१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

माडी नगरपालिकाले खोल्यो आफ्नै क्रसर उद्योग

चितवन– प्राकृतिक सम्पदाको धनी भएर पनि निकुञ्जको बीचमा भएकै कारण पछाडि परेको माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याएको छ। माडी नगरपालिका–५ ब्रम्हपुरीमा एक करोड ३० लाख रुपैयाँको लागतमा क्रसर उद्योग सञ्चालनमा ल्याइएको हो।  

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पूर्वाधार विकासमा आवश्यक पर्ने गिट्टी–बालुवा प्रशोधन गर्नका लागि नगरपालिकाले आफ्नै क्रसर उद्योग स्थापना गरेको हो। उद्योगबाट प्राकृतिक गिट्टी, विभिन्न आकारका फोरेका गिट्टी, कालोपत्रका लागि चिप, डस्ट, धोएको बालुवा उत्पादन हुने ढकालले बताए। 

एक हप्ताको परीक्षण अवधिपछि क्रसर नियमितरूपमा सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ। हाल परीक्षणमा रहेको क्रसरमा नगरपालिकाले स्थानीय मगईखोलाको गिट्टी–बालुवा प्रयोग गर्नेछ।

यससँगै अन्य खोलाको पनि वातावरणीय प्रभाव मूल्याङ्कन गरी ढुङ्गा, गिट्टी, बालुवा निकालिने उनले बताए।ढकालका अनुसार प्रतिघण्टा २४ घनमिटर क्रसरको क्षमता रहेको छ।

नगरपालिकाका विकास निर्माणका कामबाहेक स्थानीय र ठेकेदारलाई समेत यो उत्पादनले पुग्ने उनले जानकारी दिए।  ढकालको अनुमानमा नगरपालिकालाई पुगेर पनि वार्षिक १० करोड रुपैयाँ भन्दा बढीको सामग्री बिक्री गर्न सकिनेछ।

अत्यधिक दोहन नहुने गरी व्यवस्थित किसिमले खोलाको सतह गहिरिने गरी गिट्टी–बालुवाको प्रयोग गरिने नगरपालिकाले जनाएको छ।

माडी नगरपालिकाले चालू आव २०७६–७७ मा १८ किमीभन्दा बढी सडक कालोपत्र गर्दैछ। यो आवमा १० भन्दा बढी कल्भर्ट, नहर र पुललगायतका संरचना बन्ने नगरपालिकाले जनाएको छ। रासस

प्रकाशित: १० आश्विन २०७६ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App