९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

चिनीमा साढे ५३ करोड राजस्व गुम्यो

काठमाडौं - विगतमा झैं सरकारी अधिकारीले व्यापारी र स्वार्थ समूहको प्रभावमा परेर मुलुकलाई अर्बौं रुपैयाँ घाटा हुने गरी राजस्व छुट दिएको भेटिएको छ। महालेखा परीक्षकको छपन्नौं प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७४/७५ मा ४१ अर्ब २४ करोड रुपैयाँ राजस्व छुट दिइएको हो।

आर्थिक ऐन, २०७४ को दफा १९ ले विभिन्न मालवस्तु, उद्योगी व्यवसायी, संस्था र आयोजनालाई छुट दिने व्यवस्था गरेको भए पनि कुनै वस्तुमा भने राज्यलाई घाटा हुनेगरी व्यापारीको स्वार्थ पूरा गर्न राजस्व छुट दिइएको छ।

उच्च सरकारी अधिकारीले व्यापारीसँग चिनीको भन्सार महसुल बढाउने भनी गरेको सहमति समयमै कार्यान्वयन नगर्दा चिनी आयातमा मात्र करिब साढे ५३ करोड रुपैयाँ राजस्व गुमेको छ। महालेखाले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार स्वदेशी चिनी उद्योगको संरक्षण गर्न २०७४ पुस ११ गते उद्योगी व्यवसायी र अर्थ मन्त्रालयबीच भन्सार महसुल बढाउने सहमति भएको थियो। त्यसको चार महिनापछि २०७५ वैशाख ४ गते चिनीको भन्सार महसुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पु-याइएको थियो। बीचको चार महिनामा चिनी आयात अत्यधिक वृद्धि भएको थियो। भन्सार वृद्धि हुने सूचना पाएका व्यापारीले धेरै चिनी आयात गरेर रातारात करोडौं रुपैयाँ कमाएका थिए।

भन्सार महसुल बढ्ने थाहा पाएपछि तीन दशमलब तीन प्रतिशत बढी चिनी आयात गरेर बिक्री गरी व्यापारीले फाइदा लिएका छन्। चार महिनाको अवधिमा तीन अर्ब ५८ करोड ८० लाख मूल्यको ७९ हजार ४४ मेट्रिक टन चिनी आयात भएको थियो। महसुल दर ३० प्रतिशतलाई आधार लिँदा ५३ करोड ६६ लाख ९५ हजार रुपैयाँ भन्सार राजस्वमा प्रभाव परेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। नीतिगत सहमति वा निर्णय गरेको विषय तत्काल कार्यान्वयनमा नल्याउँदा यस्तो प्रभाव परेकाले यसतर्फ ध्यान दिन महालेखाले सुझाएको छ।

चिनी अत्यधिक भित्रिएपछि आयातमा नै प्रतिबन्ध लगाइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापारीले आफूलाई झुक्काएर चिनी आयातमा प्रतिबन्ध लगाउने निर्णय गराएको सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन्। मुलुकमा वार्षिक दुई लाख ३० हजार मेट्रिक टन चिनी खपत हुने गरेको छ। उत्पादन भने एक लाख ७५ हजार मेट्रिक टनमात्रै छ।

व्यापारीले महसुल बढ्नुअघि नै प्रशस्त चिनी आयात गरी स्टक राखेर महसुल बढेपछि उच्च दरमा बेचेर मुनाफा कमाएका थिए। उनीहरुले प्रतिकिलो ५२ देखि ५६ रुपैयाँसम्म लागत परेको चिनी ७० देखि एक सय पाँच रुपैयाँसम्ममा बिक्री गरेका थिए।

प्रकाशित: ३० चैत्र २०७५ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App