७ कार्तिक २०८१ बुधबार
image/svg+xml
अर्थ

'वित्तीय अनुशासन कायम हुनुपर्छ'

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार काठमाडौंको बालुवाटारमा नेपाल राष्ट्र बैकको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्दै। तस्बिर : रासस

काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको वित्तीय प्रणाली तथा आत्मनिर्भर अर्थतन्त्रको प्रवद्र्धनका साथै अनुशासन कायम राख्न तथा आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका सराहनीय रहेकोे बताएकी छन्।

सोमबार बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यास तथा ताम्रपत्र अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले देशको वित्तीय क्षेत्रको उन्नयनका लागि बैंकले स्थापना कालदेखि नै देश निर्माणमा ठोस कार्य गर्दै आएको बताइन्।         

नेपालीको विश्वास र भरोसा बोकेको बैंकले जारी गर्ने मौद्रिक नीतिले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पलाई साकार पार्न महत्वपूर्ण योगदान पु-याउने विश्वास उनले व्यक्त गरिन्।

‘बैंक तथा वित्तीय संस्थाले आमजनताबाट संकलित बचतलाई उत्पादन, कृषि, उद्योग, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी बढाएर मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग पु-याउनुपर्नेमा उनले जोड दिइन्। त्यस्तै मानवीय साधन र प्राकृतिक स्रोतको प्रयोग गरी व्यावसायिक अवसर प्रवद्र्धन गर्न राष्ट्र बैंक अग्रसर हुनेमा उनले विश्वास व्यक्त गरिन्।

उनले भनिन्, ‘राष्ट बैंकले आफू र मातहतका बैंक तथा वित्तीय संस्थालाई चुस्त र दुरुस्त राख्दै मुलुकको अर्थतन्त्रलाई सुदृढ राख्न तथा सरकारलाई नियमित रुपमा सुझाव दिन खाँचो रहेको छ।’ बैंकले ल्याउन लागेको मौद्रिक नीतिले सरकारद्वारा लक्षित आर्थिक समृद्धिको लक्ष्यमा योगदान पु-याउने उनको भनाइ छ।

जनस्वास्थ्य, शिक्षा र सार्वजनिक हित प्रवद्र्धनमा वित्तीय संस्थालाई परिचालित गर्दै रोजगारी अभिवृद्धिमा केन्द्रीय बैंकले निर्वाह गर्ने विश्वाससँगै सर्वसाधारणले पाउनुपर्ने आधारभूत बैंकिङ सेवाको सुनिश्चितामा उनले जोड दिइन्।

अर्थमन्त्री युवराज खतिवडाले मुलुक अहिले आर्थिक क्षेत्रकै पुनर्निर्माणको क्रममा रहेको बताउँदै सरकारले आर्थिक वृद्धिका साथै सामाजिक न्यायमा आधारित वितरणलाई प्राथमिकता दिएको बताए। मुलुकलाई विद्युतीय र बैंकिङ कारोबारयुक्त बनाउन तथा लगानीको वातावरणका लागि सरकार आवश्यक अभियानमा लागेको उनको भनाइ छ।

‘अहिले हामी पाँच प्रतिशतभन्दा निम्न आर्थिक वृद्विमा छौं, त्यसले हामीलाई लगानी बढाउँदै लैजाने ठाउँ दिएको छ,’ उनले भने, ‘व्यापार घाटा, विदेशी लगानीलाई सोचेअनुरुप आर्कषित गर्न नसक्नुलगायत बाह्य चुनौतीको सामना गर्दै अगाडि बढ्न आवश्यक छ।’

लघुवित्तीय तथा लघुबिमाको माध्यमबाट वित्तीय पहुँच बढाउँदै गइरहेको मन्त्री खतिवडाले बताए। एक वर्षमा बिमा तथा वित्तीय संस्थाका शाखा विस्तार भएको उनको भनाइ छ। त्यस्तै बिमा सेवा लिनेको संख्या बढेर १४ प्रतिशतबाट बढेर १९ प्रतिशत पुगेको उनले जानकारी दिए। सबै स्थानीय तहमा बैंकिङ पहुच पुग्ने स्थिति बन्दै गएको उनको भनाइ छ।

मुलुक आर्थिक विकासमा सक्षम रहन आवश्यक रहेको बताउदै उनले आर्थिक विकास निर्माणको जग कानुन निर्माण रहेकोे पनि प्रष्ट पारे। वित्तीय स्थायित्वको चरणमा मुलुक पुगेकाले मूल्यवृद्धि र व्यापार घाटा घटाउन तथा लगानीको प्रतिफल ल्याउन बैंकले प्रभावकारी भूमिका खेल्न सक्ने उनको धारणा छ।    

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले राष्ट्र बैंकको आफ्नै लगानीमा निर्माण हुन लागेको भवन पुरानै शैलीमा डिजाइन तय भएको र बैंकको आवश्यकतालाई ध्यान दिँदै निर्माण गर्नुपर्नेमा जोड दिए। अबको १० महिनामा निर्माण सम्पन्न हुनेगरी पहिलो, दोस्रो र तेस्रो चरण गरेर कामको बाँडफाँड गरिएको उनको भनाइ छ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले विनाशकारी भूकम्पबाट बालुवारटारस्थित केन्द्रीय कार्यालय, थापाथलीस्थित कार्यालयलगायत प्रभावित भए पनि भूकम्पबाट सेवा प्रभावित नभएको जानकारी गराए।

कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशतले वृद्वि हुने अनुमान रहेको आव ०७५/७६ मा बचतको अनुपात २.५ प्रतिशत र राष्ट्रिय बचतको अनुपात ५२.४ प्रतिशत रहेको गभर्नर नेपालले जानकारी दिए।

‘अहिले व्यापार घाटालाई निम्न बिन्दुमा झारेका छौं। कृषि, ऊर्जा, पर्यटनजस्ता क्षेत्रमा भुक्तानी बढेको छ,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्था पँुजीगत क्षेत्रमा लागेका छन् र गाभिने तथा मर्जरका माध्ययमबाट गुणस्तरमा जोड दिने कार्य भएको छ।’ उच्च आयातका कारण चालु आवको १० महिनामा व्यापार घाटा १९.४ प्रतिशतले वृद्वि भएको उनको भनाइ छ।

सो अवसरमा सात सय ३० स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भइसकेको गभर्नर नेपालले जानकारी दिए। २०७५ को असार मसान्तसम्म दुई करोड ३५ लाख रहेको निक्षेप खाता संख्या २०७६ को वैशाख मसान्तसम्म दुई करोड ७३ लाख पुगेको उनको भनाइ छ।

प्रकाशित: २४ असार २०७६ ०३:५० मंगलबार

आर्थिक_वृद्धि स्थायित्व केन्द्रीय_बैंक भूमिका