९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

धम्कीपूर्ण फोनका कारण निर्माण व्यवसायी त्रसित

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीमाथि धम्कीपूर्ण फोन आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघले मंगलबार पत्रकार सम्मेलन गरी केही समययता निर्माण व्यवसायीलाई लक्षित गरी निरन्तर धम्कीपूर्ण फोन आइरहेको जानकारी दिएको हो। महासंघका अध्यक्ष रवि सिंहले कमजोर सुरक्षा व्यवस्थाका कारण निर्माण व्यवसायी आफ्नो पेशाबाटै पलायन हुनुपर्ने खतरा बढेको बताए। ‘निर्माण व्यवसायीहरुलाई निरन्तर आइरहेको धम्कीका विषयमा सम्बन्धित निकायलाई समयमै जानकारी गराइँदासमेत कुनै सुनुवाइ भएन,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले भने, ‘लगातारको धाक धम्कीका कारण निर्माण व्यवसायीसँगै उनीहरुका परिवार, कार्यालयका कर्मचारीसमेत ठूलो त्रासमा बाँच्नु परेको छ।’

सुरक्षा चुनौतीकै कारण मुलुकमा काम गर्ने वातावरण बिग्रँदै गएको उनको भनाइ छ। राज्य संयन्त्र कमजोर भएका कारण व्यवसायी ठूलो मारमा परेको उनले बताए। महासंघका पूर्वअध्यक्ष, कार्यसमितिका सल्लाहकार, पदाधिकारीलगायत अन्य निर्माण व्यवसायी सदस्य गरी करिब २५ जनालाई विगत केही समय अघिदेखि मोबाइलमा धम्कीपूर्ण भाषा प्रयोग गरी फोन आउने गरेको अध्यक्ष सिंहले जानकारी दिए। महासंघका वरिष्ठ उपाध्यक्ष निकोलास पाण्डेले धम्कीपूर्ण फोनबाट त्रासको वातावरण सिर्जना भई निर्माण व्यवसायीहरु आफ्नो साइटसमेत सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको बताए।

महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष जयराम लामिछानेले मुलुकमा सरकार छ भन्ने प्रत्याभूति व्यवसायीले गर्न नपाएको गुनासो गरे। ‘निर्माण व्यवसायीको सुरक्षामा नै प्रश्न चिन्ह उठेकाले अब विकासका कार्य ठप्प हुन सक्छ,’ लामिछानेले भने।

महासंघका महासचिव रोशन दाहालले शान्ति सुरक्षाकोे अभावसँगै निर्माण व्यवसायीहरुको ठूलो रकम सरोकारवाला निकायबाट अझै भुक्तानी नहुँदा मुलुकभरका व्यवसायी ठूलो आर्थिक मारमा परेको बताए। भुक्तानीको समस्या सम्बोधन गरिदिन सम्बन्धित सरकारी निकायको पटक–पटक ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाइ नभएको महासंघले जनाएको छ।

उपभोक्ता समितिमार्फत निर्माण कार्य गरिँदा झन् तल्लो तहबाटै मुलुकमा संस्थागत भ्रष्टाचार मौलाइरहेको र गुणस्तरमासमेत प्रभाव पारेको महासंघको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच सार्वजनिक खरिद ऐन नियमावली तथा निर्माण व्यवसाय ऐन नियमावली संशोधनका लागि बुधबार राजधानीमा राष्ट्रिय भेला आयोजना गरिने महासंघले जनाएको छ। भेलामा मुलुकभरका तीन सयभन्दा बढी निर्माण व्यवसायीको सहभागिता रहने महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईले जानकारी दिए।

प्रकाशित: १८ वैशाख २०७६ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App