११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

उदयपुर सिमेन्ट उद्योग निरन्तर सुधारतर्फ

जलजले (उदयपुर)- राजनीतिक बेथिति र प्रशासनिक अराजकताले थलिएको लामो समयपछि वौरिन थालेको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) पछिल्लो समय निरन्तर सुधारको क्रममा छ। एसियाकै उत्कृष्ट गुणस्तरीय प्रमाणित गैंडा छाप सिमेन्टको उत्पादक उसिउलिले दुईवर्षयता परिणाममा देखिने गरी उत्पादन र विक्रीमा प्रगति गरेको हो।

०४४ सालमा जापान सरकारको सहयोगमा स्थापित उसिउलि नेपाल सरकारलाई ०५२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेदेखि नै दलीय कोपभाजन र मजदुर राजनीतिको भूमरीमा परेसँगै वर्षेनी उत्पादन घट्दै गएर टाट पल्टने स्थितिमा पुग्यो। एकपछि अर्को वर्ष घाटा जाने क्रमले निरन्तरता पाएकै कारण ०७१/७२ मा सरकारले उद्योगलाई नीजिकरण गर्ने निर्णय गर्‍यो। तर, सरकारको नीजिकरण गर्ने निर्णय फिर्ता लिन दबाब दिदै व्यवस्थापनपक्ष र प्रतिष्ठानस्तरका मजदुर संघ/संगठनले गरेको आग्रह अनुसार नीजिकरणको निर्णय फिर्ता लिन सरकार बाध्य भयो। नीजिकरणको सरकारी निर्णयले त्रसित उद्योगका कर्मचारी/मजदुरहरु उच्च मनोबलका साथ काममा सक्रिय भएर लागेको परिणाम उद्योग दिनदिनै सुधार हुन थाल्यो।

उद्योगका निमित्त महाप्रबन्धक (जिएम) नवलकिशोर साहले चालु आर्थिकवर्ष लक्ष्यभन्दा बढी सिमेन्ट उत्पादन गर्नेगरी व्यवस्थापनपक्ष र कर्मचारी मजदुरहरु लागिरहेको बताएका छन्। उनका अनुसार चालु आर्थिक वर्षको जेठ १४ गतेसम्म १८ लाख ६० हजार बोरा सिमेन्ट उत्पादन भईसकेको छ। त्यत्तिकै मात्रामा क्लिंकर (बोरामा भर्न बाँकी तयारी सिमेन्ट) गोदाममा मौज्दात रहेको पनि उनले बताए। ‘यो वर्ष १ लाख ३२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने वार्षिक लक्ष्य लिइएको छ’ साहले भने ‘तर, अहिलेसम्मको उत्पादन हेर्दा लक्ष्य त सहजै प्राप्त हुन्छ नै, हामीले लक्ष्यभन्दा बढी उत्पादन गर्ने गरी काममा लागिरहेका छौं।’ आर्थिक वर्ष सकिन अझै डेढ महिना बाँकी रहेकाले कम्तीमा १ लाख ४० हजार मेट्रिक टन पुग्ने उनको अपेक्षा छ। ‘अहिलेसम्मको अवस्था हेर्दा लक्ष्यभन्दा कम्तीमा १० हजार मेट्रिक टन बढी नै उत्पादन गर्न सक्छौं भन्ने लागेको छ’ साहले भने।

उत्पादन महाशाखा प्रमुख इन्जियिनर सञ्जयलाल कर्णले उद्योग स्थापनादेखि अहिलेसम्मको इतिहासमा तेस्रो पटक उच्च उत्पादन गएको वैशाखमा भएको बताए। उनका अनुसार वैशाखमा मात्र २० हजार ५ मेट्रिक टन अर्थात ४२ हजार बोरा सिमेन्ट उत्पादन भएको छ।

उत्पादन विभागका अनुसार गत आर्थिकवर्षको वैशाखसम्म १ लाख १ हजार ८७ मेट्रिक टन सिमेन्ट उत्पादन भएकोमा चालु वैशाखमा १२ हजार ४ सय ५१ मेट्रिक टन अर्थात २५ हजार बोरा बढी उत्पादन भईसकेको छ । अर्थात चालु वैशाखसम्ममा १ लाख १३ हजार ५ सय ३८ मेट्रिक टन उत्पादन भईसकेको तथ्यांक उत्पादन विभागसँग छ।

आर्थिक महाशाखा प्रमुख कमल पौडेलले चालु वर्ष अहिलेसम्म १ लाख १३ हजार ५ सय ३८ मेट्रिक टन तयारी सिमेन्टमध्ये १८ लाख ६० हजार बोरा विक्री भएर १ अर्ब ४९ करोड १७ लाख २० हजार रुपैंया आर्जन भईसकेको बताए। झण्डै ३२ करोड रुपैंया बराबरको सिमेन्ट र क्लिंकर गोदाममा अहिले पनि मौज्दात रहेको उनको भनाई छ। वार्षिक लक्ष्य १ लाख ३२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएमा २७ लाख ७२ हजार मेट्रिक टन सिमेन्ट विक्रीबाट २ अर्ब २२ करोड ३१ लाख ४४ हजार रुपैंया उद्योगलाई आर्जन हुने प्रमुख पौडेलले बताए।

सरकारले बुधबार घोषणा गरेको बजेट तथा नीति वक्तव्यमार्फत उद्योगलाई स्तरोन्नति गर्ने नीति ल्याएकोमा पनि उद्योग परिवार खुसी भएको छ। बजेट भाषणमार्फत अर्थमन्त्री युवराज खतिवडाले उदयपुर सिमेन्ट र हेटौंडा सिमेन्टलाई स्तरोन्नति गर्न बजेटको व्यवस्था गरिएको घोषणा गरेकोप्रति निमित्त महाप्रबन्धक साहले खुसी व्यक्त गर्दै उद्योगलाई थप सुधार गरेर लान सकिने प्रतिक्रिया दिए। उनका अुनसार उद्योगको बर्नर मिल र किल्न मिल धेरै पुराना भएकाले खिइदै गएको भन्दै तत्काल फेर्नुपर्ने आवश्यक्ता छ। त्यस्तै उत्पादन क्षमता बढाउन उपकरण तथा दुईवटा तौल उपकरणमध्ये एउटा चालुवर्ष डिजिटलाईज गरेर बाँकी एउटा म्यानुअल प्रविधिको मेसिन पनि डिजिटलाईज गर्नुपर्ने योजना साहले अघि सारेका छन्।

प्रकाशित: १७ जेष्ठ २०७६ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App