२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

दुई गाउँपालिका जोड्ने पुल निर्माण

रसुवा – रसुवाको कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकामा आवतजावत सहज बनाउनका लागि धोबिखोलामा पुल निर्माण सुरु गरिएको छ। कालिका गाउँपालिका स्थित धोबीखोलामा पुल नहुँदा वर्षाको समयमा हिँडडुल गर्नसमेत समस्या हुँदै आएको थियो। जिल्ला समन्वय समिति र कालिका गाउँपालिकाको संयुक्त प्रयासमा झोलुंगेको निर्माण गर्न थालिएको हो। वर्षायाममा सर्वसाधारणले पैदल यात्रा गर्न कठिन हुँदै आएकोमा यो झोलुंगे पुल निर्माण पश्चात समस्याको समाधान हुने गाउँपालिकाले जनाएको छ।

धोबीखोलामा ठूलो पहिरो गएका कारण लामो समयदेखि स्थानीयले जोखिम मोलेर यात्रा गरिरहेका छन्। उक्त पुल निर्माणको लागि झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम तथा कालिका गाउँपालिकाको ४७ लाख ७४ हजार आठ सय ७५ लागतमा पुल निर्माण भइरहेको गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद न्यौपानेले बताए। पुल निर्माणको आवश्यक सामग्री जिससले उपलब्ध गराएको छ। आवश्यक सामाजिक तथा प्राविधिक सहयोग स्थानीय गैरसरकारी संस्था दिगो उद्यम तथा वातावरण विकास समाज (सिड्स) रसुवाले गरेको छ। 
उक्त पुल आगामी असार अगाडि नै सक्ने लक्ष्य रहेको सिड्स रसुवाका प्राविधिक सन्त बहादुर गुरुङले बताए।

 

प्रकाशित: ११ चैत्र २०७५ ०८:१० सोमबार

कालिका_गाउँपालिका धोबिखोलामा_पुल नौकुण्ड_गाउँपालिका