१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भारतीय ‘गरिमा’ जातको धानमा बाला लागेन, पाँच हजार किसान मर्कामा

चितवन– उन्नत जात भनेर विक्रि गरिएको ‘गरिमा’ जातको धानको विउमा बाला नलाग्दा ५ हजार नेपाली किसान मर्कामा परेका छन्। भारतबाट आयात गरिएको उक्त विउ नेपालमा १३ हजार ४ सय किलो बिक्री गरिएको थियो। उक्त धान प्रयोग गर्ने किसानहरु मर्कामा परेका हुन्।

रत्ननगर नगरपालिका वडा नं १० का कृषक ओमप्रसाद रेग्मीले आफ्नोे पाँच कट्ठा खेतमा लगाएको गरिमा जातका धानको गाँज ठूलो भएको तर पसाउन नसकेको बताए।

स्थानीय साझा एग्रोभेटबाट प्रतिकिलो ३ सय ५० रुपैयाँका दरले किनेर लगेको बीउको धान नपसाएपछि आइतबार कृषि ज्ञान केन्द्रमा पुगेर सो समस्याका बारेमा अवगत गराएको उनले बताए।

तीन वर्षअघि सोही जातको धान लगाउँदा राम्रो उत्पादन दिएको तर अहिले भने धान उत्पादनमा समस्या आएको बताए। रत्ननगर नगरपालिका वडा नं ३ का कृषक जयराम पराजुलीले ज्ञान केन्द्रमा क्षतिपूर्ति माग गर्दै निवेदन दर्ता गराएका छन्।

उनले आफ्नो १७ कट्ठा १० धुर जग्गामा लगाएको धानमा समस्या देखिएको जानकारी दिए। किसानले धानको बीउ किनेका एग्रोभेटमा पुगेर दबाब दिने काम गरिरहेका छन्।

ज्ञान केन्द्रका प्रमुख राजन ढकालले उक्त जातको धानमा गुनासा आएको बताएका छन्। ‘इच्छाकामना गाउँपालिकाबाहेक जिल्लाभरमा सो धानको बाला पसाउनै  सकेको छैन’ उनले भने, ‘धानको गाँज ठूलो भएको भए पनि प्रजननमा समस्या देखिएको छ।’ 

केन्द्रका अनुसार सो जातको बीउ बिक्री १३ हजार ४०० किलो बिक्री गरिएको छ। नेपालमा सो जातको बीउ भित्र्याउने आधिकारिक कम्पनी सनराइज एग्रिकल्चर रिसर्च सेन्टर दाङ हो।

सो कम्पनीले गत वर्ष ४० मेट्रिकटन उक्त जातको धानको इजाजत लिएको उनले जानकारी दिए। उक्त धान करिब एक हजार ३०० बिघामा लगाइएको केन्द्रको अनुमान छ। जसबाट पाँच हजार कृषक प्रभावित हुने प्रमुख ढकालले जानकारी दिए।

‘यस विषयमा माथिल्लो निकायमा जानकारी गराइसकेको छ, छिट्टै प्राविधिक कार्यदल वनाएर स्थलगत निरिक्षण गरी प्रतिवेदन तयार गर्दैछौ’ ढकालले भने।

कार्यालयका बाली विकास अधिकृत माधव पौडेलका अनुसार यो विसं २०७२ मा सूचीकृत जात हो। गरिमा भारतीय उत्पादन हो। यसको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेली सक्नुपर्छ। तर त्यसो हुन नसकेको उनले जानकारी दिए।

सो बीउ नेपालमा आयात गर्ने सेन्टरका प्रतिनिधि अनुजकुमार चौधरीका अनुसार अनुमति धेरै लिइएको भए पनि नेपालमा २५ टन आएको र त्यसमध्ये केही फिर्ता भएको थियो।

उक्त धान चितवन, नवलपरासी, बाँके र दाङमा बिक्री गरिएको थियो।  उनले पनि विक्रि गरेका सबै ठाउँमा यही समस्या देखिएको बताएका छन्। रासस

प्रकाशित: ६ आश्विन २०७६ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App