२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुपथ पसलले उपभोक्तालाई राहत

बाग्लुङ– चाडबाडलाई लक्षित गरी खुलेको सुपथ मूल्य पसलले उपभोक्तालाई राहत मिलेको छ। बजार भाउभन्दा सस्तोमा चिनी, नून किन्न पाउँदा उपभोक्ता खुशी देखिएका छन्।

साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङद्वारा सञ्चालित पसलमा दैनिक सयौँको लाम देखिन्छ। पसल शुरु भएको छ दिनमै तीन हजार ९४९ जना उपभोक्ताले सेवा लिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ कार्यालयले जनाएको छ। हालसम्म २३ हजार ३९४ किलो चिनी र ११ हजार ५१३ किलो नून बिक्री भएको छ।

चिनी र नून बिक्रीबाट १८ लाख ९१ हजार ६०० रुपैयाँको कोरावार भएको कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले बताए। बजारको तुलनामा प्रतिकिलो चिनी आठ र नून चार रुपैयाँ सस्तोमा बिक्री भइरहेको उनको भनाइ छ। अहिले चिनीको बजार मूल्य ८० रुपैयाँ र नूनको २२ रुपैयाँ छ। 

सुपथ मूल्य पसलले भने चिनी प्रतिकिलो ७२ रुपैयाँ र नून १८ रुपैयाँमा उपलब्ध गराएको छ। एक जनाले चिनी छ किलो र नून तीन किलोसम्म किन्न पाउने व्यवस्था छ।

दोहोरिएर आउने उपभोक्ताले भने खरीद गर्न पाउँदैनन्। ‘उपभोक्ताको भीड छ, सहज सेवाका लागि खटिएका छौँ’, कार्यालय प्रमुख श्रेष्ठले भनिन्। कार्यालयले कर्मचारीबाहेक थप चार जना कामदार ज्यालादारीमा राखेको छ। उपभोक्ताको लाम व्यवस्थापनका लागि प्रहरी खटिएका छन्।

अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलालाई लाममा नबसी खरीद गर्न पाउने व्यवस्था मिलाइएको छ। दुरुपयोग हुने डरले १४ वर्षमुनिका बालबालिकालाई चिनी, नून बेच्ने गरिएको छैन।

‘चाडबाडको बेला उपभोक्तालाई राहत मिलोस् भनेर सस्तो मूल्यको पसल राखेका हौँ’, कार्यालय प्रमुख श्रेष्ठले भने। 

उपभोक्ताले भने चाडबाडबाहेकको समयमा पनि सहुुलियत मूल्यको पसल सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन्। चिनी र नून मात्रै नभएर अन्य उपभोग्य सामान पनि सुपथ पसलमा राख्नुपर्ने आवाज उठेको छ। 

बागलुङ नगरपालिका–२ श्रीनगरटोलस्थित कार्यालय परिसरमै सञ्चालित पसल आउँदो कात्तिक १८ गतेसम्म सञ्चालन हुनेछ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने पसल सार्वजनिक बिदाका दिनमा भने बन्द हुने गरेको छ। साल्ट ट्रेडिङ कर्पोरेशनले वर्षेनी चाडबाडको मुखमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । रासस

प्रकाशित: ६ आश्विन २०७६ ०६:३१ सोमबार

सुपथ_मूल्य_पसल