१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘आर्थिक समृद्धिको आधार सहकारी’

कार्यक्रममा आफ्ना धारणा राख्दै राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल। तस्बिर: संगम/नागरिक

बागलुङ - सरकारले सहकारीसमेत परिचालन गरी फराकिलो आधारसहितको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने बताइरहँदा सहकारी क्षेत्रका सरोकारवालाले मुलुकको आर्थिक समृद्धिको आधार सहकारी क्षेत्र हुने बताएका छन्। सहकारी विभागको सहयोगमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ बागलुङ शनिबार बागलुङमा आयोजित कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा बोल्ने बक्ताहरुले मुलुकभर रहेका ३४ हजार पाँच सय १२ सहकारीमा रहेको करिब ७५ अर्बको सेयर पुँजी परिचालन गरेर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए। सहकारी संस्थाले वार्षिक करिब साढे पाँच खर्बको कारोबार गरेर अर्थतन्त्रमा योगदान पु¥याएको दाबी गरे।

राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि सहकारी संस्थाले सघाउने बताए। ‘देशको विकासका लागि सहकारीहरुले आफ्ना सदस्यहरुलाई समृद्धिको मार्गमा डो¥याउनु पर्छ,’ पौडेलले भने, ‘अािर्थक समृद्धिको वैज्ञानिक आधार सहकारी हुन्।’ मुलुकका लागि अब अब आर्थिक समृद्धि र विकास चाहिएको बताए।

‘सामूहिक विकासका लागि भूमिका खेल्न सक्ने संस्था सहकारी हो,’ उनले भने, ‘सहकारीको स्रोतलाई उत्पादनमा लगाउनु पर्छ।’ नेपालका सहकारीमा स्रोतको भन्दा पनि सोंचको कमी भएको बताए। लगानी वृद्धि गर्न सहकारी ऐन र नियमावलीले सघाउने बताए। ‘अहिले पछिल्लो पटक आएका सहकारी ऐन र नियमावलीबाट सहकारीका साथी धेरै नै डराएजस्तो लाग्यो,’ उनले भने, ‘सहकारी ऐन सुधार भएर आउँछ।’

सहकारी अभियानमा राजनीति हाबी भएकाले सहकारीकर्मी राजनीतिमा जानुभन्दा समृद्धिको अभियानमा लाग्नुपर्ने बताए। सहकारी ऐन २०७४ तथा सम्पत्ति शुद्धीकरण निवारण अभिमुखीकरण विषयक अभिमुखीकरण कार्यक्रममा यस्तो बताएका हुन्।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारी संस्था उत्पादनमा लागेर आर्थिक समृद्धिमा सघाएको बताए। ‘जनताले चाहेको समृद्धिमा सहकारी सहयोगी बन्न सक्छन्,’ भण्डारीले भने, ‘राज्यले पनि सहकारीलाई प्रोत्साहन गर्नुपर्छ।’

–आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि सहकारी संस्थाले सहयोग बन्न सक्छन्– दक्ष पौडेल, राष्ट्रिय सहकारी विकास बोर्ड

सहकारी संस्थाबाट ऋण लिएर चुनाव लडेका सांसद सहकारीविरुद्ध लागेको धारणा राखे। ‘बैंकले बिनाधितो ऋण दिँदैन, चुनावमा सहकारीबाट बिनाधितो ऋण लिएर नतिरेका सांसद सहकारीविरुद्ध छन्,’ उनी भन्छन्, ‘ऋण नतिरेपछि प्रक्रियाअनुसार पत्रपत्रिकामा नाम छापिएपछि कतिपय सांसद यसविरुद्ध लागेका हुन्।’ सहकारी संस्था पनि आफू राम्रो बन्ने अभियानमा लाग्नुपर्नेमा जोड दिए। ‘हामीले अर्कोलाई नराम्रो बनाउने भन्दा पनि आफू राम्रो बन्नेमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘सदस्यको विश्वास जितेर अगाडि बढेमा सहकारी संस्था गतिशील हुन्छन्।’

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी सहकारी अभियानलाई सार्थक र सफल बनाउन सबै सहकारी संस्था हातेमालो गर्न आवश्यक रहेको बताए। ‘सरकारले हरेक क्षेत्रमा सहकारीलाई प्राथमिकता दिएको छ,’ जिसीले भने, ‘सहकारीको पुँजी परिचालन गरेर समृद्धिको अभियानमा अघि बढ्नुपर्छ।’

सहकारी संस्थाले बैंकले जस्तै सेवा दिएकाले सहकारीमा पनि आकर्षण बढेको बताएका थिए। पछिल्लो समय छिटो, छरितो र आधुनिक बैंकिङ सेवा दिएर सहकारी संस्था अब्बल बनेका छन्। सहकारीका मूल्य, मान्यताअनुसार पुँजी वृद्धि, वित्तीय सुशासन, प्रविधि प्रयोग, कारोबारको भोलुम वृद्धि, सेवा केन्द्र विस्तार, लगानीका हिसाबले प्रभावकारी बन्दै गएको सहकारी सञ्चालक बताउँछन्।

कार्यक्रममा बागलुङ, म्याग्दी र पर्वतबाट गरी करिब एक सय बहुउद्देश्यीय सहकारी संस्थाबाट दुई सयजना सहभागी छ। कार्यक्रममा सहकारी ऐनसम्बन्धी बहुउद्देश्यीय सहकारी संघका केन्द्रीय अध्यक्ष सुरेन्द्र भण्डारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्र बैंकका उपनिर्देशक हरिकुमार नेपालले सहजीकरण गरेका छन्। धौलागिरिका बहुउद्देश्यीय सहकारी संस्थालाई उद्देश्यअनुसार काम गर्न प्रेरित गर्न र सहकारी ऐनबारे जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बहुउद्देश्यीय जिल्ला सहकारी संघका अध्यक्ष दुर्गा कुँवरले बताए।

प्रकाशित: २२ वैशाख २०७६ ०१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App