२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

यति कार्पेटले कात्तिकदेखि पुनः उत्पादन थाल्ने

काठमाडौं – आगालागीबाट पूर्णरुपमा नष्ट भएको यति कार्पेटले कात्तिकको पहिलो साताबाट पुन उत्पादन सुरु गर्ने भएको छ। करिब ६० करोड रुपैयाँको लगानीमा उद्योगको नयाँ प्लान्ट निर्माण सम्पन्न गरेर उत्पादनको तयारी गरिरहेको उद्योगले जनाएको छ।

प्लान्टको पूर्वाधार निर्माण सम्पन्न गरेर मेसिनको परीक्षण सुरु भएको यति कर्पोरेटका मार्केटिङ हेड राजकुमार शाहले बताए। ‘कात्तिकको पहिलो साताबाट कार्पेटको उत्पादन सुरु गर्ने तयारी छ,’ शाहले भने, ‘उद्योगमा मेसिन जडान सम्पन्न भैसकेको छ।’

वीरगंज उपमहानगरपालि– ३२ चोर्नीमा ६५ रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरिएको छ। उद्योग ७० हजार वर्गफुट क्षेत्रफलमा फैलिएको छ।  बुट्टा रहित र बुट्टा कोरिएको गरी दुई खाले कार्पेट उत्पादन गर्ने प्लान्ट निर्माण गरेको छ।

यति कार्पेट केडिया अर्गनाइजेसनका अनिल केडियाले निर्माण गरेका हुन्। केडियाले रिलायन्स समूहका नारायण तोदीलाई साझेदार बनाएका छन्। कार्पेटको बजारमा करिब आधा हिस्सा ओगटेको यति कार्पेट  दुई वर्षअघि (२०७४ असार ३ गते) आगलागी भएपछि बन्द भएको थियो। पूर्णरूपमा नष्ट भएको यति कार्पेट उद्योगलाई पुनः सञ्चालनमा ल्याउन लागेको यति कार्पेटका प्रबन्ध निर्देशक केडियाले बताए। यति २७ वर्ष पुरानो उद्योग हो। आगालागीमा ४० करोड रुपैयाँभन्दा बढी पुगेको थियो।

आगालागी हुन पूर्ब मासिक एक लाख मिटर उत्पादन गर्दै आएको यतिले अब तीन लाख मिटर उत्पादन गर्ने केडियाले बताए। ‘उत्पादन क्षमता दुई गुणा बढाउने गरी पूर्वाधार निर्माण गरेका छौं,’ केडियाले भने, ‘उद्योलाई पूरै नयाँ बनाएका हौं।’ कार्पेटको चौडाइ पहिला दुई मिटर रहेकोमा अहिले चार मिटर बनाउँदै छ।

उद्योग पूर्ण स्वचालित रहेको छ। ‘प्लान्ट अहिले पूर्ण स्वचालित छ,’ उनले भने, ‘कच्चा पदार्थ क्रेनले हाल्छ। सिधै कार्पेट निस्किन्छ।’ उद्योगभित्र दुईटा फ्याक्ट्री हुन्छन्। दुई प्रकारका कार्पेट उत्पादन गर्ने उद्योगले जनाएको छ। साढे तीन सयदेखि पाँच सय रुपैयाँको सात/आठ प्रकारको भेराइटी दिने उद्योगको तयारी छ। गुणस्तरीय कार्पेट उत्पादन गर्ने कम्पनीको दाबी छ। ‘जर्मनीको प्रविधिसहित गुणस्तरीय मेसिन प्रयोगमा ल्याएका छौं,’ केडियाले भने, ‘गुणस्तर र ब्रान्डलाई ध्यान दिएका छौं।’ यतिले पाँच सय डिलरबाट बिक्री गर्ने तयारी गरेको छ।

नेपालमा कार्पेटको बजार करिब आठ अर्ब रुपैयाँ पुगेको उद्योगी बताउँछन्।  यहाँ यति, हेरिटेज, एसटी, आशी, जेन्सलगायतका कार्पेट उद्योग छन्।

प्रकाशित: ६ आश्विन २०७६ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App