१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

६ वर्षमा पनि बनेन पुल

निर्माणाधीन सानीभेरी गाउँपालिका–८ सिम्लीबाट गरायला जोड्ने पुल। तस्बिर: लोकेन्द्र/नागरिक

रुकुम - रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–८ सिम्लीबाट सोही गाउँपालिका–३ गरायलाको पेदी जोड्ने पुल निर्माण गर्न सुरु भएको ६ वर्ष पूरा भएको छ। अझैसम्म पनि पुल निर्माणको कुनै छाटकाट छैन।

दुई वर्षभित्र निर्माण गरिसक्ने गरी काम सुरु भएको उक्त पुल कहिले बन्छ भन्ने अझैसम्म पनि कुनै टुंगो छैन। पुल निर्माणको काम तोकिएको समय बितिसक्दा पनि नसकिएकाले समस्या भइरहेको छ। २०७० मा निर्माण सम्झौता भएको उक्त पुल २०७२ सालमा नै निर्माण गरिसक्ने लक्ष्य थियो। लक्ष्यअनुसार काम भएको भए अहिले उक्त पुलमा सवारी साधन गुडिसक्थे।

लामो समयदेखि अलपत्र बनेको पुल निर्माण पछिल्लो समय धमाधम काम भइरहेको छ। बिक्यू बिल्डर्स काठमाडौंले अर्काे कम्पनीलाई जिम्मा दिएर अहिले ट्रस्टको काम गराइरहेको छ। यसअघि नदी वारि र पारि एक–एकवटा पिल्लर मात्रै बनाउन सकेको कम्पनीले अर्काे कम्पनीमार्फत ट्रस्टको काम गराइरहेको छ। पुलमा अबको केही दिनमै ट्रस्टको काम सकिने बताइएको छ। ठेकेदार कम्पनीले तलपट्टिको ट्रस्ट बिछ्याइ सकेर माथिको ट्रस्ट जोड्ने काम गरिरहेको छ। पछिल्लो पटक सुरु गरिएको काम तीव्र रूपमा भइरहेको स्थानीयले जनाएका छन्।

यो पुल बनेपछि यहाँबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्न धेरै सहज हुने छ। नदीमा पुल नहुँदा यहाँबाट सुर्खेत जाँदा गाडी परिवर्तन गरेर जानुपर्ने बाध्यता छ। निर्माण कम्पनीलाई पुल निर्माण छिटो गर्न पटक पटक आग्रह गर्दै आएको भए पनि पुल निर्माण हुन सकेको छैन। सडक डिभिजन कार्यालय चौरजहारीको आर्थिक सहयोगमा निर्माण हुने उक्त पुल बनेपछि यहाँबाट सिधै प्रदेश राजधानी सुर्खेत र नेपालगञ्ज आवत जावतमा सहज हुने छ।

उक्त पुल निर्माणको काम सकिएपछि प्रदेश राजधानी सुर्खेत पुग्न झन्डै एक सय ६८ किलोमिटर  मात्रै रहने छ। यो सहित सानीभेरी नदीमा अन्य दुई पुल नबन्दा अहिले प्रदेश राजधानी सुर्खेत जानका लागि सल्यान, दाङ, कोहोलपुर हुँदै जानुपर्ने बाध्यता रहेको छ। यो सडकबाट यात्रा गर्दा करिब तीन सय ४० किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ।

ट्रस्ट राख्ने काम धमाधम भइरहेको भए पनि पुल गाडी गुड्नका लागि अmभै धेरै काम गर्न बाँकी रहेको छ। नदी वारिपारि निर्मित पिलरमा ट्रस्ट जोड्नेबित्तिकै गाडी गुड्न सक्ने अवस्था भने छैन। पिल्लर बनाइएको ठाउँमा ठूलो भाग खाली भएकाले उक्त खाली ठाउँ नपुरिएसम्म पुल बनिहाले पनि गाडी गुड्ने अवस्था नरहेको सानीभेरी गाउँपालिका–३ का वडाध्यक्ष केदार विष्टले बताए। पुल निर्माणको काम छिटो सम्पन्न गर्नका लागि आफूहरुले पटकपटक ताकेता गर्दा पनि नसकिएको उनले बताए। ठेकेदार कम्पनीले काममा ध्यान नदिएकै कारण दुई वर्षमा बनिसक्ने पुल ६ वर्षसम्म बन्न नसकेको स्थानीयको भनाइ छ।

निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्रमा कार्यालयलाई पुल हस्तान्तरण गर्ने प्रतिबद्धता गरेको सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन प्रमुख नरेन्द्र भट्टले बताए। पुल निर्माणको असजिलो काम सम्पन्न भएको र अब बाँकी काम समयमै सक्ने विश्वास रहेको उनले बताए। ढिला गरेर भए पनि पुल निर्माण हुँदा यहाँका नागरिकलाई सहज हुने उनको भनाइ छ। पुल निर्माणको काम छिटो सक्न आफूले निर्माण कम्पनीलाई निर्देशन दिँदै आएको उनले बताए।

पुल निर्माणका लागि ठाउँ परिवर्तन गर्नुपर्ने भएकाले ढिलाइ भएको ठेकेदारको भनाइ छ। सुरुको प्राविधिक प्रतिवेदनअनुसार पुल निर्माण गर्ने भनिएको ठाउँमा घर रहेको तथा पहिरो जाने खतरा रहेकाले अर्काे डिजाइन स्टिमेट गर्दा काम ढिला सुरु भएको निर्माण कम्पनीको दाबी छ। सडक डिभिजन कार्यालयको सात करोड ८२ लाख रुपैयाँमा ठेक्का पाएको निर्माण कम्पनीले दुई पटक म्याद थप गरिसकेको कार्यालयले जानकारी दिएको छ। ठेकेदार कम्पनीले फेरि म्याद थपका लागि  निवेदनसमेत दिएको बताइएको छ।

प्रकाशित: १३ वैशाख २०७६ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App