१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

चार गुणा बढी तलबमा विदेशी पाइलट

काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चारवटा एअरबस (दुई न्यारो बडी र दुई वाइड बडी) जहाजको लागि १६ जना विदेशी प्रशिक्षक पाइलट नियुक्त गर्न लागेको छ। अहिले एअर बस उडाइरहेका नेपाली पाइलटको क्षमता हुँदाहुँदै तिनलाई छाडेर विदेशी रोज्दा निगमलाई मासिक करोडौं व्ययभार थपिन्छ।

निगमले वाइड बडी ‘ए३३०–२००’ को लागि दुईजना टिआरई (टाइप रिलेटेड एक्जामिनर र टिआरआई (टाइप रिलेटेड इन्सट्रक्चर) तीनजना नियुक्त गर्न लागेको छ। टिआरईले प्रशिक्षणपछि परीक्षा समेत सञ्चालन गर्न पाउँछन्। टिआरआईले प्रशिक्षणमात्रै दिन पाउँछ। न्यारो बडी ‘ए३२०–२००’ को लागि पनि तीनजना टिआरई नियुक्त गर्न लागेको हो। न्यारो बडी जहाजको लागि लाइन क्याप्टेनसमेत आठजना नियुक्त गर्ने निगमको योजना छ। लाइन क्याप्टेनको काम प्रशिक्षकलाई सघाउने हो। को–पाइलट पनि लाइन क्याप्टेन बन्न पाउँछन्।

निगम टाट पल्टिन लागेको देखाउने व्यस्थापनले विकल्प भएर पनि महँगो तलब भुक्तानी गर्ने गरी ठूलो संख्यामा विदेशी पाइलट नियुक्त गर्नु रहस्यमय

निगमका अनुसार पाइलट नियुक्ति अन्तिम चरणमा छ। १६ जना माग गरेर निगमले फेब्रुअरी १६ मा विज्ञापन गरेको थियो। ‘त्यसमा २८ जनाको आवेदन परेको छ,’ निगमको मानव संसाधन विभागका एक अधिकारीले भने, ‘परेका आवेदनमध्ये मापदण्ड पूरा गरे, नगरेको अध्ययन गरिरहेका छौं।’ मापदण्ड पूरा गरेका आवेदकमध्येबाट १६ जना नियुक्त गरिनेछ। उनका अनुसार २८ आवेदकमध्ये २७ विदेशी छन्। एकजना नेपालीको आवेदन परे पनि उनी पनि विदेशमै बस्ने हुन सक्ने अनुमान गरिएको छ।

निगमले विदेशीको लागि मात्रै हुने गरी विज्ञापन गरेको थियो। स्रोतका अनुसार निगमसँग भएकै पाइलटबाट प्रशिक्षक बनाउन सकिन्थ्यो। तर, नेपालीलाई प्रशिक्षक नबनाएर महँगो तलबमा विदेशीलाई प्रशिक्षक नियुक्त गर्न लागेको छ। निगममा एअरबस उडाउने पाइलटले मासिक करिब तीन लाख ५० हजार रुपैयाँ तलब बुझ्छन्। तिनलाई प्रशिक्षक बनाउँदा हालको तलबमा १५ हजार मात्रै थपे पुग्छ। तिनलाई प्रशिक्षक नबनाएर निगमले १० देखि १५ हजार डलर मासिक तलब दिने गरी विदेशी पाइलट नियुक्त गर्न लागेको हो। यो नेपाली पाइलटले खाइरहेको मासिक तलबभन्दा करिब चार गुणा बढी हो।

१६ जनालाई सरदर १२ हजार पाँच सय डलरका दरले तलब दिँदा मासिक दुई लाख डलर खर्च हुन्छ। एक डलर बराबर एक सय १० नेपाली रुपैयाँले हिसाब गर्दा २२ करोड रुपैयाँ निगमले विदेशी पाइलटलाई मासिक तलब भुक्तानी गर्नुपर्छ। यसरी नेपाली पाइलटलाई प्रशिक्षक नबनाएर १६ जना विदेशी पाइलट नियुक्त गर्दा निगमलाई करोडौंको आर्थिक भार पर्छ। निगमको मानव संसाधन विभागका अधिकारीकै अनुसार नेपाली पाइलटको तुलनामा विदेशी पाइलटको तलब बढी हुन्छ। तर, सबै पाइलटको तलब एउटै नहुने र वार्ताबाट टुंगो लाग्ने विभागले जनायो।

निगमको अपरेसन म्यानुअलमा व्यवस्था भएअनुसार नेपाली पाइलटलाई प्रशिक्षक बनाउन हजार घन्टा जहाज उडाएको भए पुग्छ। अन्य प्रकारको जहाजमा प्रशिक्षक पाइलट बनिसकेको छ भने उसले तीन सय घन्टामात्रै जहाज उडाएको भए पनि प्रशिक्षक बनाउन सकिन्छ। प्रशिक्षक पाइलट हुनको लागि सिंगापुरमा तीन दिनको तालिम लिए पुग्छ।

