७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

मुस्ताङको लोमान्थांग अब थ्रिजी मोबाइलको पहुँचमा

काठमाडौं– नेपाल टेलिकमले मुस्ताङको अतिविकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेर भन्ने स्थानमा सोमबारदेखि जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमका बीच मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै टेलिकमका कर्मचारीको उपस्थितिमा सो साइट सञ्चालनमा ल्याइएको हो। 

दुर्गम तथा विकट हुनुका साथै चीनको सीमानासम्म जोडिएका ती गाउँमा जीएसएम मोबाइल टावर स्थापनाको कार्य निकै कठिनाईका बाबजुद सफलतापूर्वक सम्पन्न गरी जीएसएम मोबाइलको पहुँच पुर्याइएको हो। यसअघि सो स्थानमा कुनै पनि मोबाइल सेवाको पहुँच थिएन। अब उक्त भेगमा समेत टुजी तथा थ्रिजी मोबाइल सेवा सञ्चालनमा आएका छन्।  
 
उक्त मोबाइल सेवा सञ्चालनपश्चात समुद्र सतहदेखि करिब ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित सो क्षेत्रका ४ गाउँ गर्थु, न्याम्दो, चुङजुङ र कोरलाका १ सय ५० भन्दा बढी घरधुरी लाभाम्वित हुनेछन्। सेवा सूचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको पाइएको छ। अब सो क्षेत्रका बासिन्दाले जीएसएम मोबाइलबाट डाटा चलाउन र फोन गर्न सक्नेछन्। त्यसैगरी भ्रमणका लागि गएका आन्तरिक तथा बाह्य पर्यटकहरु समेत लाभाम्वित हुनेछन्। 

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो। प्रतिफल कम आउने र  तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी टेलिकमले सेवा सञ्चालनमा ल्याएको प्रवक्ता प्रतिभा वैद्यले बताइन्। 

प्रकाशित: १४ जेष्ठ २०७६ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App