काठमाडौं - मुलुकको अर्थनीतिमा सरकारले सहकारी क्षेत्रलाई पनि एक खम्बाको रुपमा राखेपछि यो क्षेत्र फस्टाएको छ। सहकारी संस्थाहरुले पछिल्लो समय वित्तीय सेवामा फड्को मारेका छन्।
सदस्यको मागका आधारमा सहकारीले बैंकले जस्तै सेवा दिएका छन्। सहकारी भन्दासाथ सानो पुँजी, थोरै लगानी, न्यून सदस्य, एक ठाउँबाट मात्र सेवा दिन्छन् भन्ने परम्परागत सोचाइलाई तोड्नै सेवामा विविधीकरण र प्रभावकारी बनाएका हुन्। बैंकमा जस्तै सफ्टवेयरमार्फत डिजिटल कारोबार, एप्स र एसएमएस बैकिङ, अन्तरबैंकिङ सेवा दिएर आफूलाई अब्बल स्थापित गरेका हुन्।
एटिए तथा मोबाइल बैंकिङ सुविधा, अर्बौं रुपैयाँको कारोबार तथा लगानी, पर्याप्त सेवा केन्द्र (शाखा) लगायतबाट सहकारी संस्थाहरुले सेवा दिएर बैंककै हाराहारीको रुपमा देखिएका छन्।
छिटो, छरितो र आधुनिक बैंकिङ सेवा दिन सहकारी अब्बल बन्दै गएको बचत तथा ऋण सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष डिबी बस्नेतले बताए। ‘धेरै सहकारी संस्थाहरुले डिजिटल प्रविधिमार्फत बैकिङ सेवा दिन सक्षम भएका छन्,’ बस्नेतले भने, ‘सहकारीको सेवा प्रभावकारी बन्दै गएको छ।’
सहकारीका मूल्य, मान्यता अनुसार पुँजी वृद्धि, वित्तीय सुशासन, प्रविधि प्रयोग, कारोबारको भोलुम वृद्धि, सेवा केन्द्र विस्तार, लगानीका हिसाबले प्रभावकारी देखिएका छन्।
राजधानीसहित जिल्ला–जिल्लाका सहकारीले प्रभावकारी वित्तीय सेवा दिएका छन्। नवलपुरको बिकू बचत तथा ऋण सहकारी संस्थाको पुँजी साढे तीन अर्ब रुपैयाँभन्दा बढी छ। सहकारीका करिब ४५ हजार सेयर सदस्य छन्। बिकूले आफ्ना सदस्यलाई छिटोछरितो सेवा दिनका लागि विभिन्न ठाउँमा ११ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको सहकारीका अध्यक्ष केशवप्रसाद सापकोटाले बताए। सापकोटाका अनुसार सहकारी मोबाइल बैंकिङ, एटिएम सेवा पनि दिएको छ। ‘सदस्यलाई प्रविधियुक्त बैंकिङ सेवा दिएका छौं,’ उनले भने।
सहकारी संस्थाहरु प्रविधिमैत्री भएका छन्। बिकू सहकारीको एटिएमबाट एसटिसी नेसनल नेटवर्कमा आबद्ध मुलुकभरका र भारत, भुटानका बैंकबाट पनि रकम निकाल्न सकिने बताइएको छ। बिकूमा बैंकले प्रयोग गरेको नविनतम प्रविधिलाई प्रयोग गरेर भिसा कार्डबाट पैसा निकाल्न सकिने व्यवस्था मिलाएको सहकारीका कार्यकारी अधिकृत प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले बताए। खातापातामार्फत कारोबार गर्ने सहकारी बैंकहरुकै सिस्टमलाई पछ्याउँदै प्रविधिमैत्री बन्न थालेका छन्।
‘बैंककै मोडालिटीमा सहकारीबाट सेवा दिएका छौं,’ पौडेलले भने। प्रविधिमात्र नभएर कारोबारमा पनि सहकारीले विकास बैंककै हाराहारीमा कारोबार गरेका छन्। काभ्रेको सामुदायिक सहकारीले वार्षिक एक अर्ब ६० करोड रुपैयाँको कारोबार गर्छ। सेयर पुँजी १६ करोड रुपैयाँ छ। सातवटा सेवा केन्द्रबाट १७ हजार पाँच सय सेयर सदस्यलाई सेवा दिन्छ। सहकारीले सदस्यलाई सजिलो पार्न टेलिफोन, इन्टरनेट, मोबाइल रिचार्जका लागि डिजिटल सेवा उपलब्ध गराएका छन्। बैंकको पहुँचबाहिर रहेका सदस्यलाई आधुनिक बैंकिङ सेवामा जोडेका छन्। एउटा सदस्यले अर्को सदस्यलाई मोबाइलबाटै रकम ट्रान्सफरको व्यवस्था मिलाएका छन्।
