२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अपांगता भएकालाई कुक तालिम

मकवानपुर – शारीरिक रुपमा अपांगता भएकालाई स्वरोजगार तथा सीपमूलक तीन सय ९० घन्टे कुक तालिम दिइएको छ। प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको सहयोगमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडाले तालिम सञ्चालन गरेको हो।

राष्ट्रिय अपांग महासंघ प्रदेश नम्बर ३ सँगको सहकार्यमा आयोजित तालिममा १० महिलासहित १८ जनाको सहभागिता थियो। हिराप्रसाद पौडेलले प्रशिक्षण दिएको तालिममा सुनिता क्षेत्री र सरिता थापा मगरले दोभासेको भूमिका निर्वाह गरेका थिए।

अपांगता भएकाको आत्मबल बढाउँदै स्वरोजगार बनाउँने उद्देश्यले तालिम दिइएको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख युवराज गुरुङले बताए। ‘समाजमा अपांगता भएकाप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्दै आत्मनिर्भर बनाउन हामीले तालिम प्रदान गरेका हौं,’ उनले भने।

राष्ट्रिय अपाङ महासंघ प्रदेश नम्बर ३ का सहसचिव सन्तोष पौडेलले तालिमबाट शारीरिक रुपमा अपाङ्गता भएकालाई आत्मनिर्भर बन्न सहयोग गर्ने बताए। ‘अपांगता भएकालाई अहिले पनि समाजमा कमजोर रुपमा हेरिन्छ,’ उनले भने, ‘यस्ता तालिमले उनीहरुलाई आर्थिक, सामाजिक र मानसिक रुपमा अघि बढ्न सहयोग गर्छ।’

सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख इन्दिरा ओझा, प्रशिक्षक हिराप्रसाद पौडेल लगायतले अपांगता भएकाको विकासबिना विकास र समृद्धि गर्न कठिन हुने भन्दै उनीहरुका लागि बिशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

यसैबीच, व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले हेटौंडामा महिला आवासीय सिलाइकटाइ र कम्प्युटर सफ्टवेयर तालिम सम्पन्न गरेको छ। ६ महिने सिलाइकटाइ तालिममा अमृता बलामी र रचना राजथलाले प्रशिक्षण दिएका थिए।

तालिममा मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, अर्घाखाँची, दोलखा, चितवन लगायत १९ महिलाको सहभागिता रहेको थियो। तालिममा पहिलो हुने राधिका माझी (सिन्धुली), दोस्रो हुने सरिताकुमारी मोक्तान (मकवानपुर) र तेस्रो हुने करिश्मा परियार (अर्घाखाँची) लाई क्रमशः तीन, दुई र एक हजार रुपैयाँ प्रदान गरिएको थियो।

तालिमका सबै सहभागीलाई तालिम समापनका क्रममा १–१ थान सिलाइ मेसिन पनि प्रदान गरिएको थियो। त्यस्तै, २१ जना सहभागी ६ महिने कम्प्युटर सफ्टवेयर तालिममा दीपक सुवेदी र अच्यूत पोखरेलले प्रशिक्षण दिएका थिए।

प्रकाशित: २६ असार २०७६ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App