५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

चौतारा नगरको बजेट सवा अर्ब

सिन्धुपाल्चोक – समृद्ध नगरको परिकल्पना गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि झण्डै सवा एक अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरले सदरमुकाम चौतारामा मंगलबार कार्यक्रम गरी आगामी वर्ष सञ्चालन गरिने नीति तथा कार्यक्रमसहित एक अर्ब २३ करोड ८७ लाख १५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो। नगर असार १० गतेबाट नगरसभामार्फत नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रिया अघि बढाएको थियो।

सार्वजनिक बजेटअनुसार नगरले राजस्व बाँडफाँड, सवारी साधन कर/शुल्क, आन्तरिक स्रोत, संघीय, प्रादेशिक  र जिल्ला समन्वय समिति अनुदान गरी सात क्षेत्रबाट आय गर्ने छ। नगरले संघीय सरकारबाट सबैभन्दा बढी ८० लाख ८६ हजार र प्रदेश ३ सरकारबाट तीन करोड ३६ लाख रुपैयाँ अनुदान प्राप्त हुने जनाएको छ।

सवारी साधन कर/शुल्कबाट सबैभन्दा बढी १७ करोड १२ लाख, राजस्व बाँडफाँडबाट नौ करोड ५७ लाख, आन्तरिक स्रोतबाट तीन करोड २० लाख रुपैयाँ आय हुने अनुमान बजेटमा गरिएको छ। त्यस्तै जिससबाट तीन करोड ६५ लाख रुपैयाँ अनुदान नगरले प्राप्त गर्ने छ। नगरका सबै १४ वटा वडालाई डेढ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको छ। जिल्लाका १२ स्थानीय तहमध्ये यो नगरका वडाले सबैभन्दा धेरै बजेट पाएका हुन्।

नगरले महिला, बालबालिका, दलित, जेष्ठ नागरिक, जनजाति, अपांग, अल्पसंख्यक, वन, विपद् व्यवस्थापन, भूसंरक्षण, वातावरण, नवीकरणीय उर्जा, कृषि, पशु सेवा, घरेलु तथा लघु उद्यम, पर्यटन, सम्पदा संरक्षण, खेलकुद, सहकारी, स्वास्थ्य, आयुर्वेद, खानेपानी, सिँचाइ, विद्युत्लगायत क्षेत्रका लागि आवश्यक बजेट व्यवस्था गरेको छ।

शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको नगरले सबैभन्दा बढी १८ करोड रुपैयाँ बजेट यसै क्षेत्रमा छुट्याएको छ। दोस्रो प्राथमिकतामा परेको लागत जनसहभागितामा आधारित १० वटा नगरस्तरीय सडकलाई १२ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै कार्यालय सञ्चालनमा १० करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्राथमिकता क्रमअनुसार नगरले महिला, बालबालिका, दलित, जेष्ठ नागरिक, जनजाति, अपांग, अल्पसंख्यक, वन, विपद् व्यवस्थापन, भूसंरक्षण, वातावरण, नवीकरणीय उर्जा, कृषि, पशु सेवा, घरेलु तथा लघु उद्यम, पर्यटन, सम्पदा संरक्षण, खेलकुद, सहकारी, स्वास्थ्य, आयुर्वेद, खानेपानी, सिँचाइ, विद्युत्लगायत क्षेत्रका लागि आवश्यक बजेट व्यवस्था गरेको छ।

भूकम्पपछिको सम्पूर्ण पुनर्निर्माणलाई आगामी एक वर्षभित्र सक्ने लक्ष्य राखेको नगरले धेरै नारा र अभियानसहितको महत्वकांक्षी नीति तथा कार्यक्रम अघि सारेको छ। फलामे पोलको व्यवस्था गरी आउँदो वर्ष काठे पोलमुक्त नगर घोषणा गर्ने लक्ष्य नगरले राखेको छ। नगरका १४ वटै वडालाई सहिद चक्रपथले घेर्ने नीति लिएको नगरपालिकाले त्यसका लागि विस्तृत योजना प्रतिवेदन निर्माण प्रकृया थालिसकेको जनाएको छ।

होमस्टे (घरवास) प्रवद्र्धन गर्ने नीति लिएको नगरले नगर प्रहरीको व्यवस्था गर्ने कार्यक्रम अघि सारेको छ। ‘एक घर एक उद्यम’ नारा अघि सार्दै नगरले महिला उद्यमी र सशक्तीकरणमा जोड दिएको छ। नगरपालिकाभित्रका पाँच विद्यालयमा प्राविधिक शिक्षाको पठनपाठन गर्ने नीति लिएको नगरले, योग शिविर सञ्चालन गर्ने, एक वडा एक कवर्ड हल, एक वडा एक खेल मैदान, एक वडा एक हेलिप्याड निर्माण गर्ने, युवाको हातमा सीप तथा रोजगार कार्यक्रम सञ्चालन गर्दै रोजगार बैंक स्थापना गर्ने, एक वडा एक महिला सहकारी बनाउने कार्यक्रम ल्याएको छ।

त्यस्तै नगरले एक गाउँ, एक उत्पादन, एक घर, एक लघु उद्यमजस्ता लोकप्रिय नाराअघि सार्दै उपमेयर बाख्रापालन कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बस्यालले जानकारी दिए। नगरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै नेकपा स्थायी समिति सदस्य तथा सांसद अग्निप्रसाद सापकोटाले सफल कार्यान्वयनमा जोड दिएका थिए।

प्रकाशित: १ श्रावण २०७६ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App