सहकारी विभागका अनुसार मुलुकभर ३४ हजार पाँच सय १२ प्रारम्भिक संस्था छन्। राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष केशवप्रसाद बडालका अनुसार सहकारीमा करिब ७५ अर्बको सेयर पुँजी छ। ‘सहकारीले करिब साढे पाँच अर्ब रुपैयाँको कारोबार गरेका छन्,’ बडाल भन्छन्।
परिवर्तित समय अनुसार बैंकसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले डिजिटल कारोबारलाई प्राथमिकता दिएका हुन्। बचत तथा ऋणको कारोबार गर्ने सहकारी प्रविधि प्रयोग गरेर वित्तीय पारर्शितामा अब्बल बन्न अग्रसर भएको सहकारी विभागले जनाएको छ। वित्तीय कारोबार गर्ने सहकारीको लेखा प्रणालीमा एकरुपता कायम गर्न र कारोबारलाई सुरक्षित, चुस्त र पारदर्शी बनाउन सफ्टवेयर तयार गरेर प्रयोगमा ल्याएका छन्।
सहकारी सदस्यले बैंकमा जस्तै खातामा पैसा जम्मा गरेको र निकालेको सूचना मोबाइलको एसएमएसबाट पाउँछन्। बैंकको विकल्पमा सहकारीले सेवा दिएका छन्। कार्यक्षेत्र, सदस्य, पुँजी, कारोबारमा सहकारीले दायरा फराकिलो बनाएका छन्। सहरदेखि गाउँसम्म उच्च आर्थिक हैसियतदेखि सामान्य नागरिकको पनि सहकारीमा सहभागिता छ। यसले सहकारीको पहुँच सबै क्षेत्रमा पुगेको छ। सेयर लगानी, बचत संकलन र ऋण लिएर व्यवसाय गर्दा मुलुकको अर्थतन्त्रलाई नै चलायमान बनाएको छ। कारोबार हरेक वर्ष वृद्धि हुँदै गएको छ।
सहकारी संस्थाहरु आधुनिक बैंकिङ सेवा दिएर सदस्यलाई सन्तुष्टि प्रदान गरेको राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले बताए। ‘सहकारीमैत्री ऐन, कानुन भएकाले यो क्षेत्र फस्टाएको छ,’ पौडेलले भने, ‘सहकारीले डिजिटल कारोबारलाई प्राथमिकता दिनुपर्छ।’
केही सहकारीले नमुना काम गर्दै गए पनि धेरै सहकारी संस्थाहरुले सुधार गर्दै लैजानुपर्ने उनले बताए। नेपालका सहकारी संस्था दक्षिण एसियामै अब्बल देखिएर ‘एक्सेस’ ब्रान्ड पाएका छन्। एक्सेस एस्यिाली स्तरको गुणस्तर प्रमाणपत्र हो। ८६ वटा सूचकांक पूरा गर्ने सहकारीलाई यो ब्रान्ड दिइन्छ।
यहाँ सञ्चालन भएका सहकारी अब्बल बन्दै सूचक पूरा गरेका हुन्। दक्षिण एसियामा नेपालका सहकारीहरू कुशल व्यवस्थापनसाथ अघि बढेकाले एसियाली स्तरको गुणस्तर प्रमाणपत्र ‘एक्सेस’ ब्रान्ड पाएका हुन्। नेपालका २० वटा सहकारीले एक्सेस ब्रान्ड–२०१८ प्राप्त गरेका थिए। ‘दक्षिण एसियामै वित्तीय सुशासनमा यहाँका सहकारी अब्बल भएकैले ‘एक्सेस’ ब्रान्ड पाएका हुन्,’ नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतले भने, ‘एक्सेस ब्रान्ड पाउने २३ साकोसमध्ये नेपालका २० छन्।’
प्रकाशित: १९ वैशाख २०७६ ०१:०६ बिहीबार