१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भारतीय नागरिक सहनीविरुद्ध ३६ करोडको मुद्दा

काठमाडौं – राजस्व अनुसन्धान विभागले आदित्य ट्रेड सप्लायर्सका प्रोप्राइटर भारतीय नागरिक अमितकुमार सहनीविरुद्ध १६ करोड ९८ लाख रुपैयाँ राजस्व चुहावट गरेको आरोपसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागले सहनीविरुद्ध ३६ करोड रुपैयाँ जरिवाना र कैद सजाय माग गर्दै बुधबार मुद्दा दर्ता गरेको हो।

सहनीले फर्म दर्ता गर्नुअगाडिदेखि नै भैरहवा नाका आसपासबाट चोरी–पैठारी गर्ने र नक्कली बिल–बिजक जारी गरी भन्सार महसुल, मूल्य अभिवृद्धिकर र आयकरसमेत चुहाएको विभागको दाबी छ। उनले अवैध आर्थिक क्रियाकलापबाट गरेको आर्जनलाई नेपालस्थित विभिन्न बैंकमा आफू र अन्य व्यक्तिको नाममा समेत खाता खोलेर राख्ने गरेको विभागले जनाएको छ। ‘त्यसरी जम्मा भएको रकम नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको सीमा सुविधाको दुरुपयोग गरी एटिएम लगायत माध्यमबाट भारतका विभिन्न सहरबाट झिकेर भारतबाट चोरी–पैठारी गरेको मालवस्तुको भुक्तानी गर्ने लगायत कार्यबाट विदेशी विनिमय अपचलनसमेतको कसूर गरेको स्थापित भएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा छ।

सहनीबाट आव ०६७/६८ देखि ०७५/७६ सम्म भन्सार महसुलतर्फ नौ करोड ६१ लाख, मूल्य अभिवृद्धिकर तीन करोड १३ लाख र आयकर दुई करोड २० लाख रुपेैयाँ गरी १४ करोड ९५ लाख रुपैयाँ बराबर राजस्व चुहावट भएको विभागले जनाएको छ। विभागले उनीमाथि २९ करोड ९० लाख ३१ हजार रुपैयाँ जरिवाना तथा कैद सजाय माग गरेको छ।

त्यस्तै, सहनीले दुई करोड तीन लाख ६७ हजार रुपैयाँ विदेशी विनिमय अपचलन गरेको विभागले दाबी गरेको छ। विभागले सहनीबाट उक्त रकम असुल गरी विदेशी विनिमय (नियमित गर्ने) ऐनबमोजिम ६ करोड ११ लाख रुपैयाँ जरिवानासहित कैद सजाय माग गरेको छ।

प्रकाशित: २ फाल्गुन २०७५ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App