१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

आत्मविश्वास नबढ्दा खुम्चियो पुँजी बजार

काठमाडौं - हालै मात्र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले ‘जलविद्युत्मा जनताको लगानी’ कार्यक्रमअन्तर्गत पहिलो आयोजनाका रूपमा रहेको ‘त्रिशूली ३ बी’मा प्राथमिक सेयरमा लगानी गर्न डिम्याट खाता खोलेको समाचार आएको छ। प्रधानमन्त्रीको यो कदम सेयर बजारका लागि एक महत्वपूर्ण प्रेरणा हो। किनभने मुलुकको अर्थतन्त्रको आकार बढ्दै गए पनि पुँजीबजारको आकार भने घट्दै गएको छ।

आर्थिक वर्ष २०७२/०७३ मा करिब २० खर्बको आकारमा रहेको पुँजीबरजार अहिले खुम्चिएर १४ खर्बको हाराहारीमा आइपुगेको छ। यस क्रममा तामाकोसीलगायत ठूला कम्पनी तथा अधिकांश बैंक तथा वित्तीय संस्थाका हकप्रद सेयर नेप्सेमा सूचीकृत भएका छन्। जबकि तीन वर्षपहिले धेरैवटा वाणिज्य बैंकको चुक्ता पुँजी दुई अर्बको थियो भने अहिले एक–दुईबाहेक सकैको आठ अर्ब चुक्ता पुँजी पुगिसकेको छ। यस हिसाबले तीन वर्ष पहिलाको पुँजीकरणमा झण्डै तीन गुणाको वृद्धि पनि स्वभाविक मानिथ्यो। तर, झण्डै ६ खर्बभन्दा बढीले पुँजीकरणमा कमी आएको छ।

अहिले नेपाली पुँजीबजार आधुनिकीकरणतर्फ अघि बढेको छ। तीन वर्षपहिला आस्बा प्रणाली, सेयर अभौतिकीकरण लगायत कुरा गफ जस्तै लाग्ने गरेकोमा अहिले अनलाइन ट्रेडिङको समेत अभ्यास हुन थालेको छ। यद्यपि अनलाइनको सफ्टवेयरमा आएका विभिन्न समस्या तथा लगानीकर्ताले सहज रुपमा युजर नेम, पासवर्ड पाउन नसकेका गुनासा भने कायमै छन्। सेयर बजार नीतिगत तथा प्रविधिको हिसाबले आधुनिकीकरणतर्फ जाँदा पनि नयाँ लगानीकर्ता भने विगत तीन वर्षको अवधिमा खासै थप हुन सकेका छैनन्। यसो हुनुको कारण लगानीकर्ताको मनोबल उच्च हुन नसक्नु नै हो। सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दीलगायत विभिन्न आर्थिक संकट झेल्दा पनि लगानीकर्ता राजनीतिक स्थिरता आउने र आर्थिक विकास हुने अपेक्षामा लगानीकर्ता रहेकै कारण नेप्सेले १८८२ अंकको उचाइ पाएको थियो। तर अहिले राजनीतिक स्थिरता, दुई तिहाइको बलियो सरकार र आर्थिक वृद्धिदर सात प्रतिशत रहने (दुई वर्ष निरन्तर ६ प्रतिशतभन्दा माथि रहिसकेको र यस वर्ष पनि सात प्रतिशत रहने) प्रक्षेपणबीच पनि लगानीकर्ता ढुक्क छैनन्।

सेयर बजार तल झर्नुमा बैंकको ब्याज वा तरलताभन्दा पनि जनताको मनस्थिति पहिलो कुरा हो। त्यसकारण बजार सुधारक  धेरै काम भइसकेको अवस्थामा मनोबल बढाउन पनि केही कदा चाल्नु उचित हुन्छ।

कम्युनिस्ट र पुँजीबजार आफैंमा मेल खाने विषय नभए पनि विश्व आर्थिक क्षेत्रमा नेतृत्व गरिहेको चीनमा पुँजीबजारबारे सरकारले निकै सकारात्मक काम गरेको पाइन्छ। बजार तल झर्ने अवस्थामा सरकारले रेस्पोन्स मात्रै होइन ‘रेस्क्यु’ गर्ने गरेको पाइन्छ। तर, उदार अर्थतन्त्र अंगालेको वर्तमान सरकारले पुँजी बजार विकासका लागि खासै महत्व दिएको छैन। सरकारका अर्थमन्त्री अहिले आएर सेयर बजारप्रति केही सकारात्मक भएको पाइएको छ।

उनका पछिल्ला अभिव्यक्तिले त्यसको पुष्टि गर्छ। तर आफ्नो नियुक्तिसँगै उनले सेयर बजारका समस्या सुनाउँन जाँदा ‘लगानी गर्दा अर्थमन्त्रीलाई सोधेर लगानी गरेको हो र बजार घट्दा अर्थमन्त्रीलाई गुनासो गर्ने ?’ भन्नेसम्मको जवाफ दिएका थिए। उनले पुँजीबजारको महtवबारे सकारात्मक अभिव्यक्ति सार्वजनिक कार्यक्रममा दिँदासम्म सेयर बजारका लागनीकर्ताको मनोबल निकै खस्किसकेको अवस्थामा छ। जसरी उखु वा धान किसानले आफ्नो उत्पादनको उचित मूल्यको व्यवस्थाका लागि सरकारसँग माग राख्न सक्छ, सेयरमा लगानीकर्ताले पनि आफ्नो लगानी डुब्न लाग्यो भने सरकारलाई नै गुनासो गर्ने हो। किनकि पुँजी बजारलाई सरकारले मान्यता दिएका कारण नै लगानीकर्ताले यसमा लगानी गर्ने हुन्। त्यसकारण अर्थमन्त्री तालुकदार निकाय भएकाले लगानीकर्ताप्रति उसको दायित्व हुन्छ।

चैत तेस्रो साता काठमाडौंमा लगानी सम्मेलन हुँदैछ। सम्मेलनमा आउनेहरूले पनि नेपालको पुँजीबजारको इन्डेक्सको मूल्यांकन गर्ने नै छन्। छिमेकी देशको पुँजीबजार परिसूचक र नेपाली बजारको परिसूचक तुलना गर्दा हामी कुन अवस्थामा छौं भन्ने सरकारले बैलैमा मूल्यांकन गर्न सक्नुपर्छ। बजारले आफ्नो बाटो आफैं तय गर्ने भए पनि जिम्मेवार निकायमा बस्नेहरूले लगानीकर्ताको मनोबल उच्च राख्न प्रयास गर्नैपर्छ। सेयर बजार तल झर्नुमा बैंकको ब्याज वा तरलताभन्दा पनि जनताको मनस्थिति पहिलो कुरा हो। त्यसकारण बजार सुधारक  धेरै काम भइसकेको अवस्थामा मनोबल बढाउन पनि केही कदा चाल्नु उचित हुन्छ।

प्रकाशित: ७ चैत्र २०७५ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App