१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

दैलेखमा ग्यास अन्वेषण सुरु

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवद्धारा पादुकामा अनुगमन गर्दै। तस्बिर/नागरिक

दैलेख – सोमबार बिहान ज्वाला क्षेत्र श्रीस्थान र नाविस्थानमा चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागका उच्च अधिकारीहरु पुगेका छन्। यहाँ रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि उनीहरु आएका हुन्। नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्बारे सम्झौता भएपछि टोली दैलेख आएको हो। यो टोलीले तिन वर्ष लगाएर अन्वेषण गर्ने जनाईएको छ।

टोलीले श्रीस्थान, नाविस्थान, धुलेश्वर, पादुका र कोटिलाको अवलोकन गर्ने छ। टोलीसंगै उद्योग वाणिज्य तथा आपुत्र्ति मन्त्री मातृकाप्रसाद यादव, पुर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहित अन्य उच्चअधिकारीहरु दैलेखको पंचकोशी क्षेत्रमा आएका छन्। अन्वेषणका क्रममा अनुसन्धान टोलीले ग्यास तथा पेट्रोलियम पदार्थ भएको जमिनमुनीमा कम्तिमा ५ देखी २० किलोमिटरसम्म अध्यायन गर्नेछन्। भूगर्भ विभागका पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले सहितको टोली नेपाली टोली पनि सहभागी छ। यसअघि पनि भूगर्भ विभागले गरेको अन्वेषणबाट दैलेखमा पेट्रोलियम पदार्थ रहेको प्रमाणित भइसकेको परियोजना प्रमुख रजौरेले बताए। चिनको चाईना जिओलोजिकल सर्भेको टोलीको नेतृत्व बरिष्ठ भुगर्वविद् टयान फुएनले गरेका छन्।

अन्वेषणमा दोस्रो चरणमा स्यास्ट्रिक सर्भेगरिनेछ जसले जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ हुनेछ। जमिनमुनि पेट्रोलियम पदार्थको भण्डारण कहाँ छ, कति भनेर पत्ता लाग्ने अन्वेषण आएका विद्हरुले बताए। यहाँ मिथेन ग्यास रहेको यसअघि नै पत्ता लागिसकेको थियो। उद्योग वाणिज्य तथा आपुत्र्ति मन्त्रालयमा अन्य पेट्रोलियम पदार्थ उत्खनन् गरेका भारत र चिनका कम्पनीहरुबाट रोक्नका लागि चलखेल हुने गरेको एक पूर्व मन्त्रीले बताएका छन्। ‘उत्खनन्बारे जति हल्ला हुन्छ त्यती रोक्नका लागि दवाव मन्त्रालयसम्म पुग्छ।’ ती पूर्व मन्त्रीले भने, मिडियादेखी अन्य संजालसम्म नपुराएर भित्रभित्र  अन्वेषण तथा उत्खनन्सम्म गरेको भए सहज हुनेथियो।’

तीन वर्षमै उत्खनन हुन्छ: मन्त्री यादव
अन्वेषणको कार्य सम्पन्न भएपछि मात्र पेट्रोलियम ग्यास उत्खननको कार्यलाई अघि बढाईने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बताएका छन्। चिनियाँ र नेपाली प्राविधिक टोलि सहित नाविस्थानमा पुग्नुभएका मन्त्री यादवले सवैको सहयोगले पेट्रोलियम ग्यास उत्खनन् हुने उदुघोष गरेका हुन्।

मन्त्री यादव पादुका श्रीस्थान, र नाविस्थान पुगेर अवलोकन गरेका थिए। सोमवार नाविस्थानमा जिल्ला समन्वय समितिले पेट्रोलियम पदार्थ अन्वेषण कार्यका लागि आएका पाहुनाहरुलाई स्वागत कार्यक्रममा मन्त्री यादवले पेट्रोलिलयम  ग्यास कति निकाल्न मिल्ने कि नमिल्ने हो प्राविधिक टोलि अन्तिम प्रतिवेदन पछि मात्र उत्खनन कार्यलाई अघि बढाईने बताए। अबको तीन वर्ष भित्र अन्वेषणको काम सम्पन्न हुने जानकारी उनले दिए। ‘अन्वेषण नै नगरि उत्खनन गर्दा  लगानी खेर जान सक्छ।’  मन्त्री यादवले भने, अन्वेषण गरी उत्खनन्को कार्यलाई तिव्रता दिनेछौँ।’

यसैगरी पुर्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री सोमप्रसाद पाण्डेले आफुले सुरु गरेको कार्य विगतको दुई सरकारले कुनैपनि चासो नदेखाएकाले अन्वेषणको कार्य ढिलाई बताए। आफु  मन्त्री हुदाँ चिनियाँ टोलि सहित  २०७३ साल वैशाख २३ गते प्रराम्भिक अन्वेषणलाई पुगेको पाण्डे दैलेख आएका थिए। पहिलो आफु आउँदा पनि चिनियाँ टोलिले पेट्रोलियम पदार्थ हुन सक्ने अनुमान गरेको जानकारी पाण्डेले दिए। खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाका चीनले नेपालमा पहिलो पटक पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गर्न लागेको जानकारी दिए। महानिर्देशक सापकोटाका अनुसार अन्वेषणका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक टोलीले अन्वेषण गर्न दैलेख आईपुगेको बताए। ‘हामीले सुरुमै आएर उत्खनन् गर्ने होइन’, महानिर्देशक सापकोटाले भने, ‘अबको अन्वेषणले पेट्रोलियम खानीबाट व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिने भन्ने पहिल्याउने छ।’ जिल्लाबाट प्रतिनिधित्व गर्ने माननिय संघ र प्रदेशका सांसदहरु रविन्द्रराज शर्मा, राजबहादुर बुढा, पार्वती विशुन्के, अम्मरबहादुर थापा, सुसिल थापा लगायत सहभागी थिए।

स्थानीय सरकारको ध्यानआर्कषण
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्य सुरु हुँदै गर्दा स्थानीय सरकार प्रमुखहरुले ध्यानआर्कषण गराएका छन्। उनीहरुले यहाँको धार्मीक, महत्व विस्वासलाई मेटाउने तर, उत्खनन् कार्य नरोकिनुपर्ने केन्द्र सरकारलाई ध्यानआर्कषण गराए। दुल्लुनगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले न धार्मीक क्षेत्र हुने न ग्यास निकालिने अवस्थामा अन्वेषण भएमा दैलेखलाई ठुलो क्षति हुने बताए।

प्रदेश सांसद सुसिल थापाले  अन्वेषण सकिएर उत्खनन् सुरु भएमा दैलेख मात्र नभई नेपालकै आर्थिक मजबुध हुने बताए। कुनै बाहानामा अन्वेषण सकिएसंगै उत्खनन् रोकिए नेपालकै लागि दुखद कुरा हुने सांसद थापाको भनाई छ। स्थानीयहरुले अन्वेषणका क्रममा सदियौंदेखी बलिरहेको ज्वाला निभेमा कसले जिम्मेवारी दिने भनेर आक्रोशित भएका छन्। ‘देशलाई नै आर्थिक रुपमा फाईदा हुन्छ भने उत्खनन् होस्।’ स्थानीय यूवा रुपक केसीले भने, तर, अन्वेषणमै पंचकोशी धार्मीक स्थलको गरिमा मेटिन्छ र उत्खनन् हुदैन् भने पछि त्यसको जिम्मेवारी लिन पनि तयार हुनुपर्छ।’

प्रकाशित: १७ असार २०७६ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App