८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

रसुवागढी नाकामा २२ दिन कारोबार नहुने

फाइल तस्बिर

रसुवा– रसुवागढी नाकामा २२ दिन व्यापारिक कारोबार नहुने भएको छ। चिनियाँ भन्सार कार्यालयले बुधबारदेखि गाडीमा शिल नलगाउने भएपछि कारोबार नहुने भएको हो। 

ल्होसारको कारण मंगलबारदेखि २२ दिनसम्म कारोबार नहुने रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा रहेका कर्मचारी घर गएसँगै कारोबार रोकिएको त्यहाँ रहेका व्यावसायी पुरुषोत्तम पौडेलले बताए।

‘बुधबारदेखि कारोबार हुँदैन’, उनले भने, ‘ट्रान्सर्पोट तथा भन्सारका कर्मचारी विदा मनाउन घर गएका छन्।’ कारोबार नहुने भएपछि नेपाली व्यापारी तथा व्यावसायी नेपाल फर्कन थालेका छन्। 

‘जनवरी २९ देखि फेब्रुअरी २० सम्म शिल लगाउने कार्य रोकिन्छ’, उनले भने, त्यहाँ मनाइने ल्होसारको कारण यो अवधिमा काम हुँदैन।’ चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै सञ्चालनमा रहेकाले यो नाकामा व्यापारिक कारोबार बढेको छ। 

रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ। चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामग्रीहरू आयात हुने गरेको छ। 

नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, ऊनीका गलैंचा, कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिम लगायतका मुख्य वस्तुहरू निकासी भइरहेको छ। 

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। 

रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: १५ माघ २०७५ १५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App