१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अर्थमन्त्री खतिवडाले सोधे– नागरिकता दिँदा कर मागेका छौं र ?

काठमाडौं– अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताए। नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताएका हुन्।

उनले देशका नागरिकका लागि नागरिकता अनिवार्य विषय भए जस्तै सरकारले दिने सेवा सुविधा लिनका लागि पनि हरेकले कर दाता परिचयपत्र लिनुपर्ने बताए। उनले भने ‘नागरिकता दिँदा सरकारले कर लिएको छ र तपाईहरुसँग? प्यान लिँदा पनि त्यही हो। प्यान लिए वापत कर तिर्नुपर्ने कुरा त होइन नि। करदाता परिचयपत्र हो।

उनले अनौपचारिक व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउनका लागि नै ढुवानी सेवामा मुल्य अभिवृद्धि कर लगाइएको स्पष्ट पारे। उनले ढुवानीका साधन एउटाको, मालिक अर्कै र व्यवसाय अर्कैले चलाउने अस्तव्यस्त आर्थिक कारोबार र व्यवसायलाई प्रणालीमा ल्याउनका लागि मुल्य अभिवृद्धि करको अर्को विकल्प नभएको बताए। उनले नीतिगत व्यवस्थाका कारण अन्तरदेशीय व्यापारलाई औपचारिक गराएर पनि व्यवस्थित गर्न नसकिएको बताए।

उनले भने ‘राष्ट्र बैंकले तिब्बत तर्फबाट हुने आयातमा जति मुल्य सटही दिने भन्छ त्यत्तिनै भन्सारमा विगो कायम हुन्छ। २५ हजार डलर दियो २५ हजार डलरमा नै सामान हुन्छ। ३० हजार डलर दियो ३० हजार डलरकै बराबरको हुन्छ। दिएकै ३० हजार छ त ३५ हजारको उसले के विवरण भरोस्? समस्या त्यहाँ छ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी सबै कामदारलाई अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था नीति क्षेत्रका लागि मान्य नहुने बताए। उनले ढुवानी सेवामा मुल्य अभिवृद्धि कर लगाउँदा दैनिक उपभोग्य वस्तुको मुल्य बढ्ने भएकाले आम उपभोक्तालाई प्रत्यक्ष असर परेकाले मुल्य अभविृद्धि करको दायरालाई हटाई सेवा कर लगाउने व्यवस्था गर्न आग्रह गरे।कार्यक्रममा उद्योगीहरुले कर सम्बन्धी सरकारले ल्याएको नयाँ व्यवस्थाले व्यवसाय र व्यवसायी दुबैलाई प्रभावित बनाएको गुनासो गरेका थिए।

प्रकाशित: १३ भाद्र २०७६ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App