१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

विश्व पर्यटन दिवसमा विभिन्न संस्था सम्मानित

काठमाडौं– विश्व पर्यटन दिवसका अवसरमा सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न सङ्घ–संस्थालाई सम्मान गरेको छ। पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान पुर्यायाउने विभिन्न वायु सेवा प्रदायक कम्पनी, ट्राभल एजेन्सी, केबलकार, होटल तथा घरवास (होमस्टे) सम्मानित भएका हुन्।

सबैभन्दा बढी पर्यटक भित्र्याउने वायु सेवा कम्पनीका रुपमा कतार एयरवेज पुरस्कृत भएको छ। उक्त कम्पनीले तीन लाख ९९ हजार ३३६  पर्यटक नेपाल भित्र्याएको थियो। त्यस्तै बढी विदेशी मुद्रा आर्जन गर्ने ट्राभल एजेन्सीमा फ्लाइट कनेक्सन डमेस्टिक प्रालिले पुरस्कार हात पारेको छ। कम्पनीले एक वर्षमा ९४ लाख ५३ हजार २८३ अमेरिकी डलर आम्दानी गरेको छ।

पर्यटन गन्तव्यको विकासमा योगदान गर्ने कालिञ्चोक दर्शन प्रालि (केबलकार), होटल सोल्टी क्राउनप्लाजा, अपाङ्गता भएका व्यक्तिलाई सक्षम बनाई रोजगारी दिने संस्था द बेकरी क्याफे प्रालि तथा सामाजिक उत्तरदायित्व निर्वाह फिस्टेल लज पोखरालाई पनि सम्मान गरिएको छ।

धेरै राजश्व बुझाउने बुद्ध एयर पनि सम्मानित भएको छ। बुद्ध एयरले आर्थिक वर्ष २०७५/७६ मा ५८ करोड ६७ लाख ५६ हजार ९४४ रुपैयाँ राजश्व बुझाएको थियो।

सामुदायिक घरबास नाम्जेथुम्की धनकुटा तथा पर्वतारोहण क्षेत्रमा सबैभन्दा धेरै पर्वतारोहण दल ल्याएर धेरै रोयल्टी जम्मा गर्ने सेभेन समिट ट्रेक्स प्रालि सम्मानित भएको छ। कम्पनीले नौ लाख ३० हजार १९० अमेरिकी डलर रोयल्टी जम्मा गरेको थियो।

ती सबै पुरस्कार दिवसका अवसरमा आज नागपोखरीस्थित गणतन्त्र पार्कमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले वितरण गरेका हुन्। उक्त अवसरमा गाउँ पर्यटन प्रवर्दधन मञ्चले सन् २०१९/०२० को नयाँ गन्तव्य गाउँका रुपमा तीन गाउँ घोषणा गरेको छ।

मञ्चले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँ, धादिङको रुबीभ्याली गाउँपालिका–४ चालिसागाउँ र बाग्लुङको काठेखोला गाउँपालिका–४ फापरखेत गाउँलाई नमूना गन्तव्य घोषणा गरिएको मञ्चले जनाएको छ।

मञ्चले प्रत्येक वर्ष नयाँ गन्तव्य गाउँ घोषण गरी घरवास प्रवर्दधन गर्दै आएको छ। संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आएको छ। रासस

प्रकाशित: १० आश्विन २०७६ १०:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App