८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

रसुवागढी भन्सारमा असार १ बाट ब्रोकर मोडल

रसुवा - रसुवागढी भन्सार कार्यालयमा आउँदो असार १ गतेदेखि आसिकुडा वल्र्ड सिस्टमको ब्रोकर मोडल सञ्चालनमा आउने भएको छ। भन्सार जाँचपास प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता र मापदण्ड अनुरूप बनाउने तथा आसिकुडा वल्र्ड सिस्टम पूर्ण कार्यान्वयनमा ल्याउन ब्रोकर मोडल सञ्चालनमा ल्याउन लागिएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए।

ब्रोकर मोडलले भन्सार कार्यालयका कर्मचारी र व्यवसायी दुवैलाई जिम्मेवार बनाउने छ। यसले कार्यालयमा कामको चाप घट्नेछ। आयातकर्ता, प्रतिनिधि वा भन्सार एजेन्टले ब्रोकर मोडलबाट मालवस्तुको घोषणा गर्नेछन्।यो मोडल सिन्धुपाल्चोकको तातोपानी भन्सार सञ्चालनकै दिनबाट र रसुवागढीमा भने असार १ गतेबाट लागू गर्ने भन्सार विभागले जनाएको छ। यसका लागि विभागले आयातकर्ता तथा एजेन्टलाई तालिम दिनेछ।

यसअघि एजेन्ट नभएका कारण ब्रोकर सुरु हुन सकेको थिएन। यो प्रणालीले भन्सार कर्मचारी र व्यावसायीबीचको दूरी पनि बढाउनेछ। यसका लागि व्यावसायी तथा एजेन्टले पासवर्ड पाउँछन्। त्यही सफ्टवेयर प्रयोग गरेर उनीहरूले जहाँबाट पनि सामग्रीको घोषणा गर्न सक्छन्। घोषणा गर्नुपूर्व उनीहरूले सामग्री अनुसार महसुल हेर्नुपर्छ। संकेत नम्बर गलत गरेर कम मूल्यांकन गरेमा कार्बाही हुने उनले बताए। जाँचपास गराउन भन्सारको कर्मचारी अनिवार्य हुँदै आएकोमा यसले कमी ल्याउने विश्वास गरिएको छ।

यसअघि साना व्यवसायी तथा एकपटक मात्र सामग्री ल्याउनेका लागि प्रयोग गरिने ९९९ पासवर्ड प्रयोग गरेर काम गर्ने गरिएको थियो। चीनसँग सीमा जोडिएका नाकाबाट हुने व्यापारलाई सहज बनाउन आसिकुडा वल्र्ड सिस्टम सञ्चालनमा ल्याइएको हो। रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ।

चीनबाट तयारी कपडा, स्याउ, लेडिज चप्पल, रबर, प्लास्टिकका जुत्ता, चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकका सामान आयात हुने गरेको छ। नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमञ्जन, शृंगार सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, ऊनीका गलैंचा, कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिम लगायत वस्तु निकासी भइरहेको छ।

२०७१ सालदेखि औपचारिक सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्छन्। चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्न २४ किलोमिटर दुरी पार गर्नुपर्छ।
 

प्रकाशित: ९ जेष्ठ २०७६ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App