१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

वल्र्ड ट्रेड सेन्टरमा तीज मेला

काठमाडौं – महिलाहरूको महान् चाड हरितालिका तीजलाई लक्षित गरेर काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा पाँचदिने तीज मेला सुरु भएको छ। भदौ १० गते मंगलबार सुरु भएको १२औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सकी महिला अध्यक्ष उर्मिला श्रेष्ठले गरिन्।

इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड सो नेपाल प्रालिले विगतका वषहरूदेखि सञ्चालन गर्दै आएको तीज मेलालाई यसपालि भने आयोजक टिम अन्तर्राष्ट्रिय व्यापार मेला बनाउने उद्देश्यले अघि बढेको छ। सोही उद्देश्यसाथ यस वर्ष मेलामा भारत, पाकिस्तान, बंगलादेश र अन्य देशका स्टलहरू मेलामा रहेको मेला संयोजक सुमन महर्जनले बताए।

तीजको अवसरमा आयोजना गरिने यो मेला नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेलाको रूपमा परिचित हुँदै आएकाले यस वर्षको मेलामा एक सयभन्दा बढी कम्पनी र संघसंस्थाको सहभागिता हुने र ५० हजारभन्दा बढी मानिसले प्रत्यक्षरूपमा अवलोकन गर्ने उनको भनाइ छ।

मेलामा तीजका लागि महिलालाई आवश्यक सम्पूर्ण सामान उपलब्ध छन्। महिलाका लागि आवश्यक चुरा, पोते, सारी, टीका, भाँडाकुँडा, स्यान्डिल, मिठाईलगायतका सामान सजाएर राखिएको छ। ‘आउँदै गरेको तीजलाई लक्षित गरेर महिला दिदीबहिनीलाई चाहिने सामान उपलब्ध गराउने हाम्रो उद्देश्य हो,’ आयोजक महर्जनले भने, ‘सपिङका लागि मेलामा आएपछि बाहिर जानै पर्दैन, हरेक सामान यहीँ उपलब्ध छ।’ सबै सामान एउटै छानामुनि उपलब्ध भएपछि भौंतारिन नपर्ने र समयको समेत सदुपयोग हुने उनको भनाइ छ।

प्रदर्शनीलाई आकर्षक र मनोरञ्जनात्मक बनाउन फ्रि फोटो सुट, लक्की ड्र, डोर प्राइज, निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निःशुल्क मेहन्दी लगाउने कार्यक्रम, निःशुल्क कपाल कटिङ कार्यशाला, बालबालिकाका लागि गेमिङ जोन, लाइभ म्युजिक एन्ड कल्चर प्रोग्रामलगायतका कार्यक्रमलाई समावेश गरिएको छ। साथै, विभिन्न व्यावसायिक कम्पनी संघसंस्थाहरूसँग सम्पर्क विस्तार र व्यवसाय वृद्धिका लागि छुट्टै प्लेटर्फम तयार पारिएको छ भने महिला उद्यमशिलताका लागि सेमिनारको कार्यक्रम पनि राखिएको छ।

मेलामा अन्तर्राष्ट्रिय स्टलहरू भएकाले अवलोकनकर्ताले नेपाली सामान मात्र नभई विदेशी उपभोग्य सामान पनि सुपथ मूल्यमा पाउनेछन्। ‘यही कार्यक्रममार्फत हामीले कैयौं महिलालाई आफैं उद्यमी बनेको देखेका छौं, त्यसैले यो केवल तीज मेला मात्र नभई समग्र नेपाली महिलाहरूका लागि व्यवसाय र प्रवद्र्धन गर्ने प्लेटफर्म पनि हो,’ महर्जन भन्छन्, ‘कतिपय नेपाली महिला उद्यमीले यो मेलामार्फत व्यवसाय विस्तार गरेकाले नै हामीले यो मेलालाई निरन्तरता दिन सकेका छौं।’
अन्तर्राष्ट्रिय व्यापार मेला भदौ १४ सम्म जारी रहनेछ।

प्रकाशित: १२ भाद्र २०७६ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App