५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

तामाकोसीको म्याद २ महिना थप

काठमाडौं – स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको अवधि पछाडि धकेलिँदै गएको छ। पछिल्लोपटक आयोजना निर्माणको अवधि थपेर २०७६ को कात्तिकमा पुर्याइएको छ।

यसअघि तामाकोसी आयोजनाबाट २०७६ भदौ १४ भित्र बिजुली उत्पादन गर्ने भनिएको थियो। अहिले त्यसलाई परिवर्तन गरी कात्तिकसम्ममा बिजुली उत्पादन गर्ने भनिएको छ। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले आगामी कात्तिक भित्रमा व्यावसायिक रुपमा बिजुली उत्पादन गर्ने गरी काम भइरहेको बताए। ‘२०७६ कात्तिकसम्ममा व्यावसायिक उत्पादन गर्न सकिने आधार तयार भएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन, ‘पछिल्लो दुई महिनाको अथक प्रयासपछि यो अन्योलबाट आयोजनालाई रेस्क्यु गर्न सकिएकोमा आबद्ध सम्पूर्ण सहयोगीहरुप्रति म आभारी छु।’

सुरुमा उक्त आयोजना निर्माणको काम २०७२ को चैतमा सम्पन्न गर्ने भनिएको थियो। २०७२ को वैशाखमा गएको भूकम्पको कारण देखाउँदै त्यो म्याद बढाएर २०७३ को पुस पुर्याइयो। उक्त अवधिमा पनि आयोजनाको निर्माण सम्पन्न नभएपछि पुनः म्याद थपेर २०७५ को असारसम्म पहिलो युनिटबाट बिजुली उत्पादन गर्ने र सोही वर्षको मंसिरमा सबै युनिटबाट बिजुली उत्पादन गर्ने भनियो। त्यो मितिमा पनि आयोजनाबाट बिजुली उत्पादन हुन सकेन। त्यसपछि २०७६ को भदौ १४ गतेभित्र बिजुली उत्पादन गर्ने भनिएको थियो। अहिले उक्त मितिलाई पनि परिवर्तन गरी कात्तिकसम्ममा बिजुली उत्पादन गर्ने भनिएको छ। त्यो मितिमा पनि आयोजनाबाट बिजुली उत्पादन हुनेमा अझै आशंका छ।

समय थपसँगै आयोजनाको लागत पनि बढ्दै गएको छ। आयोजनाको लागत काम थाल्दाको अनुमानभन्दा दोब्बर हुने भएको छ। सुरुमा ३५ अर्ब २९ करोड लागतमा सम्पन्न हुने तयारी गरिएको आयोजनाको लागत बढेर करिब ७० अर्ब पुग्ने अनुमान गरिएको छ। २०६७ सालदेखि दोलखाको बिगु गाउँपालिका–१ स्थित लामाबगरमा निर्माण सुरु भएको उक्त आयोजना भूकम्प, नाकाबन्दीलगायत विभिन्न अवरोधले लम्बिँदै गएको छ।

निर्माणमा ढिलाइ हुँदा आयोजनाले मासिक करिब डेढ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। आयोजनाका एक अधिकारीका अनुसार ढिलाइका कारण आयोजनाले दैनिक पाँच करोड रुपैयाँ नोक्सानी बेहोरिरहेको छ। लक्ष्यभन्दा तीन–चार वर्ष पछाडि धकेलिएको आयोजनाले ढिलाइकै कारण यति ठूलो रकम नोक्सानी बेहोरिरहेको हो। आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर मोडालिटीबाट चलेको छ। ‘अहिलेको स्थितिमा ऋणको ब्याज दैनिक १.५ करोड रुपैयाँ पर्छ,’ आयोजनाका एक अधिकारीले भने, ‘आयोजना सम्पन्न भएको भए बिजुली बालेर दैनिक रुपमा साढे दुई करोड रुपैयाँ कमाउँथ्यो। निर्माणमा ढिलाइ हुँदा दैनिक करिब पाँच करोड रुपैयाँ नोक्सानी बेहोरिरहेको छ।’

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको आयोजनामा नेपाल सरकारसहित कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नागरिक लगानी कोषलगायत देशका ठूला संस्थाको ऋण लगानी छ। यस्तै ती संस्थामा कार्यरत कर्मचारी रकम जम्मा गर्ने सञ्चयकर्ता र देशभरका सर्वसाधारण र प्रभावित जिल्लावासीले लगानी गर्न पाउने सेयरका कारण आयोजनामा प्रायः नेपाली परिवारको प्रत्यक्ष–अप्रत्यक्ष लगानी छ। आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले दुई अर्ब, राष्ट्रिय बिमा संस्थानले दुई अर्ब र नेपाल सरकारले ११ अर्ब लगानी गरेका छन्।   

२०६७ भदौमा निर्माण थालिएको आयोजनाबाट २०७२ चैतभित्र बिजुली बाल्ने लक्ष्य राखिएको थियो। तर, भूकम्प र भारतीय नाकाबन्दीका कारण आयोजना थप पछाडि धकेलिएको थियो। नाकाबन्दी र भूकम्पले प्रत्यक्ष रुपमा एक वर्ष र अप्रत्यक्ष रुपमा दुई वर्षसम्म प्रभाव पारेको आयोजनाको भनाइ छ। भूकम्पमा भत्किएको आयोजनाको प्रवेशमार्ग खोल्न २० महिना लाग्यो। यस्तै आयोजनाको सुरुङ डिजाइन परिवर्तन ढिलाइको मुख्य कारक हो। निर्माणको सुरुवाति चरणमा विस्फोटक पदार्थका लागि चाहिने स्वीकृति प्रक्रियामा सरकारी तवरबाटै आठ महिना लगाइएका कारणसमेत निर्माण अवधि बढ्न पुगेको अधिकारीहरुको भनाइ छ।

चारवटा प्याकेजमा निर्माण भइरहेको आयोजनाको दोस्रो प्याकेज हाइड्रोमेकानिकल कामको जिम्मेवारी पाएको भारतीय कम्पनी टेक्स्म्याको रेलवे इन्जिनियरिङले काममा ढिलासुस्ती गरेका कारण पछि धकेलिन पुगेको आयोजनाका वरिष्ठ अधिकारीहरुले बताएका छन्। आयोजनाका एक अधिकारीले भारतीय कम्पनीले पेनस्टक पाइपको जडानको काममा ढिलाइ गरेका कारण समस्या भए पनि आगामी कात्तिक महिनाभित्र बिजुली बाल्न समस्या भने नहुने बताए।

आयोजनाका अनुसार हालसम्म ९७ प्रतिशत काम पूरा भइसकेको छ। भूमिगत विद्युत्गृहभित्र भारतीय ठेकेदारले पाइप जडान गर्ने केही कामबाहेक अधिकांश काम अन्तिम चरणमा पुगेका छन्। आगामी कात्तिकभित्र ६ वटै टर्बाइन घुमाएर चार सय ५६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य आयोजनाको छ। 

प्रकाशित: १० माघ २०७५ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App