१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

उच्च वृद्धिदर टिकाउन निर्यात बढाऊ

काठमाडौं– दक्षिण एसियाली क्षेत्रका मुलुकले निर्यात वृद्धिदर अझ माथि पु-याउन नसके उनीहरुले प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य भेट्न नसक्ने विश्व बैंकले जनाएको छ।

दक्षिण एसियाले सन् २०१९ मा सात प्रतिशत तथा २०२० र २०२१ मा ७.१ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेको पृष्ठभूमिमा उच्च मानिएको उक्त वृद्धिदर हासिल गर्न निर्यात बढाउनुपर्ने र उपलब्ध आर्थिक सम्भावनाको पूर्ण रुपमा दोहन गर्नुपर्ने विश्व बैंकले वर्षमा दुईपटक सार्वजनिक गर्ने क्षेत्रीय आर्थिक अपडेटमा उल्लेख छ।

‘साउथ एसिया इकोनोमिक फोकस, एक्स्पोर्टस् वान्टेड’ शीर्षकको उक्त प्रतिवेदनमा यस क्षेत्रको आर्थिक वृद्धिदर अहिलेसम्म घरेलु मागका कारण स्वस्थ्य रहे पनि बढ्दो आयात र पछाडि परेको निर्यातका कारण देखिएको व्यापार असन्तुलन, चालु खाता घाटा र केही मुलुकमा मुद्रा अवमूल्यनले चुनौती खडा गरेको उल्लेख छ।

‘दक्षिण एसियाको निर्यात वृद्धिदर पछिल्लो केही वर्षदेखि सम्भावनाको तुलनामा निकै कम भए पनि अहिलेसम्म यो स्वस्थ नै देखिन्छ, हाम्रो चासो लामो समयसम्म यो कायम रहन्छ कि रहँदैन भन्ने हो,’ विश्व बैंकको दक्षिण एसिया क्षेत्र हेर्ने भाइस प्रेसिडेन्ट हार्टविग साफले भने, ‘आर्थिक प्रगतिलाई लामो समयसम्म सुनिश्चित गर्न यस क्षेत्रले थप रोजगारी सिर्जना, जनतामा समृद्धि र बढ्दो वृद्धिदर लक्ष्य कायम राख्न अन्तर्राष्ट्रिय बजारमा अझ बढी एकाकार हुनुपर्छ।’

दक्षिण एसियाली क्षेत्रमा पछिल्लो दुई वर्षमा निर्यातभन्दा आयात निकै धेरै बढेको छ। जसले गर्दा २००० को दशकको सुरुतिरको निर्यात डाइनामिक्स (गति) उल्टिएको छ। बढ्दो लगानी र उपभोगले बढेको सशक्त घरेलु मागले गर्दा सन् २०१७ मा दक्षिण एसियाको आयात १४.९ प्रतिशतले र २०१८ मा १५.६ प्रतिशतले बढेको उल्लेख गर्दै विश्व बैंकले यसलाई निर्यात वृद्धिदरको तुलनामा दोब्बर भनेको छ। निर्यात वृद्धिदर सन् २०१७ मा ४.६ र २०१८ मा ९.७ प्रतिशत मात्र छ।

‘लामो समयसम्म वृद्धिदर कायम राख्न, बढ्दो वृद्धिदरको लक्ष्य कायम राख्न, थप रोजगारी सिर्जना गर्न र जनतामा समृद्धि बढाउन यो क्षेत्र अन्तर्राष्ट्रिय बजारमा अझ बढी एकाकार हुनुपर्छ,’ दक्षिण एसिया क्षेत्रका लागि विश्व बैंकका प्रमुख अर्थशास्त्री हान्स टिम्मरले भनेका छन्, ‘प्रयासहरुमा व्यापार उदारीकरण, उद्यमशीलताको प्रवद्र्धन, विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति विकास समावेश गर्नुपर्छ।’

सन् २०१८ को तेस्रो र चौथो त्रैमासको आयात वृद्धि उच्च हुँदाहुँदै पनि प्रतिवेदनले पछिल्ला महिनाहरुमा ज्यादै तल्लो स्तरबाट माथि उठेको निर्यात वृद्धिका आधारमा सकारात्मक परिदृश्य प्रस्तुत गरेको छ। निर्यात वृद्धिमा पछिल्लो समय देखिएको सकारात्मकता र आयात वृद्धिमा आएको संकुचन सन् २०१९ र त्यसपछि पनि कामय रहने उसको अनुमान छ। समय क्रममा आयात–निर्यात दुवैको वृद्धिदर वार्षिक औसत ११ प्रतिशत कायम रहने उसको अनुमान छ।

पछिल्लो प्रगतिका बाबजुद दक्षिण एसियाली मुलुकहरुले अझै पनि आफ्नो क्षमताको एक तिहाइ मात्र निर्यात गरिहेको र व्यापार असन्तुलनको खाडल झन् फराकिलो बनेको विश्व बैंकको भनाइ छ।

उच्च आर्थिक वृद्धि गर्नेमा नेपाल तेस्रो
विश्व बैंकले सन् २०२१ सम्म नेपालको आर्थिक वृद्धिदर वार्षिक औसत ६ प्रतिशत माथि हुने प्रक्षेपण गरेको छ। उच्च आर्थिक वृद्धि गर्ने दक्षिण एसियाली मुलुकहरुमध्ये नेपाल तेस्रो स्थानमा रहने विश्व बैंकको प्रक्षेपण छ। प्रतिवेदन अनुसार औसत ७.५ प्रतिशत वृद्धिदरसहित भारत पहिलो र औसत ७.३ प्रतिशत वृद्धिदरसहित बंगलादेश दोस्रो स्थानमा रहनेछन्। नेपालको सन्दर्भमा पर्यटन क्षेत्रको मजबुतीले सेवा क्षेत्र तथा ठूला सिमेन्ट उद्योगले उत्पादन क्षेत्रको वृद्धिमा सहयोग पु¥याउने विश्व बैंकको भनाइ छ।

प्रकाशित: २६ चैत्र २०७५ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App