाका लागि ल्याइएको २५ करोडका २० इन्च र १० इन्चका पाइप डेढ वर्षदेखि शिवनगर जंगलमा अलपत्र छ। हाल यो मुद्दा मुल्तबीमा थन्किएको छ। मुद्दा मुल्तबीमा गएपछि भने आयोजनाको काम अगाडि बढाउने बाटो खुलेको खानेपानी संस्थान बुटवलका प्रमुख बुद्धरत्न महर्जनले बताए। आयोजनाका लागि गत महिना टेन्डर आह्वान गरिएको थियो।

दुईवटा प्याकेजको टेन्डरमा चारवटा कम्पनीले आवेदन हालेका छन्। महर्जनका अनुसार पुरानो बाँध भत्किएकाले नयाँ डिपिआर तयार गरिएको छ, जसअनुसार पहिले भत्किएको बाँधबाट पाँच सय मिटरमाथि नयाँ ड्याम बन्नेछ।

बाँधका लागि इन्जिनियरिङ सर्भे गरी सुरक्षितस्थल छनोट गरिएको हो। पहिलो प्याकेजमा ड्याम निर्माण हुनेछ। दोस्रो प्याकेजमा बाँधदेखि आठ किलोमिटर तल बुटवलस्थित रामफेदीसम्म पाइप बिछ्याइने छ। यसअन्तर्गत तीनवटा ट्रस ब्रिज बन्नेछ। यसअघि बिछ्याइएका पुराना र फुटेका पाइप फेरिने छ। १० इन्चको पाइप भएको ठाउँमा २० इन्च र २० इन्च भएको ठाँउमा १० इन्चको पाइप बिछ्याइनेछ।

पानीको समुचित वितरणका लागि रामफेदीसँगै सहरी क्षेत्रमा ओभरहेड ट्यांकी निर्माण तथा पाइप बिछ्याउने काम तेस्रो प्याकेजमा गरिने महर्जनले बताए। पानी वितरण प्लान्ट, शुद्धीकरण प्लान्ट, रिजभ्र्वायर, बुटवलका १९ वटै वडामा आवश्यकता हेरी १० देखि तीन इन्चसम्मका पाइप बिछ्याइनेछ। यी सबै काम निर्वाध रुपमा अघि बढे कम्तीमा चार वर्षमा आयोजना सम्पन्न हुनेछ। पहिलो र दोस्रो प्याकेजका लागि दुई वर्षमा निर्माण सक्ने गरी ठेक्का दिने तयारी भएको संस्थानले जनाएको छ। आयोजना सम्पन्न गर्न ६ अर्ब ३५ करोड बजेट लाग्ने संस्थानले जनाएको छ।

बुटवलका पूर्वमेयर पोखरेलले वर्षौंदेखि नगरबासीले कुरेको आयोजनालाई मेलम्ची जस्तै बनाउने चलखेल सम्बन्धित निकायबाटै हुने गरेको भन्दै नीतिगत सुधारको खाँचो औंल्याए। संस्थानका बुटवल प्रमुख महर्जनले आयोजनाकै लागि बुटवलमा छुट्टै कार्यालय स्थापना गरी कामलाई गति दिने तयारी भइरहेको जानकारी दिए। संस्थानले उनलाई नै झुम्सा खानेपानी आयोजना प्रमुखको रुपमा खटाउने तयारी गरिरहेको बुझिएको छ।

प्रकाशित: २६ आश्विन २०७६ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App