१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

चिया किसानद्वारा सूर्योदय नगरपालिका घेराउ

फिक्कल – नगरपालिकासँग आपत्ति जनाउँदै चिया किसानले इलामको सूर्योदय नगरपालिका घेराउ गरेका छन्। उद्योगीले अहिलेको ‘सिजन’मा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएको र नगरपालिकाले तोकेको दरभाउमा चिया खरीद गर्न नसक्ने भन्दै चिया फिर्ता गरेपछि किसान आन्दोलनमा उत्रिएर नगरपालिका घेराउ गरेका हुन्।

उनीहरुले सोमबार दिउँसोबाट नाराबाजीसहित नगरपालिका घेराउ गरेका हुन्। किसान र उद्योगीको सहमतिमा चिया खरिद बिक्री गर्दै आएकामा नगरपालिकाले चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ लागू गरेर हरियोपत्तीको न्यूनतम मूल्यप्रति किलोग्राम ४० कायम गरेको थियो। उद्योगीहरुले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दरभाउमा चिया खरीद गर्न नसक्ने भन्दै असार १२ गतेदेखि उद्योग बन्द गरेका थिए।

उद्योगीले चिया खरिद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेर आन्दोलनमा उत्रिएका छन्। नगरपालिकामा सञ्चालित विभिन्न निजी चिया कारखानाले हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरूप नगरपालिकाको गेटमै किसानले चिया पोखेका छन्। किसानले आइतबार साँझ नगरपालिका अगाडि, नयाँ चोक र फिक्कल बजारमा चिया पोखेर विरोध जनाएका थिए।

उद्योगीको संगठन सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनमा आवद्ध ५२ चिया कारखाना एकैपटक बन्द भएपछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य संघका प्रतिनिधिबीच उद्योग सञ्चालन गर्ने सहमति भएको थियो। समस्या समाधानका लागि तत्काल गुणस्तरका आधारमा मात्र नगरले तोकेको मूल्यमा चिया खरिद गर्ने र एक उच्चस्तरीय समिति बनाएर दीर्घकालीन रूपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको थियो।

उद्योग सञ्चालनमा आएको १२ घण्टा नबित्दै किसानको चियाको गुणस्तर नपुगेको भन्दै कारखानाले चिया फर्काएपछि किसानले आन्दोलन थालेका हुन्। नगरपालिका घेराउसहित किसानले तत्काल निर्णय सच्याउन र सजहरूपमा चिया खरीदबिक्री गर्ने वातावरण बनाउन माग राख्दै आन्दोलनमा उत्रिएका हुन्।

उनीहरूले गत शनिबार भएको सहमतिमा किसानका प्रतिनिधि भन्दै नगरपालिकाले आफैं प्रतिनिधि बोलाएर हस्ताक्षर गर्न लगाएको भन्दै किसान आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले उक्त सहमति आफूहरुको उपस्थितिमा नभएको भन्दै स्वीकार्न नसकिने बताउँदै आएका छन्।रासस

प्रकाशित: १७ असार २०७६ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App