१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

‘प्रधानमन्त्रीको सम्बोधनमा भनेजस्तो छैन अर्थतन्त्र’

काठमाडौं - सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गरे। सम्बोधनले एक वर्षमा भएका प्रगतिलाई दस्तावेजीकरण मात्र गरेको छैन, घुमाउरो तरिकाले सरकारको बचाउसमेत समेत गरेको छ।

पूर्वअर्थमन्त्री डा. रामशरण महतले गफ दिएजस्तो अहिलेको अर्थतन्त्र नभएको बताए। भने, ‘अर्थतन्त्र लिकबाहिर जान लागेको छ। अर्थतन्त्रका सबै सूचक नकारात्मक छन्। अर्थतन्त्रलाई सही बाटोमा ल्याउने काम सरकारले गरेकै छैन।’ प्रधानमन्त्री ओलीको सम्बोधनमा भने अर्थतन्त्र सकारात्मक दिशामा अघि बढेको बताएका छन्। उनले भनेका छन्, ‘आर्थिक वृद्धिदर सोचेकै हाराहारीमा हुन्छ। मेरो भनाइलाई अंकमा नभएर भावमा सुन्न रुचाउनेहरूले प्रधानमन्त्रीले तथ्यांक बोल्ने भन्दै प्रश्न गर्नुभयो।’

‘जसलाई सरकारले गरेका प्रगतिले पोल्यो। उनीहरूले तथ्यांकलाई मिथ्यांकको रुपमा देखे’, प्रधानमन्त्री ओलीले भने, ’नेपाल भन्ने एउटा यस्तो मुलुक छ, जहाँका जनताको नियति भनेकै बिग्रेको, भत्केको, उजाडिएको सुन्नु हो। यस मुलुकमा पनि प्रगतिको अंक बोल्ने?’

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आर्थिक क्षेत्रका धेरै सूचक नकारात्मक अवस्थामा छन्। सात महिनामा पुँजीगत खर्च २२ प्रतिशत मात्र छ। समयमा पुँजीगत खर्च नभएका कारण बजारमा तरलता अभाव बढ्दै गएको छ। योजना आयोगका पूर्वअध्यक्ष अर्थतन्त्र मिश्रित भएको बताए। उनले भने, ‘सबै नराम्रा छैनन्। मूल्यवृद्धि विगतको तुलनामा कम छ। राजस्व बढेको छ। खर्च बढेको छैन। पर्यटक बढेका छन्।’

सूचाकांकको क्षेत्रमा सरकार असफल भएको बताइए पनि बैंकमा दुईवटा खाता खोलेर कारोबार गर्दै आएका व्यवसायी यो अवधिमा एउटै खातामा आएका छन्। यसअघि उनीहरुले कारोबार गर्न एउटा र राजस्व तिर्न अर्को खाताको प्रयोग गर्दै आएका थिए। पूर्वउपाध्यक्ष क्षत्रीले भने, ‘यो भोलिका लागि राम्रो संकेत हो।’

चालु आवको पहिलो ६ महिनामा सरकारले देखाउन मिल्ने केही सुधारका कार्यक्रम आर्थिक क्षेत्रकै छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले सुरु गरेको भन्सार शुद्धीकरण अभियानका कारण अहिले न्यून बिजकीकरणको अवस्थामा सुधार आएको छ। एउटा सामान भनेर अर्को सामान भन्सार पास गराउने प्रचलनमा कमी आएको छ। राजस्व ४५ प्रतिशत हाराहारीमा वृद्धि हुँदा सरकारी खर्च भने नभएर सभा दुई खर्ब रुपैयाँ राज्यको ढुकुटीमा थन्किएको छ। यो पैसा समयमा खर्च नहुने भने किन राजस्व तिर्ने भन्ने प्रश्नको सामना समेत सरकारले नगर्नुपर्ला भन्ने अवस्था छैन। वैदेशिक र आन्तरिक लगानी दुवै घटेको छ। निजी क्षेत्रका व्यवसायीहरुले खुलेर बोल्न नसके पनि लगानीको वातावरण नभएको बताउन थालेका छन्।  

 

प्रकाशित: २ फाल्गुन २०७५ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App