निगमसँग यसअघि प्रशिक्षक पाइलट भएर तीन सय घन्टा जहाज उडाइसकेका पाइलट पनि छन्। हजार घन्टा उडाइसकेका पाइलट पनि छन्। तर, वाइड बडी र न्यारो बडी दुवैमा निगमसँग भएका नेपाली पाइलटलाई बेवास्ता गरिएको छ। निगम टाट पल्टिन लागेको देखाउने व्यस्थापनले विकल्प भएर पनि महँगो तलब भुक्तानी गर्ने गरी ठूलो संख्यामा विदेशी पाइलट नियुक्त गर्नु रहस्यमय रहेको रहेको स्रोतको दाबी छ।

‘निगमसँग भएका नेपाली पाइलटलाई प्रशिक्षक बनाउन सकिने अवस्था हुँदाहुँदै महँगो तलब दिने गरी विदेशी नियुक्त गरिँदैछ,’ निगमका एक अधिकारीले भने, ‘यो किन गरिँदैछ, उच्च अधिकारी नै जानुन्।’ ती अधिकारीका अनुसार सुरुमा कुनै एजेन्टमार्फत विदेशी पाइलट नियुक्त गर्न खोजिएको थियो। एजेन्टमार्फत नियुक्त गरेर मोटो रकम कमिसन लिन खोजिए पनि त्यसमा निगम सफल भएन। त्यसपछि व्यक्तिगत आवेदन माग गरेर विदेशी नियुक्त गर्न लागेको हो। विदेशी नियुक्त गर्नुको पछाडि ठूलै चलखेल हुन सक्ने स्रोतको दाबी छ।

प्रशिक्षक पाइलट मात्रै होइन, को–पाइलटलाई समेत लाइन क्याप्टेन बनाउन सकिन्छ। लाइन क्याप्टेन बनाउन सकिने पाइलटको संख्या झण्डै दुई दर्जन छ। तैपनि विदेशी नै लिन खोज्नुले निगमका उच्च अधिकारीहरु कमिसनको पछाडि लागेको स्पष्ट हुने स्रोत बताउँछ।

निगमसँग दुइटा दुई सय ७४ सिटे ‘ए३३०–२००’ वाइड बडी छन्। निगमसँग हाल वाइड बडी उडाउने पाइलट २० जना छन्। तीमध्ये करिब आधा दर्जन नेपाली पाइलट प्रशिक्षक बन्न योग्य छन्। यो जहाजको लागि ६ जना प्रशिक्षक पाइलट आवश्यक पर्छ। हाल दुईजना विदेशी पाइलट यो जहाजमा प्रशिक्षक छन्।
त्यसैगरी, एक सय ५८ सिटे दुई थान ‘ए३२०–२००’ न्यारो बडी जहाज छन्। यी दुवै जहाज सञ्चालनको लागि ३५ पाइलट छन्। भएका पाइलटमध्ये झण्डै दर्जन प्रशिक्षक पाइलट बन्न सक्षम छन्। यसका लागि पनि ६ जना नै प्रशिक्षक पाइलट आवश्यक हुन्छ। यो जहाजमा हाल एकजना नेपाली र एकजना विदेशी गरी दुई प्रशिक्षक पाइलट छन्। ती प्रशिक्षकले झण्डै दुई दर्जन पाइलट उत्पादन गरिसकेका छन्।

तीन वर्षअघि जहाज खरिद गरेपछि आवश्यक पाइलट उत्पादन गर्दा अहिलेकै प्रशिक्षक पाइलटबाट काम चलाइएको थियो। आवश्यक पाइलट उत्पादन भइसकेपछि भने निगमले विदेशीलाई प्रशिक्षकको रुपमा नियुक्त गर्नु गलत रहेको स्रोत दाबी गर्छ। स्रोतका अनुसार भएका नेपालीलाई प्रशिक्षण नदिएर विदेशी नियुक्त गर्दा एकातिर कार्यरत नेपाली पाइलट निराश भएका छन् भने अर्कोतिर मासिक निगमको करोडौं रुपैयाँ विदेश जाँदैछ। तर, निगमका सहप्रवक्ता नवराज कोइराला विदेशी प्रशिक्षक पाइलट आवश्यकता अनुसार नै लिन लागेको बताउँछन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘वायुसेवा सञ्चालनसम्बन्धी नीतिगत व्यवस्था २०७५’ ले समेत वायुसेवा कम्पनी आफैंले आवश्यक पाइलट उत्पादन गर्ने तथा नेपाली पाइलटलाई प्राथमिकता राख्नुपर्ने उल्लेख गरेको छ।
 

प्रकाशित: १२ चैत्र २०७५ ०६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App