१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

फ्रिक्वेन्सी बढाबढ फेरि खुल्दै

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी बढाबढ प्रक्रियालाई पुनः अघि बढाउने भएको छ। फ्रिक्वेन्सी बढाबढ रोक्ने अन्तरिम आदेशलाई सर्वोच्च अदालतले खारेज गरेसँगै प्राधिकरणले केही दिनभित्र पुनः यो प्रक्रिया अगाडि बढाउन लागेको हो। केही दिनभित्रै ९००, १८०० र २१०० मेगाहर्ज ब्यान्ड अन्तर्गत खाली रहेका फ्रिक्वेन्सी बढाबढको लागि सूचना जारी गर्ने तयारी भइरहेको प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले बताए। सूचना प्रकाशित गर्ने विषयमा कानुनी परामर्श भइरहेको उनले जानकारी गराए।

‘पहिले कै सूचनालाई यथावत प्रकाशित गर्न मिल्छ कि अर्को सूचना ल्याउनुपर्छ भन्ने विषयमा कानुनी परामर्श भइरहेको छ,’ खनालले भने, ‘यसबारेमा निक्र्यौल भइसकेपछि एक–दुई दिनभित्रै बढाबढको सूचना जारी गर्छौं।’ सिजी टेलिकमले तत्कालीन मन्त्रिपरिषद्को निर्णय अनुसार आफूहरुले फ्रिक्वेन्सी पाउनुपर्ने दाबी गर्दै फ्रिक्वेन्सी बढाबढ प्रक्रिया स्थगित गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा गएको थियो। उसको मागअनुसार फ्रिक्वेन्सी बढाबढको प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको थियो। प्राधिकरणका अनुसार सिजी टेलिकमले आधारभूत टेलिफोन सेवाको अनुमति नलिएकाले फ्रिक्वेन्सी बढाबढ प्रक्रियामा भाग लिनबाट वञ्चित हुनेछ।

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै प्राधिकरणले फ्रिक्वेन्सी बढाबढको प्रक्रिया स्थगित गरेको थियो। प्राधिकरणले उक्त स्थगित प्रक्रियालाई पुनः अगाडि बढाउन लागेको हो।  अहिलेसम्म दूरसञ्चार सेवा प्रदायकले प्राधिकरणले तोकेको मूल्यमा फ्रिक्वेन्सी पाउँदै आएका थिए। अब भने सेवा प्रदायकले प्रतिस्पर्धाका आधारमा फ्रिक्वेन्सी लिनु पर्नेछ।

पुनः फ्रिक्वेन्सी बढाबढ खोल्न कानुनी परामर्श गर्दैै प्राधिकरण

प्राधिकरणको यस नियमसँगै अब सरकारले फ्रिक्वेन्सीबाट अझ धेरै राजस्व संकलन गर्ने अनुमान छ। यसअघि प्राधिकरणले फ्रक्वेन्सीको मूल्यलाई बोलकबोल नगरेको भन्दै आलोचना हुँदै आएको थियो। संसद्का विभिन्न समितिले समेत बोलकबोलका आधारमा फ्रिन्वेन्सी वितरण गर्न निर्देशन समेत दिएका थिए। प्राधिकरणले पहिलोपटक फ्रिक्वेन्सी वितरणको लागि अक्सनमा जान न्यूनतम मूल्य तोक्दै सूचना जारी गरेको थियो।

यसअघिको नियमअनुसार अक्सनमा भाग लिन प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा वा मोबाइल सेवामध्ये कुनै एकको लाइसेन्स लिनु पर्नेछ। यसका आधारमा मुलुकमा सञ्चालनमा रहेका कम्तीमा आधारभूत टेलिफोन सेवा वा जिएसएम मोबाइल सेवा सञ्चालनको अनुमति पाएका दूरसञ्चार सेवा प्रदायकले बढाबढमा भाग लिन पाउने छन्। साथै, प्राधिकरणलाई बुझाउनुपर्ने सबै किसिमको रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष र फ्रिक्वेन्सी शुल्क तिरेको हुनुपर्नेछ। साथै, पुरानो सूचना अनुसार कुनै पनि सेवा प्रदायकले तोकिएको नीति अनुसार कुनै पनि ब्यान्डको फ्रिक्वेन्सीको सीमा पूरा गरेको छ भने उसले थप फ्रिक्वेन्सीको लागि अक्सनमा भाग लिन पाउने छैन।

प्राधिकरले ९००, १८०० र २१०० ब्यान्डमा हाल खाली रहेका फ्रिक्वेन्सीको लागि आवेदन खुला गरेको थियो। प्राधिकरणका अनुसार ९०० ब्यान्डमा ३५ मेगाहर्ज फ्रिक्वेन्सीमध्ये ३ मेगाहर्ज फ्रिक्वेन्समात्र अक्सनको लागि खाली गरिएको छ। यस ब्यान्डमा कुनै पनि दूरसञ्चार सेवा प्रदायकले अधिकतम ९.६ मेगाहर्ज मात्र प्रयोग गर्न पाउनेछन्। यस ब्यान्डमा प्रतिमेगाहर्जको न्यूनतम मूल्य चार करोड ८० लाख रुपैयाँ तोकिएको थियो। त्यसैगरी, १८०० ब्यान्डमा अधिकतम २० मेगाहर्जसम्म सेवा प्रदायकलाई वितरण गर्न सकिने छ। यस ब्यान्डमा १६ मेगाहर्जका लागि मात्र अक्सन खुला गरिएको थियो। यसको लागि प्रतिमेगाहर्जको न्यूनतम मूल्य तीन करोड ६० लाख रुपैयाँ तोकिएको थियो।

त्यसैगरी, २१०० मेगाहर्ज ब्यान्डमा रहेको ६० मध्ये ४० मेगाहर्ज फ्रिक्वेन्सीको लागि अक्सन खुला गरिएको थियो। यस ब्यान्डमा कम्तीमा १० मेगाहर्ज र अधिकतम १५ मेगाहर्ज मात्र पाउने प्राधिकरणले जनाएको छ। यस ब्यान्डअन्तर्गत प्रति ५ मेगाहर्ज फ्रिक्वेन्सीको न्यूनतम मूल्य १२ करोड रुपैयाँ तोकिएको थियो।

प्रकाशित: ८ माघ २०७५ ०५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App