२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

बौरिँदै चीन जोड्ने घाँटी

भूकम्प र भोटेकोसी बाढीले क्षतविक्षत बनेको चीन जोड्ने तातोपानी नाकाको लिपिङ बजार (१)। र, पुनर्निर्माणपछि तंग्रिदै गरेको लिपिङ। तस्बिर: ध्रुव/नागरिक

तातोपानी (सिन्धुपाल्चोक) - तल नेपाल–चीन सीमारेखा कोरेर बगेको भोटेकोसी नदी। माथि चट्टाने पहाड। बीचमा छ, विशाल छिमेकी मुलुक चीन जोड्ने अरनिको राजमार्ग। तिब्बतको मुखैमा लिपिङ बजार। त्यसपछि कोदारी, अझ तल तातोपानी र झन् तल लार्चा बजार। 

ती सुनसान थिए। रित्ता थिए। बजारका स्वरुप क्षतविक्षत् थियो। हिँड्ने बाटोघाटो थिएन। भोटेकोसी नदीको एकोहोरो सुसाइ र मानवविहीन बस्तीले बजार मसानघाट जस्तै लाग्थे। वर्ष अघिसम्मको सीमा क्षेत्रको यो रुप बदलिएको छ। बिनासकारी भूकम्प र भोटेकोसी बाढीले जीवनमरणको दोसाँधमा पुगेको नाकाका बजार गुल्जार बन्दैछन्। अर्थात् छिट्टै सञ्चालन तयारीमा रहेको उत्तरी चीन जोड्ने मुख्य व्यापारिक नाका तातोपानी बौरिँदै छ।

पुनर्निर्माणमार्फत चार वर्षपछि नाका तंग्रिने तरखरमा पुगेको हो। नाकाको पुनर्निर्माणमा चीन अहोरात्र खटिरहेको छ। पहिरो र नदी नियन्त्रणको काम सकिएको छ। पक्की सडकले नाका जोडिइसकेको छ। अब मितेरी पुलले मात्र नाका चीनसँग जोडिन बाँकी छ। त्यो निर्माण पनि अन्तिम चरणमा पुगेको छ।

‘अब फेरि पनि नाका तंग्रिएला बन्ने सोचेकै थिएनौं,’ लिपिङ बजारमा भर्खरै बनेको सडक दायाँ–बायाँको खुकुलो माटोमा घाँसको बीऊ रोपिरहेकी स्थानीय शान्ति कार्कीले बताइन्। चिनियाँसँगै मजदुरका रुपमा वर्षदेखि पुनर्निर्माणमा खटिइरहेकी उनी नाका सञ्चालनसँगै व्यापारमा फर्कने तयारीमा रहेको सुनाउँछिन्। भूकम्पअघि उनी झोला पोकामा चिनियाँ सामग्रीको व्यापार गर्थिन्।

२०७२ वैशाख १२ को भूकम्पमा पहिरो खसेर तहसनहस भएको भोटेकोसी गाउँपालिकामा पर्ने नाकाका बजार बिस्तारै तंग्रिदै थिए। भूकम्पमा बचेका घर, होटल, पसलमा बिस्तारै चहलपहल सुरु हुँदै थियो। पहिरो खसेर पुरिएको सडक पन्छाएर सवारी गुड्न थालेका थिए। नाका सञ्चालनमा ल्याउन तातोपानी भन्सार, अध्यागमन, पशु र खाद्य क्वारेन्टाइनका कार्यालय र सुरक्षा एकाइ फर्केका थिए।

नाका खुल्ने संकेतसँगै भूकम्पयता १४ महिना बन्द रहेको बजार बौरिने तर्खरमा थियो। प्रकृतिको प्रहार निर्मम नै हुने रहेछ ! भूकम्पको एक वर्षपछि २०७३ असारमा तिब्बतको हिमताल फुटेर भोटेकोसीमा आएको बाढीले नाकामा उपद्रो मच्चाइदियो। झन्डै तीन दर्जन घर भोटेकोसीले तानिदियो। सडक छिया–छिया पारेर नदीतिरै लछा¥यो। उठ्नै नसक्ने गरी नाका थिचियो। स्थानीय भन्थे, ‘अब नाका पूरानै अवस्थामा फर्कन सम्भव छैन।’

तर नुन सटहीबाट आधुनिक बनेको ऐतिहासिक नाका सधैं यही अवस्थामा रहन सम्भव थिएन। यसको उदाहरण अहिले नाकामा देख्न सकिन्छ। ठाउँ–ठाउँमा टुटेका सडक ट्र्याक जोडिएको छ। भूकम्पले निम्त्याएका अनगिन्ती पहिरो हटेका छन्। नदीतिर बग्दै गरेका घर हटाइएका छन्। लिपिङदेखि लार्चासम्म भोटेकोसीबाटै जाली गारो लगाएर उठाइँदै झन्डै पाँच किलोमिटर सडक बनेको छ। चिनियाँ प्रविधिद्वारा कालोपत्रे गरिएका सडक पहिलेभन्दा राम्रो देखिन्छ।

स्थानीय राजकुमार राई पुनर्निर्माणपछि नाकाको जनजीवन सामान्य लयमा फर्कदै गएको बताउँछन्। ‘भूकम्प र बाढीपछि नाका छोडेर हिँडेकाहरु फर्कन थालेका छन्,’ उनले भने। उनका अनुसार कोदारी, तातोपानी र लार्चा बजारमा स्थानीयको बाक्लो चहलपहल सुरु भएको छ। ‘जहाँबाट आएको हो, त्यहीं फर्कनु पर्ने त होइन भन्ने चिन्ता थियो,’ उनले भने, ‘त्यो चिन्ता क्रमशः हट्दै गएको छ।’ ४० वर्षअघि ‘ड्राइभिङ’ काम खोज्दै ओखलढुंगाबाट तातोपानी आइपुगेका उनी चिनियाँ व्यापारको कमाइबाट यतैका स्थानीय बनेका थिए।

जेठभित्रैबाट नाका सञ्चालनमा ल्याउने सरकारको तयारी छ। पुनर्निर्माणसँगै नाका सञ्चालनमा आउने चर्चाले नाकावासी अझ उत्साही बनेका छन्। नाका सञ्चालनसँगै व्यापार÷व्यवसायमा फर्कने तयारीमा जुटेका छन् उनीहरु। ‘गुमेको रोजिरोटी फर्कन लाग्दा खुसी छौं,’ पुनः झोला पोकामा व्यापार फर्कने तयारीमा रहेकी माया खड्काले भनिन्।

प्रकाशित: ३१ वैशाख २०७६ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App